भारतको ५३ करोड सहयोगमा धादिङ र सिन्धुपाल्चोकका २५ स्वास्थ्य चौकी पुनर्निर्माण हुने



न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारको ५३ करोड रुपैयाँ सहयोगमा नेपालमा २५ स्वास्थ्य चौकी पुनर्निर्माण हुने भएका छन् । पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले शुक्रबार चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जसमध्ये धादिङमा १२ र सिन्धुपाल्चोकमा १३ गरी जम्मा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेका हुन् । वि.स. २०७२ सालको भूकम्पले क्षति पु-याएका उक्त स्वास्थ्य चौकीहरु ५३ करोडको लागतमा पुनर्निर्माण हुनेछन् । काम सुचारु गर्न ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)बीच चारवटा ठेक्का सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

यी स्वास्थ्य चौकीको निर्माणका लागि भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) र रुड्कीले प्राविधिक सहयोग गर्ने भएका छन् । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता अनुसार १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेका हुन् । बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्