लडेर नेपाल समाचारपत्रकर्मी पण्डित गम्भीर घाइते



डोटी, (नेस)  ।

नेपाल समाचारपत्र राष्ट्रिय दैनिक बाजुराका संवाददाता दयाराम पण्डित लडेर गम्भीर घाइते हुनुभएको छ । लामो समयदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा कार्यरत रहनुभएका पत्रकार पण्डित आइतबार समाचार संकलन गर्न जाने क्रममा लडेर घाइते हुनुभएको हो ।

जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यास्थित घट्टेबगर खोलामा लडेर गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उहाँ रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार हुनुका साथै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्यसमेत रहनुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घट्टेबगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर उहाँ गम्भीर घाइते हुनुभएको हो ।

गम्भीर घाइते हुनुभएका पण्डिलाई अहिलेसम्म सुविधा सम्पन्न अस्पतालमा पठाउन नसकिएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिनुभयो । पत्रकार पण्डित लडेर करिब २० मिटर तल खस्दा टाउको र शरीरका अन्य भागमा चोट लागेको छ ।उहाँको अहिले बिच्छ्या स्वास्थ्य चौकी बाजुरामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले जिल्लाबाहिर लैजानुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
पत्रकार पण्डितको हेलिकोप्टरमार्फत तत्काल उद्धारका लागि पहल गर्न आग्रह गरिएको प्रेस युनियन बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्