तेमाल गाउँपालिका अध्यक्षविरुद्ध संघर्ष समिति



मोतीराम तिमल्सिना, काभ्रे ।

उपभोक्ता समिति आफु अनुकुल गठन गरी रकम अनियमित गर्न खोजेको भन्दै स्थानीयहरुले तेमाल गाउँपालिकामा संर्घष समिति गठन गरेका छन् । तेमाल गाउँपालिका वडा नम्वर १, २ र ३ कल्लेरीपाखा चुखावेशी सरमथली सडक निर्माणका क्रममा विनियोजन भएको १ करोड रकम हिउँदे सभाबाट घटाएर ८० लाख बनाई उक्त रकम खर्चका लागि गाउँपालिका अध्यक्ष सलामसिं लामाले आफन्तहरुलाई समितिमा राखी अनियमित गर्न खोजेको संर्घष समितिका संयोजक हरिशरण भण्डारीले बताउनु भयो । समिति गठनमा वडा अध्यक्षहरुको समेत असहमति छ ।

गाउँपालिका अन्तर्गत बोहोरे दोभान ठुलोपर्सेल तित्रिटार सडक मर्मतका लागि अध्यक्ष लामाले स्थानीयसँग कुनै छलफल नै नगरी एकलौटी रुपमा उपभोक्ता समिती गठन गरेपछि स्थानीय आक्रोसित भएका हुन् । आक्रोशित स्थानीयहरुले संर्घष समिति गठन गरी पत्रकार सम्मेलन गरे । गाउँपालिकामा अध्यक्ष सलामसिं लामालाई जानकारी दिन र लिन खोज्दा अपशब्द प्रयोग गर्दै दुब्र्यवहार गरेको स्थानीय साईला तामाङले बताउनु भयो । वर्षे अधिवेशन मार्फत सडक मर्मत सम्भारका लागि १ करोड रुपैयाँ विनियोजन भएको थियो ।

त्यसपश्चात आर्थिक वर्ष २०७७/७८ को गाउँपालिकाको हिउँदे परिषद्बाट उक्त रकममा संशोधन गरी २० लाख रुपैयाँ वडा नम्बर २ स्थित याङबेल खोला पहिरो व्यवस्थापनका लागि छुट्याइएको छ भने ८० लाख रुपैयाँ बोहोरे दोभान ठुलोपर्सेल तित्रिटार सडक मर्मतका लागि विनियोजन भएको थियो । तर उपभोक्ता समिति गठन गर्दा अध्यक्ष लामाले स्थानीयलाई नै जानकारी नदिई काम गरेको पाइएको छ ।

वडा नम्बर २ को पहिरो व्यवस्थापनका लागि वडा नम्बर ३ का मात्रै मानिसहरु समावेश गरेर उपभोक्ता समित गठन गरिएको भने सडक मर्मतका लागि समिति गठन गर्दा पनि त्यस भेगका उपभोक्तालाई थाहा नै नदिइ गाउँपालिका अध्यक्ष लामाका आफन्तलाई राखेर समित गठन गरिएको छ । उपभोक्ता समितिको अध्यक्षमा मनिल तामाङ र सचिवमा निर तामाङ छन् । अध्यक्ष निर तामाङ गाउँपालिका अध्यक्षका भाई हुने भने सचिव भतिज हुन् ।

यस विषयमा गाउँपालिका अध्यक्षसँग वुझ्न खोज्दा गाउँपालिकाको कार्यकक्ष भित्र नै अमानवीय व्यवहार भएको कल्लेरीपाखा खहरेघाट चुखाबेशी सरमथली सडक संघर्ष समितिका अध्यक्ष हरिशरण भण्डारीले बताउनु भयो । हरेक विकास निर्माणमा सबै नागरिकको बराबरी जनसहभागिता, पारदर्शिता र जवाफदेहीता हुनुपर्ने मान्यता विपरित गाउँपालिका अध्यक्षले स्थानीय सरकार संचालन कार्यविधि २०७४ लाई समेत खबेवास्ता गरि जनचाहाना विपरित कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको संघर्ष समितिले जनाएको छ ।

गाउँपालिकाले आफुखुसी निर्माण गरेको बोहोरे दोभान ठुलोपर्सेल तित्रिटार सडक मर्मत सम्भार उपभोक्तासँग गाउँपालिकाले गरेको सम्झौता रोकी त्यस उपभोक्ता समितिलाई विघटन गरी तेमाल गाउँपालिका वडा नम्बर १,२,३,४,६,७ र ९ को संयुक्त उपभोक्तालाई भेला गराउन संघर्ष समितिको माग छ ।

अन्यथा गाउँपालिकाले एकलौटी रुपमा निर्माण गरेको उपभोक्ता समितिले सडक निर्माणको काम शुरु गरेमा त्यसबाट हुन जाने अप्रिय घटनाको जिम्मेवार स्वयं गाउँपालिका हुने संघर्ष समितिको चेतावनी छ । आफुहरु विकास बिरोधी नभएको भन्दै साइला तामाङले नीति, विधि कायम होस् भन्ने मात्रै चाहना रहेको बताएका छन् । यस अघि तेमाल गाउँपालिकामा गठन भएका केहि उप समितिहरुले प्राविधिक स्टमेट मिलाएर रकम हिनामिना गरेको प्रमाण फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्