तपाईंलाई हृदयघात हुने सम्भावना कति ?



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

हृदयघात अर्थात् हार्ट अट्याक खतरनाक रोग हो । यो विश्वकै हत्यारा नम्बर एक हो । विश्वमा बर्सेनि डेढ करोडभन्दा बढी मानिस हृदयघातबाट मर्ने गर्दछन् । नेपालमा बर्सेनि अनुमानित ३० हजारजनाको मृत्यु हृदयघातबाट हुन्छ । हृदयघात भएकामध्ये कतिपयलाई अस्पताल पुर्‍याउनै भ्याइँदैन । अस्पताल पुर्‍याइएकामध्ये पनि एक तिहाइको एक महिनाभित्र मृत्यु हुन्छ । हृदयघात भएपछि बाँच्नेभन्दा मर्ने सम्भावना बढी हुन्छ । यसकारण हृदयघातका जोखिमहरु र यसका प्रारम्भिक लक्षणहरुबारे थाहा पाइराख्नु उचित हुन्छ ।

के कुनै व्यक्तिले उसलाई हृदयघात हुन्छ वा हुँदैन, यदि हुन्छ भने कहिलेसम्म हुन्छ भन्ने थाहा पाउन सक्छ ? के विज्ञानले हृदयघातको सम्भावना र समय अनुमान गर्ने विधि पत्ता लगाएको छ ? के कुनै मानिसले आफ्नो शारीरिक विवरणको अध्ययन गरेर हृदयघात हुने सम्भावनाबारे थाहा पाउन सक्छ ? यदि यो जानकारी पाउन सकिने भए पहिलेदेखि नै सावधान रहेर हृदयघातबाट बच्न वा यसका कारण हुने मृत्युबाट जोगिन सकिन्थ्यो । यसै विषयमा चर्चा गर्न चाहन्छु । हृदयघात अकस्मात् हुने रोग होइन । स्वस्थजस्तो देखिने मानिस एकाएक हृदयघात भएर ढलेको देख्दा जो–कोहीलाई हृदयघात अकस्मात् हुन्छ भन्ने लाग्न सक्छ । अनि यसबाट हुने मृत्यु पनि आकस्मिक हुन्छ । धेरैजसो व्यक्तिहरु बिहानीपख हृदयघातका कारण ओछ्यानमा सुतेको सुत्यै मरेको फेला पर्दछन् ।

हृदयघातका कारण धेरै मानिसको मृत्यु भैराखेको आजको दिनमा हृदयघात हुने सम्भावना पत्ता लगाउने तरिका सबैले सिकिराख्दा धेरै फाइदा हुन्छ भोलि हुन सक्ने हृदयघात मृत्युबारे आज थाहा पाउन सक्नु विज्ञानको ठूलो उपलब्धि हो

वास्तवमा हृदयघात केही पनि नभएको स्वस्थ मानिसलाई एकाएक हुने होइन । हृदयघात र आकस्मिक मृत्युसम्म आइपुग्न रोगको बलियो जग मान्छेको शरीरभित्र तयार भैसकेको हुन्छ । विज्ञानले हृदयघातको जग तयार भएको वा नभएको बारे अध्ययन–अनुसन्धान गरेको छ । विभिन्न जोखिम तत्वहरुको हिसाब गरेर हृदयघात हुने सम्भावना कति छ भन्नेबारे पत्ता लगाउन सकिन्छ । प्रत्येक व्यक्तिले आफूलाई हृदयघात हुने सम्भावना कति छ भनी हिसाब गरेर निकाल्न सक्छन् । हृदयघातका कारण धेरै मानिसको मृत्यु भैराखेको आजको दिनमा हृदयघात हुने सम्भावना पत्ता लगाउने तरिका सबैले सिकिराख्दा धेरै फाइदा हुन्छ । भोलि हुन सक्ने हृदयघात र मृत्युबारे आज थाहा पाउन सक्नु विज्ञानको ठूलो उपलब्धि हो ।

हृदयघात जीवनशैलीसँग सम्बन्धित रोग हो । यसको जरा मान्छेको आहार, विहार, विचार र व्यवहारसम्म गडेको हुन्छ । जीवनशैलीका यी विविध पक्षहरुबाटै हृदयघातको जग तयार हुन्छ । जति बलियो जग बन्छ त्यति नै हृदयघात हुने र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । हृदयघातको जगलाई विभिन्न विधिद्वारा नाप्न सकिन्छ । मेडिकल भाषामा यो जगलाई जोखिम तत्व भनिन्छ । हृदयघातका जोखिम तत्वहरु धेरैवटा छन् तर हिसाब गर्न जम्मा १० वटालाई औंलामा गन्नु उपयुक्त हुन्छ । हाम्रा दुई हातका १० वटा औंलाहरु बराबर मुख्य जोखिम तत्वहरु छन् भनी सम्झन सकिन्छ । यी १० वटामध्ये ५ वटा ठूला र बाँकी ५ वटा साना जोखिम तत्वहरु हुन् । ठूला जोखिम तत्वहरुलाई २ अति ठूला र ३ ठूला गरी दुई वर्गमा राख्न सकिन्छ । यस हिसाबले २ अति ठूला, ३ ठूला र ५ साना जोखिम तत्वहरु छन् । जुन यसप्रकार छन्ः

अति ठूला जोखिम : मधुमेह र धूमपान ।

ठूला जोखिम : उच्च रक्तचाप, उच्च रक्तकोलेस्टेरोल र उमेर (पुरुषको ४५ वर्षमाथि र महिलाको ५५ वर्षमाथि) ।

साना जोखिम : व्यायामको कमी, मोटोपन, वंशाणुगत, मानसिक तनाव र सागसब्जी फलफूल कम खाने ।

