कुलपूजाको परम्परा, पाण्डे वंश र गोरखा



अरुणकुमार पाण्डे 

नेपाली समाजमा आफ्नो कुलपूजा परम्परा अभिन्न संस्कृति बनेर आएको छ । प्रायः सबै जातजाति र थरीहरुले कुनै न कुनै रूपमा कुलायन पूजा गर्ने गरेका छन् । कुलायन पूजा भनेको आफ्नो स्रोत या पूर्वजप्रतिको सम्मान, सम्झना र गौरवबोध हो । आफ्ना पूर्वजहरुको सम्मान गर्ने परम्परा नेपालमा मात्रै होइन विश्वभर रहेका सबै देशका सबै धर्मका सबै राजनीतिक आस्था बोक्ने मान्छेहरुले गर्दै आएका छन् । नेपाली समाजले पूजाका रूपमा पूर्वजहरुलाई सम्मान गर्छन् भने पूजा नमान्नेहरुले सभा, सम्मेलन, पुष्पगुच्छा अर्पण, सलाम अभिवादन आदि विभिन्न स्वरुपले पूर्वजलाई सम्झने र सम्मान गर्ने गरेका छन् । कुलवंशभित्र मात्रै नभएर राजनीतिक, साहित्यिक, सामाजिक अगुवाहरूलाई सम्मान गर्ने परम्परा संसारभर छ ।

गतवर्ष २६ फागुनमा गोरखाको पालुङटार नगरपालिका (साबिक खोप्लाङ गाविस)–१ मा उपमन्यु गोत्रीय पाण्डेहरुको ऐतिहासिक १२ बर्से कुलायन पूजा सम्पन्न भयो । नेपालको इतिहासमा गोरखा राज्यमा शाहवंशीय शासन राजा द्रव्य शाहबाट शुरु भएको उल्लेख छ । लमजुङका राजा यशोब्रह्म शाहका दुई भाइ छोरामध्ये कान्छा द्रव्य शाह गाईगोठको हेरचाह गर्ने जिम्मेवारीमा थिए । उनै द्रव्य शाहलाई लिगलिगको दौडमा सामेल गराएर गोरखाको राजा बनाउने योजनाकार छ जनामध्येका प्रमुख व्यक्ति गणेश पाण्डे थिए । गणेश पाण्डे लमजुङका राजाले मन्त्री बनाउन पाल्पाबाट पैंचो मागेर ल्याएका व्यक्ति हुन् भनेर इतिहासकारले लेखेका छन् । आफ्नो योजनाअनुसार द्रव्य शाहलाई गोरखाको राजा बनाउन सफल भएपछि उनै गणेश पाण्डेलाई द्रव्य शाहले मन्त्री बनाए ।

अनि गोरखा राज्यमा पाण्डेहरुको भारदारी राजनीतिक उपस्थिति बलियोरूपमा स्थापित भयो । पाल्पाबाट लमजुङ आउँदा गणेश पाण्डेले आफ्ना कुलदेवता आफूसँगै बोकेर ल्याएका थिए । गोरखामा मन्त्री नियुक्त भएसँगै उनैले आफ्नो कुलदेवता गोरखामै स्थापना गरी कुलायन पूजा गर्न शुरु गरे । उनको वंश विस्तार हुँदै गयो । ब्राह्मण पाण्डे कुलमा पछि गएर ब्राह्मण र क्षत्री दुवै हाँगो सिर्जना भयो । दुवै हाँगोले आजपर्यन्त एकै परिवारको रूपमा मूलथलो खोप्लाङ भुसुनेमा एकै ठाउँमा कुलपूजा गर्दै आएका छन् ।ऐतिहासिक घटनाक्रममा केही समय गोरखाबाट नुवाकोट राजधानी सारियो । त्यसै क्रममा गोरखाका पाण्डेहरु नुवाकोट पुगे । नेपाल एकीकरण हुँदै जाँदा काठमाडौंमा राजधानी कायम भएपछि पाण्डेहरु काठमाडौं पुगे । विभिन्न राजनीतिक घटनाक्रममा छिन्नभिन्न भएका पाण्डेहरु देशभरका विभिन्न स्थानमा बसाइँ सरे । भारत र अन्य देशमा समेत पुगे ।

