प्रमको खस्किएको लोकप्रियताबीच सुनको जलहरी



अन्ततः यत्रतत्र विरोधका बीच पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा पशुपतिमा सुनको जलहरी राख्नका लागि क्षमापूजा गरियो । भारतबाट २५ र नेपालका ९६ जना ब्राह्मणद्वारा क्षमापूजा गराइसकेको छ ।

पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने अगाडि बढेको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ । तर, पनि पशुपतिनाथमा प्रधानमन्त्रीको निर्देशनमा नै सुनको जलहरी राख्न खोजियो । जसरी भए तापनि सुनको जलहरी राख्ने निर्णयलाई मानिसहरूले विनाऔचित्यको लोकप्रियताका लागि प्रधानमन्त्रीले चालेको निर्णयका कदमका रूपमा लिएका छन् ।पशुपतिनाथमा १४१ किलो सुनको जलहरी तयारी अवस्थामा छ । सुनसहितको पुलिस–आर्मीको सुरक्षामा १० जना कालिगढहरूद्वारा पहिलाको चाँदीको जलहरीलाई मिलाएर सुनको राख्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको आदेशमा पशुपति क्षेत्र विकास कोषले तीव्र काम अगाडि बढाइरहेको देखिन्छ ।

सुनको जलहरी राख्दा शिवलिंग चोइटिन सक्ने कुराहरू पनि आइरहेका छन् । त्यहाँ त्यसकुरामा कसैले पनि ध्यान दिएको पाइँदैन । यदि भोलिको दिनमा पशुपतिनाथको शिवलिंग चोइटिएको कुरा यत्रतत्र फैलिएमा त्यसको जवाफदेहिता कसले लिने । गम्भीरतापूर्वक सोच्नै पर्ने विषय भएको छ ।यसअघि पनि सुनको जलहरी राख्नको लागि प्रयास नगरिएको होइन । तीन वर्षअघि भारतीय मूलबाट आएका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि पशुपति क्षेत्र विकास कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । त्यसबखत भण्डारीले समेत जलहरी राख्ने प्रक्रियाको विरोध गरेका थिए । विरोध बढेपछि विदेशी नागरिकबाट नभई भक्तजनबाटै सहयोग जुटाएर जलहरी राख्ने निर्णय कोषले गरेको थियो । तर, त्यसबखत यत्रतत्र भएको विरोधलाई ध्यानमा राखेर उक्त कार्य रोकिएको थियो ।

एकाएक प्रधानमन्त्री ओलीले पशुपतिनाथ दर्शन गर्न आउनु र सुनको जलहरी राख्न काम अघि बढाउन निर्देशन दिनु, साथै सरकारले तत्काल ३० करोड रुपियाँ उपलब्ध गराउने प्रतिबद्धता दिनुले केपी ओलीले संसद् विघटनपछि खस्किएको लोकप्रियता कमाउनको लागि र चर्चामा आउनको लागि सुनको जलहरी राख्ने आदेश दिएको देखिन्छ ।हालको अवस्था नियाल्ने हो भने, पशुपतिमा सुनको जलहरी राख्ने सम्बन्धमा छुट्टाछुट्टै रूपमा सर्वोच्चमा दुईवटा रिट पेस गरेर अन्तरकालीन आदेश पनि आइसेको छ । सर्वोच्च अदालतमा जलहरी राख्ने निर्णय रोक्न प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले अलग–अलगसार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।राष्ट्रपतिद्वारा सुनको जलहरी राखिएको र क्षमापूजा गरिएको भनी यत्रतत्र सञ्चारमाध्यमहरूमा खबर फैलनु र बेलुकासम्म पनि सुनको जलहरी राखिएको नदेखिनुले झनै भ्रम फैलिएको छ ।

यत्रतत्र विभिन्न माध्यमहरूबाट चर्को विरोध भइरहँदा पनि पशुपतिमा सुनको जलहरी राख्ने काममा कुनै असर पर्लाजस्तो देखिँदैन । हरेक क्षेत्रमा भएका अनियमितताहरूलाई यसरी नै पेल्दै अगाडि जाने हो भने, आजको दिनमा जे–जति विकास भएका छन् भोलिको दिनमा सबै मासिँदै जाने कुरामा सुनिश्चित रहन सकिँदैन ।बाटोमा उपचार नपाएका, खान नपाएका, बुबाआमा विहीन बालबालिकाहरूमाथिप्रधानमन्त्रीको दृष्टि किन परेन ? राष्ट्रिय सम्पदाभित्र रहेको राष्ट्रदेव पशुपतिनाथमा नै चलिआएको चाँदीको जलहरी चुहिने बहानामा लोकप्रियता कमाउनका लागि अनपेक्षितरूपमा पशुपतिनाथको सम्पत्ति थुपार्ने काम भइरहेको छ ।

हाल नेपालमा रहेका कोषहरूमध्ये सबैभन्दा धनीको सूचीमा रहेको पशुपति क्षेत्र विकास कोषमा अझै दैनिक लाखौं कमाइ हुन्छ । पशुपतिनाथमा यस्ता अनपेक्षित कार्यहरू भइरहँदा मानिसहरूमा निकै शङ्का उत्पन्न हुन थालेको छ । पशुपतिनाथमा लगेर विनाप्रयोजनको सम्पत्ति थुपार्ने हो भने त गरिब, असहायहरूको लागि एउटा गतिलो भवन र निःशुल्क उपचारको व्यवस्था गरेको भए हुने हो । जम्मा भइरहेको सम्पत्तिको सही सदुपयोग नभइरहेको परिस्थितिमा अझै ढुकुटी भर्नतिर लाग्नु लज्जास्पद कुरा हो ।
– सुजन तिमल्सिना,काठमाडौं 

प्रतिक्रिया दिनुहोस्