औलो प्रभावित क्षेत्रमा झुल वितरण गरिँदै



नेपाल समाचारपत्र, बैतडी ।

बैतडीका औलो प्रभावित तल्लोस्वराड क्षेत्रमा कीटनाशकयुक्त झुल वितरण गरिने भएको छ । स्वास्थ्य कार्यालयले औलो प्रभावित क्षेत्रमा कीटनाशकयुक्त झुल वितरणको तयारी गरेको हो । जिल्लाको पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका औलो प्रभावित वडाका घरधुरीलाई कीटनाशकयुक्त झुल वितरण गरिन लागेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका यी तीन स्थानीय तह औलोको उच्च जोखिममा रहेकाले कीटनाशकयुक्त झुल वितरण गरिन लागिएको छ । झुल वितरण गर्दा गर्भवती तथा सुत्केरी महिला भएका घरधुरीलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । हाल कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेकाले यो अभियान सकिएलगत्तै झुल वितरण गर्ने कार्यक्रम छ ।सन् २०१९ मा स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार बैतडीका तीन पालिकाका १० वडा औलोको जोखिममा रहेको देखाएको थियो । सोहीअनुसार औलो रोग मेलौली नगरपालिकाको वडा नं ६ र ७, पञ्चेश्वर गाउँपालिकाको वडा नं ३ र ४ र शिवनाथ गाउँपालिकाको वडा नं २ र ६ लाई औलाको उच्च जोखिम राखिएको छ । यस्तै, पञ्चेश्वर गाउँपालिका वडा नं २ र शिवनाथ गाउँपालिकाको वडा नं १, ३ र ४ लाई औलोको मध्यम जोखिममा राखिएको छ ।

जोखिमका आधारमा झुल वितरण गर्ने कार्य हुने त्यसका लागि सम्बन्धित पालिकामा झुल पठाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले सन् २०२२ भित्र औलाको स्थानीय संक्रमण शून्यमा झार्ने र सन् २०२५ भित्र औलो निवारण गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार जिल्लाका औलो प्रभावित क्षेत्रमा कीटनाशकयुक्त झुल वितरण भइरहेको बताइएको छ ।औलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो ।

मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेंलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छप्रायःजसो यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्