सङ्ग्रहालय बन्दै कविकुञ्ज



काठमाडौं, (नेस) ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालयका रूपमा निर्माण गर्ने भएको छ । कविकुञ्ज सङ्ग्रहालय हुने भएपछि मैतीदेवीका स्थानीय उत्साहित भएका छन् ।

हालै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायलगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले उक्त कुराको स्वागत गर्दै उत्साह प्रकट गरेका हुन् । सो अवसरमा स्थानीयहरूले मैतीदेवीमा बन्न लागेको महाकवि देवकोटा सङ्ग्रहालय स्थानीयका लागि गौरवको कुरा भएको धारणा व्यक्त गरेका थिए ।महाकवि देवकोटा सङ्ग्रहालय निर्माण योजनाका सम्बन्धमा प्रकाश पार्दै कुलपति उप्रेतीले महाकविको जीर्ण अवस्थामा रहेको मैतीदेवीस्थित उक्त निवासलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष नै खरिद गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गरी सङ्ग्रहालय निर्माणका लागि सुम्पिएको बताउनुभयो । उहाँले सङ्ग्रहालय निर्माणका लागि डीपीआर तयार गरी सरकारसँग आवश्यक बजेट माग गरिएको जानकारी गराउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो– ‘बजेटको व्यवस्था हुनासाथ हामी निर्माण प्रक्रियालाई द्रूत गतिमा अगाडि बढाउनेछौं । सकेसम्म अर्को वर्षको महाकवि देवकोटा जन्मजयन्तीमा उद्घाटन गर्ने गरी काम गर्ने लक्ष्य लिएका छौँ ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महाकवि देवकोटा सङ्ग्रहालयलाई प्रधानमन्त्रीले राष्ट्रको गौरवमय योजनाकै रूपमा लिनुभएको बताउँदै निर्माणका लागि आवश्यक बजेट यथाशीघ्र निकासा हुने विश्वास दिलाउनुभयो । उहाँले यस्तो गौरवको आयोजनालाई स्थानीय बासिन्दा र सरोकार पक्ष सबैले समन्वय र सहजीकरण गरी निर्माणका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभयो ।भेलामा सहभागी स्थानीयहरू तेजप्रसाद ढकाल, रामराज कँडेल, भीमा कार्की, सुरेन्द्र श्रेष्ठ, कृष्णभक्त खड्गी, पुरुषोत्तम दाहाल, विश्वराज रेग्मी, मदनराज श्रेष्ठलगायतले महाकवि देवकोटाको निवासलाई मौलिकता झल्किने गरी छिटो निर्माण गर्नुपर्नेमा जोड दिँदै स्थानीयका तर्फबाट आफूहरूले पूर्णरूपमा समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।

स्थानीयहरूका जिज्ञाशाको जवाफ दिने क्रममा कुलपति उप्रेतीले स्थानीयको सहयोग अत्यन्तै आवश्यक रहने र एउटा उपसमिति नै बनाएर काम अगाडि बढाउने बताउनुभयो । यो देशकै पहिलो र गौरवको विषय भएकाले सो संरचना निर्माणदेखि सञ्चालनसम्म सहयोग गर्न उहाँले स्थानीयलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्