दोस्रो चरणको खोप ८ हप्तापछि उपयुक्त’



भगवती तिमल्सिना, काठमाडौं  ।
कोरोनाविरुद्धको दोस्रो चरणको खोप यही फागुन २३ गतेदेखि देशव्यापीरुपमा ६ हजारभन्दा बढी खोप केन्द्रबाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आइतबार आयोजित छापा मिडिया, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादकसहित पत्रकारहरुसँग स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

छलफलमा कोरोनाविरुद्धको दोस्रो चरणको खोपका बारेमा जानकारी गराउनुका साथै पहिलो चरणमा खोप लगाइसकेकाहरुले दोस्रो डोज खोप ८ हप्तापछि लगाउनु उपयुक्त भएको विज्ञहरुको सुझावका आधारमा वैशाखको दोस्रो सातासम्म लगाउने व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिनुभयोे ।कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले गाउँगाउँसम्म कोरोनाविरुद्धको खोप लगाएर अन्य रोगसँग पनि लड्ने क्षमता विकासका लागि सञ्चारमाध्यमबाट सकारात्मक सन्देश पु¥याउन अनुरोध गर्नुभयो । सचिव अर्यालका अनुसार दोस्रो प्राथमिकताको खोप अभियान १५ दिनसम्म चल्नेछ । त्यसपछि खोपको प्रभावकारिताको आधारमा खोप अभियानलाई निरन्तरता दिइने सचिव अर्यालको भनाइ छ । उहाँले २० प्रतिशत जनतामा खोपको सुनिश्चितता नभए पनि निजी क्षेत्रलाई पनि खोप आयातका लागि खुला गरिनेसमेत बताउनुभयो ।

सोही अवसरमा खोप विज्ञ डा. श्यामराज उप्रेतीले खोपको महत्व, प्रभावकारिता र पहिलो चरणको अभ्यासबाट महत्वपूर्ण सिकाइ भएको बताउनुभयो ।उहाँले पावरप्वाइन्टमार्फत कोरोनाविरुद्धको खोप खरिदका लागि पहिलाको अनुमानित मूल्यका आधारमा ४८ करोड छुट्याइएको भए पनि त्यति खर्च नलाग्ने बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, कूटनीतिक नियोग, जिल्लास्तरीय जनप्रतिनिधि, पत्रकारहरु गरी ४ लाख २९ हजारले कुल जनसंख्याको १ दशमलव ४ प्रतिशतले खोप लगाएको जानकारी गराउनुभयो ।पहिलो चरणमा लक्षित संख्याको ८८ प्रतिशतले खोप लगाएको उहाँले जानकारी गराउनुभयो । दोस्रो चरणमा ५५ वर्ष माथिका सबै उमेर समूह र विशेष प्रकारको एलर्जीको समस्या नभएका व्यक्तिलाई स्थानीय निकायको अगुवाइमा मोबाइल टिम बनाएर समेत खोप अभियान सञ्चालन गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीसँग स्वास्थ्यमन्त्री स्वयं जुम कार्यक्रममा रहने जानकारी गराइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५५ वर्ष पुगेका विद्यालयका शिक्षक, कर्मचारी र अन्य प्राथमिकतामा परेका व्यक्तिलाई पनि खोप अभियानको प्राथमिकतामा परेकाले सबैलाई खोप लगाउन अनुरोध गर्नुभयो ।उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चारकर्मीले खोपलाई प्रभावकारी बनाउन सहज र सर्वसुलभरुपमा ज्येष्ठ नागरिकलाई घरआँगनमा पु¥याउन सरकारले थप मेहनत गर्नुपर्ने र पहिलो चरणमा भन्दा फरक खालका समस्या आउने सक्ने कुरा औंल्याएका थिए । सोही अवसरमा १ प्रतिशतमा खोप लगाउँदा ९ जनामा कडा ज्वरो आएको र केही व्यक्तिमा सामान्य ज्वरो तथा ज्यान दुख्नु खोप लगाउँदा सामान्य भएको भए पनि ज्येष्ठ नागरिकलाई खोप लगाउने बेलामा थप सुरक्षा अपनाई आकस्मिक समस्याका बारेमा सचेत हुन पनि सल्लाह दिएका थिए ।

मन्त्री त्रिपाठीले आफू पनि सञ्चारकर्मबाट नै माथि उठेकाले सञ्चारकर्मीले औंल्याएका विषयवस्तुलाई गम्भीरतापूर्वक लिने र सबै जिल्लामा समन्वय गरी एउटै क्षेत्रका ज्येष्ठ नागरिकहरु १० जना भएर खोप केन्द्रसम्म पुग्न नसक्ने भए भने मोबाइल टिम बनाई घरघरै पु¥याई खोप लगाउनसमेत सोच्ने बताउनुभयो । उहाँले एक भायलमा १० डोज खोप हुने हुनाले १० जनाभन्दा कम हुने ठाउँमा भने खोप लगेर लगाउँदा समयको पावन्दीले खोप खेर जाने हुनाले यस्तो नीति लिने सोच बनाएको बताउनुभयो ।विश्वका १ सय १ मुलुकले कोरोना खोप खरिद गर्नै नपाएको अवस्थामा नेपालले भने दक्षिण एसियामै कोरोनाको खोप लगाउने दोस्रो मुलुकका रुपमा आफूलाई परिचित गराउन सफल भएको छ । यो सफलता सामान्य तरिकाले प्राप्त भएको नभई अथक् प्रयास र मेहनतका कारण प्राप्त भएको उहाँले जानकारी गराउनुभयो ।

‘दोस्रो चरणमा म पनि खोप लगाउँदै छु’

पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीले खोप लगाइसकेको अवस्था भएकाले अब दोस्रो चरणमा आफ्नो पालोको प्राथमिकता कुरेर आफूले पनि खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो ।

उहाँले सो कुरा आइतबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो । मन्त्री त्रिपाठीले ५५ वर्ष माथिका नागरिकलाई दोस्रो प्राथमिकताको खोप कार्यक्रममा समावेश गरिएकाले आफूले पनि पालोअनुसार खोप लगाउने बताउनुभएको हो ।‘पहिलो चरणमै खोप लगाउनका लागि केही सहकर्मीहरुले दबाब नदिएका होइनन् तर मैले नीतिगतरुपमा प्राथमिकता तोकिएका व्यक्तिले नलगाई हामीले लगाउनुहुन्न भनेर अडान लिए । केही साथीहरुले भन्नुभयो– ‘मन्त्री सांसदले किन खोप लगाउनुभएन? म पनि फागुन २३ गतेदेखि खोप लगाउन योग्य हुन्छु, अनि लगाउँछु भन्ने उत्तर दिएँ।’ उहाँले भन्नुभयो– ‘अब २३ गतेपछि मन्त्रीका साथै सांसदहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनुहुन्छ ।’

उहाँले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गर्न केन्द्रित भएकाले आफूहरुले शुरुआती अवस्थामै खोप नलगाएको पनि प्रस्ट्याउनुभयो । मन्त्री त्रिपाठीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियानका लागि ४८ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको भए पनि सबै रकम खर्च नहुने र आफूले खर्च विवरण पारदर्शीरुपमा सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्