ओलीलाई दलको नेताबाट हटाएको जानकारी संसद् सचिवालयमा



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टीभित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने प्रतिस्पर्धा चलेको छ । दुई समूहमा विभाजित नेकपाभित्र एक–अर्कालाई आरोपप्रत्यारोप मात्र होइन, जिम्मेवारीबाट धमाधम हटाउने शृंखला पनि चलिरहेको छ । प्रतिनिधिसभाको बैठकको मिति नजिकिँदै जाँदा प्रमुख सचेतक, सचेतक र दलको नेताबाट हटाउने काममा दुवै समूह लागेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराउनुभएको हो ।‘संसद् पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छांै।’ –प्रचण्ड–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले भन्नुभयो ।संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन दाहाल–नेपाल समूहका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत संसद् सचिवालय पुग्नुभएको थियो ।

बहुमत केन्द्रीय सदस्यको सहभागितामा ओलीलाई पार्टी सदस्यबाटै हटाइसकेकाले संसदीय दलको नेताका रुपमा समेत रहन नसक्ने भन्दै सचिवालय, संसदीय दल र सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।नेकपा बहुमत पक्षको माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई आकस्मिक र असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीररुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । संसद् सचिवालयमा यसअघि प्रधानमन्त्री केपी ओलीले दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको पत्र पठाउनुभएको थियो । सोहीअनुसार सचिवालयले नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईलाई सुविधा उपलब्ध गराउने र गुरुङको खोस्ने प्रक्रिया थालिसकेको थियो । लगत्तै प्रचण्ड–नेपाल समूहले कारबाही गरिएको बेहोरासहितको पत्र संसद् सचिवालयमा जानकारी गराएको छ । निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन नसक्दा संसद्भित्र नेकपाको दुवै पक्षबीच रस्साकस्सी चलेको छ ।

प्रतिक्रिया दिनुहोस्