युवतीको हत्या गर्ने अभियुक्त सार्वजनिक



नेपाल समाचारपत्र, गुल्मी ।

गुल्मीको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्या गर्ने अभियुक्त ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।सम्झनालाई अभियुक्त लालबहादुरले कर्तव्य गरेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । तर, हत्या किन र कसरी गरेको भन्ने कारण भने प्रहरीले खुलाएको छैन ।

सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुर बेपत्ता भएकी युवतीको खोज तलास गर्दा उनको सक्रियता बढी देखिएको थियो ।तर, पछि अभियुक्त लालबहादुरले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापहरुमा अभियुक्त लालबहादुरलाई गरिएको अनुसन्धानबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी असुन्धान भइरहेकोे प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री पनि घरनजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्