६२ ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्कियो



मिला दरै, तनहुँ ।

लामो समयदेखि अन्धाकारमा रहेर जीवन गुजारा गरिरहेका ६४ ज्येष्ठ नागरिक अहिले आँखा देख्ने भएका छन् । बुढेसकालमा आफै अन्धोपन सिर्जना भएको सोचेर जीवन गुजारा गरिरहेका ती ज्येष्ठ नागरिकले आँखाको शल्यक्रियापश्चात् देख्न थालेका हुन् ।व्यास नगरपालिकाद्वारा आयोजित निःशुल्क आँखा परीक्षणसम्बन्धी शिविरबाट शल्यक्रियाका लागि रेफर गरिएका ज्येष्ठ नागरिकले आँखाको शल्यक्रियापछि उज्यालो ज्याेित पाएका छन् ।

रेफर गरिएका उनीहरुलाई नगरपालिकाको समन्वयमा हिमालयन आँखा अस्पताल घारीपाटन पोखरामा ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।६२ ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको व्यास नगरपालिका महिला विकास तथा बालबालिका समाज कल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पहिलो चरणमा २४ र दोस्रो चरणमा ३८ जनाको शल्यक्रिया गरिएको छ । पहिलो चरणमा आँखाको शल्यक्रिया गरिएका ज्येष्ठ नागरिकहरु घर फर्किसकेका छन् भने दोस्रो चरणमा परेका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया भइरहेको उहाँले बताउनुभयो ।
‘शल्यक्रिया गर्नुपर्ने ज्येष्ठ नागरिकको दुई चरण गरी शल्यक्रिया गरिएको हो।’ –उहाँले भन्नुभयो ।

यही फागुन ११, १२, १३ र १४ गते गरिएको निःशुल्क शिविरमा परीक्षण गराउदा आँखामा जटिल समस्या देखिएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रियाका लागि नगरपालिकाले समन्वय गरेको छ ।व्यास नगरपालिका–३ की ९६ वर्षीया मनकौरी गुरुङले आँखा नदेखेर अँध्यारोमा पुगेकालाई उज्यालो ज्योती नगरपालिकाले दिएको बताउनुहुन्छ । ‘आँखाको ज्योति नै ल्याइदिने नगरपालिका देउता रहेछ।’ उहाँले भन्नुभयो । त्यस्तै व्यास–४ का हर्क बहादुर दरैले कही जानुपर्ने अवस्थामा परिवारका सदस्यसँग सहारा लिनुपर्ने अवस्था टरेको बताउनुहुन्छ । ‘आँखा देखेपछि जवान भएको आभास भयो, नगरपालिकालाई धन्यवाद छ उज्यालो संसार देख्ने बनायो,’ उहाँ भन्नुहुन्छ ।

‘ज्येष्ठ नागरिकहरुले आँखा नदेखेर दुःख र कष्ट भोग्न नपरोस्’ भनेर नै शल्यक्रिया समेत गराउने व्यवस्थापन सहितको शिविर गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । आँखाको ज्योती गुमाएका ज्येष्ठ नागरिकले हेयको दृष्टिले दुखित हुने समस्याबाट जोगाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।४ दिने निःशुल्क आँखा परीक्षण सम्बन्धी शिविरबाट नगरपालिकाभित्रका ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका थिए । नगरपालिकाभित्रका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको आँखा परीक्षण गरी आवश्यकता अनुसार निशुल्क औषधी र चस्मा समेत वितरण गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्