चितवनमा हेटौंडालाई उपाधि



हेटौंडा, (नेस) ।

अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको दोस्रो संस्करणको उपाधि हेटौंडाको कालभैरवले हात पारेको छ । फाइनलमा बुटवल भेट्रानलाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौंडाले उपाधि हात पारेको हो ।

भरतपुर–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव ४–२ ले विजयी भयो । कालभैरवलाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको २ प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।त्यसअघि, निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । १४औं मिनेटमा भरतकुमार थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नै कालभैरव खेलमा फर्किएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले हेटौंडाका लागि बराबरी गोल गरे ।उपाधिसँगै कालभैरवले १ लाख ५१ हजार रुपैयाँ र उपविजेता बुटवलले ७५ हजार नगद हात पारेका छन् । कालभैरवका नरेश थापाले प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएर नगद १० हजार प्राप्त गरे । चितवनका रवीन्द्र श्रेष्ठ प्रतियोगिताभर ७ गोल गरेर सर्वाधिक गोलकर्ता भए । उनले सातै गोल उद्घाटन खेलमा जनकपुरविरुद्ध गरेका थिए ।कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बू उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार थापा उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । चितवन भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्