अन्नपूर्णको नारच्याङमा आपतकालीन अवस्थामा जीवन बचाउने तालिम



प्रताप बानियाँ, म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आपत्कालीन अवस्थामा जीवन रक्षासम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना तथा कोभिड–१९ अस्थायी अस्पताल अन्नपूर्ण गाउँपालिकाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

आपत्कालीन अवस्थामा मानव जीवनलाई कसरी बचाउन सकिन्छ भन्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएका छन् । तालिममा ‘तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ अर्थात् ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियानअन्तर्गत सर्किनु, हृदयघात, बाह्य रक्तस्राव, सिपिआर तथा बेहोस्लगायत विषयमा आधारित भएर सहजीकरण गरिएको थियो ।

तालिमको कोभिड अस्पताल अन्नपूर्णका प्रमुख मेडिकल अधिकृत डाक्टर लक्ष्मी पन्थीले यु क्यान सेभ फाइप लाइभ्स अभियानको सैद्धान्तिक र प्रयोगात्मक विषयमा सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई आपत्कालीन अवस्थामा मानव जीवन बचाउनका लागि व्यवहारमा उतार्न जोड दिनुभयो ।

तालिम समापनसत्रमा बोल्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले तालिमले आपत्कालीन अवस्थामा मानवीय जीवन बचाउन ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । तालिममा अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्वास्थ्यचौकीका इन्चार्ज, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय आमा समूह, युवा क्बल, प्रहरी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया गुरुङको अध्यक्षता, सदस्य देवी तिलिजाको स्वागत र कोभिड अस्पतालका स्टाफनर्स अन्जना पूर्जाको सञ्चालनमा सम्पन्न तालिममा सीमा प्रहरीचौकी भूरुङ तातोपानीका इन्चार्ज शेरबहादुर थापा र प्रभा माविका शिक्षक अदित तिमिल्सीनाले अनुभव मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्