राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा राप्रपाको जोड



पाँचथर, (नेस) ।

संसद् पुनःस्थापनाका बाबजुद देशमा अन्योल र अस्थिरता निरन्तर रहेको समय राष्ट्रवादी शक्तिहरु प्रभावकारीरुपमा अघि बढ्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले बताएका छन् ।

‘राष्ट्रलाई एक ढिक्का राख्ने आधार नागरिकस्तरमा कायम रहेको राष्ट्रवादी भावना नै हो । सत्तारुढ दलको सत्ताको झगडा र प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ । यसर्थ राष्ट्रियता, प्रजातन्त्र र जनहितको पक्षमा राष्ट्रवादीहरु प्रभावकारी भूमिकामा आउन आवश्यक भएको छ।’ –राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भन्नुभयो ।राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त)का जिल्ला उपाध्यक्ष रघुनन्दन तुम्बापोको स्मृतिमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा वक्ताहरुले स्वर्गीय तुम्बापोको सुकीर्ति र इमानदार चरित्रको संस्मरण गरे ।

राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले भन्नुभयो– ‘राष्ट्रियतामाथि चौतर्फी प्रश्न उठिरहेको बेला रघुनन्दन तुम्बापो जस्तो सद्चरित्रका नागरिकको अभाव खट्किरहेको छ । उनको देन पार्टी र सिंगो समाजलाई उदाहरण बनिरहनेछ ।’श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पूर्वउपरथी होमकुमार लावतीले भन्नुभयो– ‘रघुनन्दन तुम्बापो एक कर्मठ, निष्ठावान् राप्रपाका कार्यकर्ता थिए । उनलाई गुमाउँदा सम्पूर्ण समाज र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।’मन्तव्यकै क्रममा जिल्ला उपाध्यक्ष कमल चेम्जोङले राष्ट्र निर्माणमा युवाहरुको सिर्जनशील भूमिकाको कदर गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सदस्य गोपाल राईले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभयो ।युवक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र कार्कीले रघुनन्दनसँग सहकार्य गरेका दिनहरु संस्मरण गर्दै उनले अधुरो छाडेको लक्ष्य प्राप्ति गर्ने प्रण गरे । संगठनका जिल्ला सचिव सञ्जीव जोशीले शोकलाई शक्तिमा रुपान्तरण गरेर राष्ट्रवादी आन्दोलनलाई सही लक्ष्यमा पु¥याउने विचार राखे ।

प्रतिक्रिया दिनुहोस्