अब यी जोखिम तत्वहरुलाई हृदयघात गराउन सक्ने क्षमताको आधारमा धेरै वा थोरै नम्बर दिएर हिसाब गरौं । अति ठूला जोखिमलाई ७ नम्बर, ठूलालाई ४ नम्बर र सानालाई २ नम्बर । आफ्ना सबै जोखिमका नम्बरहरु जोडेर जम्मा कति नम्बर हुन्छ, त्यो हिसाब गरौं । प्राप्त नम्बरको आधारमा हृदयघातको जोखिमको तह पत्ता लगाउन सकिन्छ । १ देखि ४ नम्बर पाउने निम्न जोखिम, ५ देखि ७ नम्बर पाउने मध्यम जोखिम, ८ देखि १५ नम्बर पाउने उच्च जोखिम र १५ नम्बरभन्दा बढी पाउने अति उच्च जोखिम तहमा पर्दछन् ।

निम्न जोखिममा पर्नेहरुलाई १० वर्षमा हृदयघात हुने सम्भावना ५ प्रतिशतभन्दा कम रहन्छ । यो भनेको १० वर्षभित्र यो समूहमा पर्ने १०० जनामध्ये ५ जनासम्मलाई हृदयघात हुन सक्छ । यस्तै गरी मध्यम जोखिममा पर्नेहरुलाई १० वर्षमा हृदयघात हुने सम्भावना ५ देखि १० प्रतिशत, उच्च जोखिममा पर्नेहरुलाई १० देखि २० प्रतिशत र अति उच्च जोखिममा पर्नेहरुलाई हृदयघात हुने सम्भावना २० प्रतिशतभन्दा बढी रहन्छ । यसप्रकार प्रत्येक व्यक्तिले आफूसँग कुन–कुन जोखिम तत्व छन्, ती जोखिमहरु सबैको नम्बर जोड्दा कति हुन्छ र त्यो जम्मा नम्बरले कुन जोखिम तहलाई जनाउँछ भनी हिसाब गर्न सक्छन् । बुझ्न सजिलो होस् भनी यी कुराहरुलाई तालिकामा राखेर देखाइएको छ ।

यस्तो प्रणाली धेरै प्राज्ञिक संस्थाहरुले प्रकाशित गरेका छन् । मैले यहाँ प्रस्तुत गरेको तालिका र जोखिमको हिसाब गर्ने प्रणाली मेरो अध्ययन र अनुभवका आधारमा तयार पारेको हुँ । यसमा केही त्रुटि भए यसका लागि म आफू जिम्मेवार हुनेछु । यस प्रकारले आफ्नो शारीरिक अवस्थाको हिसाब गरेर १० वर्षभित्र हुन सक्ने हृदयघात र आकस्मिक मृत्युको सम्भावना पत्ता लगाउन सकिन्न । जो व्यक्ति बढी जोखिम समूहमा पर्छन् उसले हृदयघात नहोस् भन्नाका लागि जीवनशैली व्यवस्थापन र औषधि उपचार गर्नुपर्छ । यसो गरेमा हृदयघातको सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।

धेरैजसो अति उच्च जोखिममा पर्ने व्यक्तिहरुसमेतलाई रोगको कुनै पनि लक्षण नदेखिएको हुन सक्छ । लक्षण छैन, केही अप्ठेरो भएको छैन भनेर औषधि उपचार नगरी ढुक्कसँग बस्नुहुँदैन । हृदयघातबाट मृत्यु हुनुको मुख्य कारण यही सावधानी नअपनाएर हो । लक्षण आउने बेलासम्म कुर्नुहुँदैन । लक्षण आउने भनेको रोग धेरै बढिसकेको अवस्था हो । उदाहरणका लागि हिँड्दा छाती दुख्ने लक्षण मुटुको रक्तनली साँगुरो भएपछि उत्पन्न हुन्छ । यो लक्षण आउन मुटुको रक्तनली ६० प्रतिशतभन्दा बढी साँगुरिएको हुनुपर्छ । ६० प्रतिशतभन्दा कम साँगुरो हुँदासम्म छाती दुख्ने लक्षण हुँदैन । हृदयघातको नजिक पुगेपछि छाती दुख्न थाल्छ । यस्तो दुखाइ आइसक्दा पनि कतिपयले ग्यास्ट्रिक भयो भनी हेलचेक्र्याइँ गर्छन् । यसैको नतिजास्वरुप हृदयघात भई मृत्यु हुन पुग्छ ।

छातीमा पीडा उत्पन्न नहुँदै मुटुका रक्तनलीका अवस्था र हृदयघात हुने सम्भावना पत्ता लगाउन केही मुटुका परीक्षणहरुको सहायता लिन सकिन्छ । यसमा दुईवटा परीक्षणहरु महत्वपूर्ण छन् । ती हुन्– टी.एम.टी. र सी.टी. कोरोनरी एन्जियोग्राफी । यी परीक्षणहरुबाट मुटुका रक्तनली कतिको स्वस्थ छन् र हृदयघातको सम्भावना कति छ भनी थाहा पाउन सकिन्छ । अब तपाईंले पनि आफ्नो शारीरिक विवरण लिनुस्, त्यसलाई नम्बर दिनुस् र जोड्नुहोस्, जम्मा कति आउँछ ? त्यसको आधारमा हृदयघातको जोखिमको तह र १० वर्षभित्र हृदयघात हुने सम्भावना पत्ता लगाउनुहोस् । सावधान रहनुहोस्, समयमै आवश्यक कदम चाल्नुहोस् र भोलि हुन सक्ने हृदयघात र आकस्मिक मृत्युबाट जोगिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्