शुरू हुने भयो स्थगित सेनाको एकीकरण पदयात्रा



नेपाल समाचारपत्र, काभ्रे ।

‘यात्रा स्वभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले फागुन २९ गते शनिबार एकीकरण पदयात्रा गर्ने भएको छ । अघिल्लो वर्षको फागुन २४ गते पर्यटन वर्षलाई समेत लक्षित गरी अयोजना गरिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।
नेपाली सेनाको तत्कालीन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विसं १८०३ देखि १८२० सम्म पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक जिल्ला र काठमाडौं उपत्यकामा विजय हासिल गर्न प्रयोग गरेका पदमार्गहरुलाई नेपाली सेनाले एकीकरण पदमार्गका रूपमा पहिचान, संरक्षण, सम्वद्र्धन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने गरी ६ वटा पदमार्ग पहिचान गरेको थियो । तत्कालीन समयमा विष्णु दल गणमा गणपति एवं प्रमुख सेनानी सुवास खड्का हुनुुहुन्थ्यो । विष्णु दल गण रसुवा जिल्लामा सरुवा भई रसुवा जिल्लाबाट कालीजंग गण धुलिखेलमा आएलगत्तै गणपति एवं प्रमुख सेनानी मिलन थापाले समन्वयात्मक बैठक आयोजना गरी पदमार्ग र पदयात्राका बारेमा जानकारी गराउनुभएको थियो ।

‘ऐतिहासिक गढी, किल्ला, एकीकरण मार्ग र कोटहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र सैनिक इतिहासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्गको पहिचान र पदयात्रा आयोजना गरिएको हो’, प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो– ‘सोही दिन नेपाली सेनाले धुलिखेल, देवीस्थान काभ्रेकोट, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती इन्द्रेश्वर मन्दिर हुँदै पनौती गेटसम्मको १० किलोमिटर यात्रा तय गरिएको छ ।’पदमार्गको ब्युटिफिकेसन गर्ने, काभ्रेकोट र शारदाकोट नजिक अस्थायी र स्थायी प्रकृतिको महिला पुरुष अलग–अलग रहेको शौचालय निर्माण गर्ने, पदमार्ग स्तरोन्नति गर्दै लैजाने, पदमार्गमा साइक्लिङको योजना रहेको उहाँको भनाइ छ । पृथ्वीनारायण शाहले १८०३ मा नगरकोट कब्जा गरी १८१६ मा पलाञ्चोक कब्जा गर्न प्रयोग गरिएको रुट, १८१८ असार ३० गते चौकोट विजयीका बेला प्रयोग गरिएको भमरकोट काभ्रेकोट सडक, १८१९ असोज २ गते तेमाल कब्जाको समयमा प्रयोग गरिएको सडक, १८२० कात्तिक १० गते पुनः चौकोट विजय र सोही दिन कोटखेल हुँदै धुलिखेल विजय हुँदा प्रयोग गरिएको रुट, १८२० कात्तिक ११ गते पनौती कब्जा गर्दा प्रयोग गरिएको सडक, १८२० कात्तिक १४ गते बनेपा साँगा नाला कब्जा गर्दा प्रयोग गरिएका सडकलाई ६ वटा पदमार्ग तय गरिएको छ ।

फागुन २९ गते पाँचौं नम्बरको रुट धुलिखेलदेखि पनौतीसम्मको पदमार्गमा पदयात्रा गरिने तयारी गरिएको छ ।धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पदमार्गहरुमा नेपाली सेनाले प्रयोग गरेका पुराना हातहतियार तथा देवीस्थानमा मिलिटरी म्युजियम बनाउन सुझाव दिनुभयो । त्यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने र पृथ्वीनारायण शाहको शालिक नगरपालिकाले तयार गरी आवश्यक स्थानमा राख्ने नगर प्रमुख ब्याञ्जुले बताउनुभएको छ । प्रमुख सेनानी सुवास खड्काले नेपाली सेनाले देशभर पदमार्गहरुको पहिचान गरिरहेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक ६ वटा किल्ला कब्जाको क्रममा प्रयोग गरिएका सडकहरुलाई पदमार्गका रूपमा पहिचान गरी त्यसको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।
पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले २९ गते आयोजना गरिने पदयात्राका लागि नगरपालिकाको तर्फबाट आवश्यक झाँकी तथा अन्य तयारीमा समन्वय गर्ने बताउनुभयो । सोही पदमार्गलाई पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिकरूपमा अगाडि बढाउन आवश्यक सहयोग गर्ने उहाँको कथन छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री, वडाध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, होटल तथा पर्यटन ब्यवसायी, उद्योग वाणिज्य संघलगायतका संघ–संस्थाहरुले पदयात्रा सफल बनाउँदै उक्त क्षेत्रलाई आवश्यक प्रचारप्रसार गर्न समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्