कोरोनाविरुद्ध मोर्चाबन्दी गर्ने स्वास्थ्यकर्मी र पत्रकार सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना महामारीविरुद्ध मोर्चाबन्दी गरी आम नागरिकलाई सघाउने स्वास्थ्यकर्मी तथा पत्रकारलाई शनिबार काठमाडौंमा स्वास्थ्य दपर्ण मिडिया नेटवर्क प्रालिले सम्मान ग¥यो ।प्रालिको ९औं वार्षिकोत्सवका अवसरमा आयोजित स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ बाट नेपाल समाचारपत्रका पत्रकार भगवती तिमल्सिनालाई नेपालको स्वास्थ्य पत्रकारिताको विधागत विकास र छापा पत्रकारितामार्फत स्वास्थ्य, शिक्षा र सेवाका क्षेत्रमा पु¥याएको महŒवपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माला तथा सम्मानपत्र दिएर सम्मान गर्नुभएको थियो ।सोही अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएवापत प्रदेश १ का वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, बागमती प्रदेशबाट वरिष्ठ रेडियोलोजिस्ट डा. पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिस्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा. सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि कार्यक्रममा नेता सिंहले सम्मान गर्नुभएको थियो ।कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र बागमती प्रदेश चितवन जिल्लाको इच्छा कामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, ई–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा नेता सिंहले देशको विषम परिस्थितिमा जनभावनाको कदर गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कडा परिश्रम गर्ने र जनचेनता फैलाउने अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई एकै थलोमा सम्मान गर्नुले समाजप्रतिको दायित्व अझ थप भएको महसुस गरेको बताउनुभयो ।उहाँले बोलेर मात्र हुन्न काम गरेर देखाउनुपर्छ भन्दै जनता जस्तो छ जनप्रतिधि त्यस्तै हुन्छ, जनप्रतिनिधि खराब हुनुमा भोटरर्सहरुको पनि केही कमी कमजोरी होला नि त । चुनावका बेला जसले खर्च गर्न सक्छ उसलाई जिताएर राम्रो मान्छेलाई हराएको परिणाम अहिले सरकारको नेतृत्व गरिरहेका नेताहरुले देखाएका छन् भन्नुभयो ।

सोही अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपालमा हरेक क्षेत्रमा मूल्यवृद्धि भइरहँदा सरकारले चिकित्सकहरुको तलब, भत्तालगायतका क्षेत्रमा विगत सात वर्षदेखि केही परिमार्जन गरेको छैन, हामीले पटकपटक चिकित्सक, स्वास्थ्यकर्मीको पारिश्रमिकमा परिमार्जन र स्वास्थ्य क्षेत्रका साथै स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि बेवास्ता गरेकै कारण नेपाल चिकित्सक संघ र निजीक्षेत्रबाट सञ्चालित अस्पताल सञ्चालकहरुको निर्णयले पारिश्रमिक तोक्दा आपत्ति मानिएको छ भन्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाली पत्रकारिताका क्षेत्रमा लकडाउनका शुरुका अवस्थामा सरकारको निकायबाट सही सूचना नआउँदा केही गलत सूचना आए र पत्रकारहरु अलमलिए र समाजमा केही अफवाहहरु पनि फैलिएको स्मरण गर्दै तत्कालै सच्चिएर पत्रकारहरुले काम गरेको बताउनुभयो ।

‘कोरोनाको महामारीमा सबैभन्दा पीडित भनेका पत्रकार थिए । यतिबेला रोजगारी धेरैले गुमाएका छन् र गाँस, बासको समेत प्रवाह नगरी काम गर्ने सञ्चार संस्था र सञ्चारकर्मीको मूल्यांकन गर्ने दायित्व सरकारको हुनुपर्छ । यतिबेला नेपालको सञ्चार क्षेत्र विडम्बनापूर्ण अवस्थामा गुज्रिएका छन्।’ –विष्टले भन्नुभयो ।सोही अवसरमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहले शुरुका दिनमा स्वास्थ्य पत्रकारहरुको भूमिकाकै कारण स्वास्थ्यका सूचना जनमानसमा पुगेको स्मरण गर्नुभयो ।स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालि भरतपुर, चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. पुकारचन्द्र श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्