पाँच अस्पताललाई प्रदेशको एम्बुलेन्स



नेपाल समाचारपत्र, हेटौंडा ।

बागमती प्रदेश सरकारले प्रदेशका ५ जिल्ला अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडामा आयोजित कार्यक्रमबीच प्रदेशका ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समिति अध्यक्षलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले हेटौंडा, नुवाकोटको त्रिशूली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेंसी र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समिति अध्यक्षलाई सामाजिक विकास मन्त्रालयका तर्फबाट खरिद गरिएको एम्बुलेन्सको सा“चो हस्तान्तरण गर्नुभएको थियो ।मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्ला अस्पताललाई स्वास्थ्योपचार सेवामा स्तरोन्नति र गुणस्तरीय सेवा प्रदान गर्न दक्ष चिकित्सक र सुविधायुक्त प्रयोगशाला स्थापना गर्दै लैजाने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।
उहाँले मुटुरोगीलाई तत्काल उपचार सेवा पु¥याउन काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा प्रदेशका १३ वटै जिल्लाबाट बिरामीलाई एम्बुलेन्समार्फत पु¥याउने र तत्काल उपचार गर्ने विषयमा प्रदेश सरकारले सम्झौता गरिसकेको उल्लेख गर्नुभयो ।

प्रदेशका अस्पतालमा मृगौलारोगी, पेट र स्त्री रोगसम्बन्धी बिरामीलाई तत्काल उपचार प्रक्रियामा लैजान दक्ष चिकित्सक दरबन्दी थप, अत्याधुनिक प्रयोगशाला स्थापना र अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टबीच समन्वय गरी अस्पतालमा औषधी वितरण प्रणाली सहज बनाउनेतर्फ सरकारले गृहकार्य गरिसकेको उहाँले बताउनुभयो ।मुख्यमन्त्री पौडेलले प्रदेशको विभिन्न जिल्ला अस्पतालमा एम्बुलेन्स नभएका अस्पताललाई प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र स्रोतसाधन परिचालन गरी एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अनुगमन भइरहेको बताउनुभयो ।५ वटा एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत १ करोड ८६ लाख ७५ हजार लागतमा खरिद गरी हस्तान्तरण गरेको बागमती स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्र वरिष्ठ जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँले विशेषगरि सडक दुर्घटनाका घाइते तथा अन्य रोगबाट सिकिस्त बिरामीको जीवन बचाउन यसको प्रयोग गर्न सकिने बताउनुभयो । एम्बुलेन्समा फराकिलो स्पेस हुने तथा एयर कन्डिसन, ईसीजी मनिटर, बीपीसेट, नेबुलाइजर सेट, एम्बुब्याग, सक्सन मेसिन, अक्सिजन, ह्विलचेयर तथा ट्रलीलगायत उपकरणको सुविधा रहेको जनाइएको छ ।प्रत्येक एम्बुलेन्स २९ लाख २० हजार लागतमा खरिद गरिएको एम्बुलेन्समा वातावरणसहित अत्याधुनिक उपचारसेवा उपलब्ध गराइएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मा, प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र काफ्ले र हेटौंडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्