जहाँ–जहाँ पुगे उनीहरूको मूलथलोमा रहेकोे पूजा परम्पराबाट केही नयाँपन थपियो । केही पृथकता आयो । तथापि मूलथलो गोरखामा हुने कुलायन पूजामा आफ्नो ऐतिहासिक पक्ष जोडिएको हुनाले सबै उपमन्यु गोत्रीय पाण्डेहरुको भावना र सम्मान गाँसिएको छ, हजारौं परिवार एकै ठाउँमा, एकै भान्सामा जोडिने र आफ्नो ऐतिहासिक विरासतमा गर्व गर्ने महान् पर्वका रूपमा यो यो कुलपूजालाई लिइने गरिएको छ ।
पाण्डेहरुको इतिहाससँगै नेपाल राष्ट्र निर्माणको महत्वपूर्ण कालखण्डको इतिहास पनि जोडिएको छ भने नेपाल राष्ट्र निर्माणको इतिहाससँग पाण्डेहरुको इतिहास जोडिएको छ । यसैले बाह्रबर्से कुलपूजा हाम्रो देश निर्माणको इतिहास सम्झाउने अवसर पनि हो । विदेशी प्रपञ्चमा अहिले सेनामा समावेशिताको कुरा उठाइन्छ, जबकि नेपाल निर्माणका क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले कालु पाण्डेको नेतृत्वमा गठन गरेको सेना नै समावेशी सेना थियो । कालुको नेतृत्वमा गोरखाका १२ हजार घरधुरीलाई एकठ्ठा गरी समावेशी राष्ट्र निर्माण अभियान शुरु गर्नुको उद्देश्यमा आफ्नो व्यक्तिगत स्वार्थ केही थिएन, मात्रै आफूलाई राष्ट्र निर्माणको बलिवेदीमा समर्पण गर्नु थियो तर आज विदेशी प्रपञ्चमा समावेशिताको कुरा गर्नुको उद्देश्य के–के छन्, सहजै अनुमान लगाउन सकिन्छ ।

कालु पाण्डे राजाका प्रिय पात्र होइनन्, जनताका प्रिय पात्र थिए । राजा पृथ्वीनारायण शाहले त विराज बखेतीलाई काजी बनाउने विचार गरेका थिए तर जनताको चाहना कालु पाण्डेप्रति थियो । यो कुरा दिव्योपदेशमा पनि उल्लेख गरिएको छ । जनभावनाअनुसार काजी बनेका कालु पाण्डे आजको भाषामा भन्ने हो भने जननिर्वाचित प्रधानमन्त्री र सेनापति पनि हुन् ।संविधानसभाबाट संविधान बन्ने समयमा तत्कालीन एमाले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव राखेको थियो, जुन कुरा जनचाहनाअनुरुपका काजी कालु पाण्डेकै समयमा घटित भएको थियो । नेपाल एकीकरणको अभियानको शुभारम्भमा गठित सेनाको नेतृत्व गरेर एकीकरणलाई अघि बढाउन पाण्डे वंशको धेरै रगत र पसिना खर्च भएको छ । गोर्खामा पाण्डेहरुको कुलपूजा १२–१२ वर्षमा गरिनुका पछाडि त्यही एकीकरण अभियानको कारण जोडिएको छ । पाण्डे वंशले १२ वर्षको लामो समयसम्म कुलपूजा परम्परा र आफ्ना पारिवारिक समारोह सबैलाई थाती राखेर देश निर्माणमा केन्द्रित भएको इतिहास आजको पुस्ताले आत्मसात् गर्नै पर्छ ।

