युएस क्यापिटलमा एक्कासि थप सुरक्षा अतिवादी हिंसात्मक छापामार समूहबाट हमलाको आशंका



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको वासिङ्टनस्थित युएस क्यापिटल भवनमा हुनसक्ने सम्भावित आक्रमणलाई लिएर सुरक्षा व्यवस्था थप गरिएको छ । एउटा छापामार समूहले ४ मार्चमा त्यहाँ आक्रमण गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा यसरी सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको बताइएको छ । क्युएनन नामक समुहले डोनाल्ड ट्रम्प दोश्रो कार्यकालमा फर्कने विश्वास गरेको थियो ।

प्रतिनिधिसभाले बिहीबारको अधिवेशन रद्द गरेको छ । तर, सिनेटले भने आफ्नो काम कारबाहीलाई निरन्तरता दिएको छ । गत जनवरीमा ट्रम्पका समर्थकहरू क्यापिटल भवनभित्र जबर्जस्ती प्रवेश गरेका थिए । विधायकहरू नव निर्वार्चित राष्ट्रपति जोय बाइडेनलाई आधिकारिक मान्यता दिने तयारीमा रहेकाबेला सो आक्रमण भएको थियो । त्यसवेला समर्थक र प्रहरीबीच भएको भिडन्तमा एकजना प्रहरी अधिकारीलगायत पाँचजना व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि क्यापिटल प्रहरी फौजका अध्यक्षले पदबाट राजीनामा दिएका थिए । ट्रम्पले अझैसम्म पनि चुनावी पराजय स्विकारेका छैनन् ।मातृभूमि सुरक्षा विभाग र संघीय जाँचबुझ ब्युरो (एफबिआई) द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ – ‘फेब्रुअरीको उत्तरार्धतिर एउटा अज्ञात उग्रवादी तथा हिंसात्मक छापामार समूहले ४ मार्चमा वा त्यसको वरपर युएस क्यापिटलमाथि कब्जा गरी डेमोक्रेटिक विधायकहरूलाई त्यहाँबाट हटाउने योजनामाथि छलफल गरेको खबर प्राप्त भएको छ ।

साथै सो समूहले हजारौं व्यक्तिलाई सो कार्यमा सहभागी गराउन वासिंगटन डीसी ल्याउने विषयमा पनि छलफल गरेको बुझिएको छ ।’फ्रेब्रअरीको उत्तराद्र्धमा निमित्त क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानले ट्रम्प समर्थकहरूको जनवरीको आक्रमणको दौरान क्यापिटललाई विस्फोट गरेर उडाउने तथा विधायकहरूको हत्या गर्ने उद्देश्य रहेको कंग्रेसलाई जानकारी गराएका थिए ।पूर्वअमेरिकी रक्षामन्त्री तथा केन्द्रीय गुप्तचर निकाय (सीआईए) का प्रमुख लियोन पनेटाले जनवरीको घटनाबाट पाठ सिकिसकेका प्रहरीले कुनै पनि हालतमा त्यहाँ त्यस्तो घटना दोहोरिन नदिने कुरा बीबीसीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्