भिनिसियसले गरे रियलको उद्धार



लन्डन, (एजेन्सी)  ।

स्पेनिस ला लिगामा वैकल्पिक खेलाडी भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकि रहेको अवस्थामा बराबरी गोल फर्काउँदै रियल मेड्रिडको उद्धार गरेका छन् ।घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा सोमबार राति भएको खेलमा रियल मेड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गर्दा रियलका भिनिसियसले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको सुरुवातमा सोसिडाडले घरेलु टोलीलाई दवाबमा राख्दै केही आक्रमण बुन्दा गोल गर्न सफल भएको थियो ।

खेलको ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलको ६१औं मिनेटमा प्रशीषक जिनेदिन जिदानले एकैपटक तीन खेलाडी परिवर्तन गरेपछि रियलले खेलमा पकड बनाउँदै लगातार आक्रमण बुने पनि गोलको लागि अन्तिम मिनेट नै कुर्नुपरेको थियो । खेलको ८९औं मिनेटमा सब्सिच्यट भिनिसियसले गोल गर्दै रियललाई खेलमा १–१ गोलको बराबरीमा ल्याए ।रियलका लागि १ सयौं खेल खेलिरहेका भिनिसियसले फेड भाल्भेर्डेको ब्याकहिल पासमा लुकास भाज्क्वेजको लो क्रसबाट उपलब्ध बललाई गोलमा परिणत गरेका थिए ।

उनी ६१औं मिनेटमा इस्कोको स्थानमा मैदान छिरेका थिए । यो बराबरीपछि रियलको ५३ अंक भएको छ । यता रियल सोसिडाडको २५ खेलबाट ४२ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्