जीडीपी गणनाको आधार वर्ष परिवर्तन

अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ७० करोड पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादन ९जीडीपी० गणनाको आधार वर्ष परिवर्तन गरेको छ । हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाको आधार वर्ष सन् २०००-०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०-११ कायम गरेको हो ।नयाँ आधार वर्षपछि देशको अर्थतन्त्रको आकार बढेको छ । विभागका अनुसार सन् २०००-०१ लाई आधार वर्ष मान्दा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्बको थियो । नयाँ आधार वर्ष सन् २०१०-११ लाई आधार मान्दा अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब ७० करोड रुपियाँ पुगेको छ । अर्थतन्त्रमा अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन भएको विभागले जनाएको छ । नेपालले पनि अन्य देशले जस्तै १० वर्षमा आधार वर्ष परिवर्तन गरेको हो । केही विकसित देशले भने ३ वा ५ वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको पाइन्छ । नेपालको इतिहासमा यो पाँचौ आधार वर्ष हो ।

नयाँ आधार वर्ष बमोजिम आर्थिक वर्ष २०७६-७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । गत आवमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशतले ऋणात्मक भएको हो । यस वर्ष प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३९ दशमलव ४३ खर्ब पुगेको विभागले जनाएको छ ।विभागले आज बिहीबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा। पुप्पराज कँडेलले आधारदर र गत वर्षको परिमार्जित जीडीपी प्रस्तुत गरिएको बताए ।

आर्थिक वृद्धिदर ऋणात्मक भएपनि अहिले केही सुधार हुँदै गएको, रिबेसिङ पछि अर्थतन्त्रको आकार बढेको उनले बताए ।कोरोनाका कारण मुख्य प्रभावित बनेको गत आवको अन्तिम त्रैमासमा भने १५ प्रतिशतको कमि आएको थियो । त्यसमा क्रमशः सुधार देखिएको विभागले जनाएको छ । कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भण्डार क्षेत्रमा परेको छ । यी क्षेत्रमा २५ दशमलव ७ प्रतिशत र १३ दशमलव ४ प्रतिशत संकुचन आएको विभागले जनाएको छ ।

त्यस्तै, थोक तथा खुद्रा व्यापार १० दशमलव ७ प्रतिशत, औद्योगिक उत्पादन ९ दशमलव १ प्रतिशत, निर्माणमा ५ दशमलव ६ प्रतिशत, खानी तथा उत्खनन्मा २ दशमलव २ प्रतिशतले खुम्चिएको छ ।त्यस्तै विद्युत् तथा ग्यास क्षत्रमा २५ दशमलव ६ प्रतिशत सकारात्मक वृद्धि भएको छ । सार्वजनिक प्रशासन ६ दशमलव २ प्रतिशत, मानव स्वास्थ ५ दशमलव २ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्