हेटौंडामा तिङ्ला पुजु



हेटौंडा, नेस  ।

कोरोना कहर केही मत्थर भएपछि तामाङ फिल्म तिङ्ला पुजुको प्रिमियर गरिएको छ। कोरोनाका कारण गरिएको लकडाउन र कोरोना जोखिमका कारण थलिएर बसेको तामाङ फिल्म हलमा प्रदर्शन गर्ने क्रममा तिङ्ला पुजुले हेटौंडाको ओम्याक्स हलमा प्रिमियर गरिएको हो। गीत सार्वजनिक भएदेखि नै चर्चाको शिखरमा रहेको फिल्मको विशेष प्रिमियर गरिएको हो।

कार्यक्रममा नेपाल तामाङ चलचित्र संघ अध्यक्ष बिकु थोकरले दर्शकको माया र साथले हाल तामाङ फिल्म यो अवस्थामा आउन सफल भएकोमा खुसी व्यक्त गरे। तामाङ फिल्मले मनोरञ्जन मात्र नभएर धर्म, संस्कार, रीतिरिवाजबारे जानकारी गराउन पाउँदा खुसी लागेको बताए। फिल्ममा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाइबा, सिंगनाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे र गुरुदेव लामालगायतका कलाकारको अभिनय छ।

निमा लामा तामाङको निर्देशनमा तयार भएको फिल्म सुदीपा स्याङ्तानले निर्माण गरेकी हुन्।फिल्मको ट्रेलरका साथै सार्सी साम्बा म्हेन्दो आहिन र सेम ह्रो बोलको गीतलाई दर्शकले रुचाएका छन्। गीत सार्वजनिक भएसँगै हिट भएपछि फिल्मको टिमले फिल्मले पनि दर्शकको मन जित्न सक्ने बताएका छन्।फिल्म विश्वास भण्डारीले छायांकन र सम्पादन गरेका छन्। सुरज श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा निमा लामा तामाङको कोरियोग्राफी छ। फिल्मका गीतमा कमल रुम्बाको शब्द र संगीत छ। फिल्मको कथा पनि रुम्बाले नै लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्