कालु पाण्डेपछि पनि धेरै पाण्डेहरुले नेपाल राष्ट्रको एकीकरण र सीमा रक्षाका लागि लडाइँ लडेका छन् । सेनापतिहरु नै आफैं युद्ध मोर्चामा बसेर सिपाहीहरु सँगसँगै खटिने हाम्रो सैनिक परम्परा हो । पाण्डेहरुले त्यो परम्परा निर्वाह गर्दै आए । नेपाली सेनाको स्थापना र विस्तारमा पाण्डे वंशको योगदानको अध्ययन–अनुसन्धान हुन जरुरी छ ।नेपालको इतिहासमा पाण्डेहरुको प्रभावबाट राष्ट्रियताका विपक्षमा कहीँ–कतै सम्झौता भएको छैन । नेपालको एकीकरण अभियानबाट तर्सिएका उत्तरी, दक्षिणी शक्तिका साथै पश्चिमी अंग्रेजी शक्तिले समेत अनेकौं षड्यन्त्र गरी भारदारमा फुट र दरबारमा द्वन्द्व घुसाइदिएपछि नेपाल एकीकरण अभियान प्रभावित हुन गएको हो । थापा–पाण्डेबीचको द्वन्द्व परत्रको षड्यन्त्रले भएको थियो । पाण्डे र थापा दुवै राष्ट्रवादी शक्तिलाई आपसमा भिडाएर एकातिर दरबारमा आफ्नो प्रभाव स्थापित गर्ने र अर्कोतिर नेपालको सीमा विस्तार अभियानलाई अवरुद्ध पार्ने षड्यन्त्र सफल भयो । राष्ट्रवादी शक्तिको तेजोवध गराएर धूर्त विदेशी एजेन्टहरुको उदय हुन थालेपछि राष्ट्रवादी शक्ति पलायन हुनुको विकल्प रहेन । विश्व साम्राज्यवादलाई चुनौती दिएर विश्व विजय गर्ने अजेय शक्तिको रूपमा गोर्खाली सेनाको उदय हुनु पश्चिमाहरुका लागि टाउको दुखाइको विषय थियो ।

दैवी चमत्कारजस्तै गोर्खाहरुको साहस, पराक्रम, उत्साह र वीरताले अत्तालिएका शक्तिले नेपालको दरबार र सैन्यशक्तिलाई आन्तरिक द्वन्द्व र आपसी संघर्ष गराउन गरेका दुष्प्रयासको परिणाम पाण्डे–थापाको द्वन्द्व भएको थियो । त्यो द्वन्द्वमा परेर धेरै ठूलो संख्यामा देशभक्त पाण्डेहरुले हत्यावरण गर्नुप¥यो । त्यो बेलादेखिको राज्यमा विदेशी चलखेल आजसम्म यथावत् रहेकै छ । विभिन्न ऐतिहासिक घटनाहरुमा परेका पाण्डेहरुको योगदानको गाथा अध्ययन–अनुसन्धान गरिनुपर्नेमा सो काम हुन सकेको छैन ।नेपालको सैनिक र राजनीतिक क्षेत्रमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा पनि पाण्डे वंशको ठूलो योगदान रहेको छ । पाण्डेहरुले धेरै मठमन्दिर निर्माण एवं पुनर्निर्माण गरेका छन्, गुठी राखिदिएका छन्, विद्यालय स्थापना गरेका छन्, जात्रा–पर्व परम्परा स्थापित गरेका छन् । उदाहरणका लागि सरदार भोटु पाँडेले स्थापना गरेको सोह्रखुट्टेको इतिहास र नरदेवी मन्दिरको जात्रामा उनको सुनको मूर्ति वर्षको एकपटक प्रदर्शन गर्ने परम्परा अहिलेसम्म छँदै छ । पाण्डे वंशले गरेका यस्ता सत्कार्यको इतिहास उत्खनन गरी पुनर्लेखन हुन जरुरी छ ।

पाण्डे वंश शिवशक्तिका उपासक हुन् । गोरखाको बाह्रबर्से कुलपूजामा पनि कुलदेवी बालात्रिपुरासुन्दरीको उपासना गर्दै, दुर्गा सप्तशती र शिवोपासना गर्दै लघुरुद्री पाठ गराइन्छ । दिव्योपदेशमा पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भन्नु, नेपाली सेनाको चिह्न त्रिशूल र डमरु हुनु, स्थापना दिवस महाशिवरात्रि पर्वमा हुनु, सेनापति कालु पाण्डेलगायतकाको निधारमा त्रिपुण्ड हुनुले धार्मिक क्षेत्रमा समेत पाण्डेहरुको महत्वपूर्ण योगदानलाई पुष्टि गर्छ ।कुलपूजा एउटा धार्मिक कृत्य मात्रै नभएर आफ्नो इतिहास, धर्म, संस्कृति परम्पराको समीक्षा गर्ने अवसर पनि हो । यो अवसरको सदुपयोग गरौं, नेपाल र नेपालीका लागि रगत बगाएका पुर्खाको विरासत आफूमा पुनस्र्थापित गर्न सकौं ।

प्रतिक्रिया दिनुहोस्