३ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले पीपीई, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।यूएनएफपीएले ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पीपीई), ५० हजार जोर पन्जा, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आईएआरएच किट्स) रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख गरेको छ ।

यूएनएफपीएको सहयोगले यौन तथा प्रजनन स्वास्थ्य र लैंगिक हिंसासम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्ने सरकारको प्रयासलाई सहयोग पु¥याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा आयोजित कार्यक्रममा यूएनएफपीएका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सामग्री हस्तान्तरण गरेका थिए । नेपाल, चीन र यूएनएफपीएबीचको विद्यमान साझेदारीअन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपीएले करिब ३ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको यूएनएफपीएद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि, औजार तथा अन्य सामग्री छन् ।

यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ ।सो अवसरमा प्रमुख विशेषज्ञ डा. पोखरेलले भन्नुभयो– ‘हामी चीन सरकार र यूएनएफपीएप्रति आभारी छौं । मन्त्रालयले प्राथमिकताका आधारमा पीपीई र अन्य सामग्रीहरु वितरण गर्नेछ ।’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनीय रहेको नेपालका लागि यूएनएफपीएका प्रतिनिधि लुब्ना बाकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्