एक लाख अतिरिक्त तिरेपछि ‘पारिवारिक नातेदार’ पाइन्छ विदेशमा !



भूपराज बस्याल, काठमाडौं ।

अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ ।तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने पाइँदैन । सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।

विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउन कसरी सकिन्छ त? यसका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि भने नेपाली नागरिकको यात्रा अगाडि बढ्छ ।त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्। विमानस्थलमा हुने यस प्रकारको सेटिङलाई बन्द गरी भिजिट भिसामा सहजै यात्रा गर्न सकिने नयाँ नियम आउन लागे पनि नियम नआउँदासम्म भने विनासेटिङ विमानस्थलबाट यात्रुुले यात्रा गर्नसक्ने अवस्था छैन ।अध्यागमन विभाग प्रमुख रमेशकुमार केसीले ‘अब नयाँ नियम आएपछि भिजिट भिसामा यात्रा गर्न सहज हुनेछ’ भन्नुभएको छ । उहाँले भिजिट भिसामा सहजै छोड्दा लौ विदेश गएर नेपाली अलपत्र प¥यो भने अध्यागमन विभागले कुनै जिम्मेवारी लिनुपर्दैन भन्ने आलोचना आउने, अलि कडाइ गर्दा विचौलियाले कमाउने अवस्था सिर्जना भएको अवस्थालाई परोक्षरुपमा स्वीकार गर्नुभयो ।
तर उहाँले ‘सम्बन्धित देशले अमुक नागरिक उसको देश घुम्न योग्य भनेर भिसा प्रदान गरेपछि नेपालमा खासै कडाइ गर्न आवश्यक नभएको तर्क गर्दै भिजिट भिसाको दुरुपयोग गर्नेहरुले गर्दा केही कडाइ गर्नुपरेको हो भन्नुुभयो ।

वैदेशिक रोजगारीमा जानेहरुले राज्यलाई छल गरेर भिजिट भिसाको बाटो प्रयोग गर्ने हुँदा कडाइ गरिएको अध्यागमन प्रमुख केसीको तर्क थियो । भिजिट भिसामा गएर अलपत्र परेका खबरहरु आउने हुँदा पनि कडाइ गरिएको उहाँको भनाइ थियो ।वैदेशिक रोजगारीमा जानेहरुलाई भिजिट भिसाको बाटो प्रयोग नगरी सीधै कामदार भिसामा पठाउन सके यस्तो समस्या नआउने उहाँको तर्क छ । नेपालीहरु घुम्नका लागि भिजिट भिसामा जानुभन्दा पनि केही उद्देश्य लिएर मात्रै जाने हुँदा भिजिट भिसासँंगै भ्रमण उद्देश्य खुल्ने खालको छुट्टै डकुमेन्ट खोजिने पनि केसीले बताउनुभयो ।

‘जुन देशमा भ्रमणमा जान लागेको हो त्यहाँ आफ्नो कोही रगतको नाता भएको व्यक्ति हुनुपर्छ अथवा भ्रमणको उद्देश्य खुल्ने कुनै कागजपत्र आवश्यक पर्छ।’ –उहाँले खुलाउनुभयो ।अध्यागमनको भाषामा विदेशमा आफन्त नभएको कोही पनि भिजिट भिसामा विदेश जान सक्दैन तर भिजिट भिसामा दैनिक विदेश जानेको क्रम रोकिएको छैन । ‘सेटिङ’ मिलाइएको समूहले जस्तोसुकै व्यक्तिलाई पनि गन्तव्यमा नाताको व्यक्ति खडा गरी कागज तयार पारिदिन्छ ।अध्यागमनको हालको सिस्टम परिवर्तन नभएसम्म भिजिट भिसामा बिनासेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्ने अवस्था देखिँदैन’, सेटिङका लागि ७० हजार घूस खुवाएको दाबी गर्ने एक यात्रुले नेपाल समाचारपत्रलाई बताए– दुबईमा गएर मजदुरी नै गर्ने हो, कामदार भिसा पाउनसके हामीलाई भिजिट मिसा लिने कहाँ रहर छ र!’

प्रतिक्रिया दिनुहोस्