सुन्दर आँखा कस्तो हुन्छ ?



लक्ष्मण अधिकारी

कसैको सामुन्ने पर्दा सर्वप्रथम तपाईँको कुन अंगबाट अर्को व्यक्ति बढी प्रभावित हुन्छ होला, विचार गर्नु भएको छ ? कसैले स्टाइलिष्ट हेयरले, कसैले चंचले आँखाले, कसैले पंक्ति मिलेका दाँत त कसैले ओठले अरुलाई प्रभावित पार्न खोजिरहेका हुन्छन्, तर सर्वप्रथम बढी प्रभाव पार्ने खास अंग चाहिँ कुन हो त ?

विशेष गरी सेलिबे्रटीहरुले आफ्नो सुन्दरतामा वृद्धि गरी अरुलाई प्रभाव पार्न दाँत, ओठ र कपालको उपचार गरेका प्रसंगहरु बराबर चर्चामा आइरहन्छन् । चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले सर्जरीमार्फत आफ्नो लिप्सको आकार परिवर्तन गरेर चर्चामा आइन् । बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, ऐश्वर्या राय, अनुष्का शर्मा, शिल्पा सेठ्ठीले ओठ सर्जरी गराएर चर्चामा आए । यस्तै अधिकांश सेलिब्रेटीहरुले दाँत र कपालको प्रत्यारोपण गरेको चर्चा भइरहन्छ ।

तर आँखा सर्जरी गरेर सुन्दर बनाएको भने त्यति धेरै चर्चा भएको पाइँदैन, जब कि विश्वमा भएका विभिन्न अध्ययनले मानिसलाई सर्वप्रथम आँखाले बढी प्रभाव पार्ने निष्कर्ष निकालेको पाइन्छ । अमेरिकी मनोविज्ञ डानियल गिलले गरेको अध्ययनमा पुरुषले महिलाको आँखा त्यसपछि कपालबाट बढी प्रभावित भएको र ओठ–नाकलाई निकै कम महत्व दिएको पाए । यस्तै महिलाले पनि सर्वप्रथम पुरुषको आँखा, त्यसपछि कपालले नै बढी प्रभाव पार्ने र नाक तथा ओठको प्रभाव त्यो भन्दा कम रहेको बताएका थिए । महिलाले महिलाको अनुहारमा आँखा र कपाल बढी महत्वपूर्ण भएको बताए भने पुरुषले पुरुषको अनुहारमा पनि आँखा र कपाल नै बढी महत्वपूर्ण हुने बताएका थिए । प्रसिद्ध बृटिस पत्रिका डेली मेलमा प्रकाशित तथ्यअनुसार आफ्नो  जोडी छान्दा महिला र पुरुष दुवैले अनुहारका अरु अंगभन्दा आँखालाई नै बढी महत्व दिने गरेको बताए ।

विभिन्न अध्ययनहरुबाट पनि मानिसहरु जम्काभेट हुँदा सबैभन्दा पहिले आँखाको सौन्दर्यबाट प्रभावित हुने र त्यसपछि क्रमशः कपाल र दाँतको सौन्दर्यबाट भन्ने पाइएको छ ।

नेपालमा आँखाको प्लास्टिक सर्जरीसम्बन्धी पहिलो (एक बर्से फेलोसिप प्राप्त) विशेषज्ञ प्रा.डा. रोहित सैँजु भन्नुहुन्छ, ‘मानिसलाई तुरुन्तै राम्रो या नराम्रो प्रभाव छोड्ने अंग भनेको आँखा नै हो । कसैको आँखा देख्नासाथ स्वागत गरिरहेजस्तो, बोलौँ–बोलौँ, नजिक होऊँ जस्तो लाग्ने हुन्छन् भने कसैका आँखा देखेर भागौँ जस्तो, खतराको महसुस हुने खालका हुन्छन् । यस किसिमको भाव प्रकट गर्ने क्षमता शरीरको अरु कुनै पनि अंगमा हुँदैन ।’

अकुलोफेसियल प्लास्टिक सर्जरी विशेषज्ञ डा. रोहित सैँजु भन्नुहुन्छ, ‘विभिन्न अध्ययनहरुबाट पनि मानिसहरु जम्काभेट हुँदा सबैभन्दा पहिले आँखाको सौन्दर्यबाट प्रभावित हुने र त्यसपछि क्रमशः कपाल र दाँतको सौन्दर्यबाट भन्ने पाइएको छ । आँखाले दिने प्रभावबाट नै मानिस कसैसँग मनको भावना मिल्ने वा नमिल्ने, नजिकिने वा टाढिने आंकलन गर्छ । तर जे होस्, जुन आँखामा दृष्टि छैन त्यो आँखा जति राम्रो भए पनि सुन्दर मानिदैन । अर्थात् दृष्टि भएको आँखा नै उच्च स्तरको सुन्दर आँखा हो ।’ वास्तवमा आँखा मानिसको मुख्य इन्द्रिय र सौन्दर्यको परिचायक हो । अनुहारमा सबैभन्दा पहिले मानिसहरुले याद गर्ने चिज नै आँखा हो । सामुन्नेको व्यक्ति रिसाहा, मायालु, इष्र्यालु, रमाइलो, सहमत/असहमत कस्तो अनुभूति गरिरहेको छ भन्ने कुराको सर्वप्रथम भाव प्रकट गर्ने नै आँखा हो । साथै आँखाले मानिसको उमेरलाई पनि चिनाइरहेको हुन्छ ।

फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोले त्यसै भनेका होइनन्, ‘जब कुनै महिला तिमीसँग बोलिरहेकी हुन्छिन्, उनले खास के भन्न खोजेकी हुन् भन्ने कुराचाहिँ उनको आँखाको माध्यमबाट बुझ ।’ लगभग यस्तै विचार नर्वेका लेखक टारजेई भेसासको पनि छ । उनी भन्छन्, ‘यदि तिमीसँग आँखा छ भने प्रायः तिमीले केही भनिरहन जरुरी हुँदैन ।’ अर्का एक विचारक भन्छन्, ‘अनुहार मस्तिष्कको ऐना हो भने हृदयको ऐना आँखा हो, जसले नबोलीकनै हृदयको यथार्थता खुलस्त पारिदिन्छ ।’ मानिसको जीवनमा आँखाको उच्च महत्व भए पनि त्यहीअनुरुप मानिसले आँखाको सुन्दरता र स्याहारमा भने ध्यान दिएको देखिँदैन ।

आँखाले किन महत्व पाउँदैन ?

के नेपाली समाजमा आँखाको स्याहार र सौन्दर्यसम्बन्धी समस्या नै कम भएर प्राथमिकतामा नपरेको हो त ? तीलगंगा आँखा प्रतिष्ठान अर्बिट तथा अकुलोप्लास्टिक विभागका प्रमुख डा. रोहित सैँजु भन्नुहुन्छ, ‘आँखाको प्लास्टिक सर्जरीसम्बन्धी समस्या समुदायमा धेरै देखिन्छ, तर यसको उपचार हुने/नहुने वा कहाँ हुने भन्ने जानकारी नभएका कारण धेरै बिरामीहरु उपचारप्रति उदासीन बनेको पाइन्छ । यदि कसैलाई आफ्नो आँखा थप सुन्दर बनाउन सकिन्थ्यो कि भन्ने लागेमा अकुलोफेसियल प्लास्टिक सर्जनकहाँ गएर परामर्श लिन सकिन्छ ।’

डा सैंजु भन्नुहुन्छ, ‘नेपालमा आँखाको सौन्दर्यको महत्व त प्रायः सबैले बुझेकै जस्तो लाग्छ तर यससम्बन्धी प्रचारप्रसारमा कमी हुनु र आँखाको सौन्दर्यसम्बन्धी विशेषज्ञहरु पनि नेपालमा कम भएका कारण दाँत र केश सौन्दर्यको जस्तो चर्चा नभएको हुन सक्छ । अर्कोतिर नेपालमा दृष्टि नहुनुचाहिँ ठूलो समस्या भएका कारण सर्वसाधारण र चिकित्सकहरुले पनि दृष्टि उपचारमा बढी ध्यान दिएको हुन सक्छ । तर विकसित देशमा चाहिँ दृष्टिसम्बन्धी समस्या तुलनात्मकरुपमा कम हुने भएकोले सौन्दर्यसम्बन्धी कामको प्रचार पनि हुन्छ । आँखामा दृष्टि दिन सकियो भने उसको जीवनमा ठूलो परिवर्तन आउँछ । त्यसकारण पनि दृष्टि क्षमतासम्बन्धी उपचार हाम्रो एक नम्बर प्राथमिकतामा पर्छ भने कस्मेटिक दोस्रोमा पर्छ । अहिले नेपालमा आँखाको अकुलोप्लास्टिक सर्जनहरुले आँखाको दृष्टि र अन्य विभिन्न रोगहरुको उपचार धेरै र सौन्दर्यसम्बन्धी उपचार थोरै भाग मात्र गरेको पाइन्छ ।’

यसरी हुन्छ सुन्दरता वृद्धि

जन्मिदा सबैको आँखा प्रायः सुन्दर नै हुन्छ, तर पछि विभिन्न कारणले रुप खस्किँदै जान्छ । यसरी रुप खस्किएको आँखालाई फेरि सुन्दर बनाउने कुनै उपाय छ कि ?

दृष्टि द भिजन आई सेन्टरका प्रमुखसमेत रहनुभएका डा. सैँजु भन्नुहुन्छ, ‘आँखाको सुन्दरतामा विभिन्न कारणले परिवर्तन आउँछ । सबैले भोग्नै पर्ने भनेको उमेर परिवर्नन नै हो । २० वर्षको उमेरमा आँखामा जुन चमक हुन्छ त्यो ४०–४५ वर्ष पुगेपछि अलि थकितजस्तो र ६० तिर लागेपछि अलि रोगीजस्तो देखिन्छ । त्यस्तै विशेष गरी डायबिटिज, ब्लडप्रेसर, थाइराइड, मिर्गौलाको रोगहरुका कारण पनि आँखाको बाहिरी र भित्री बनावटसम्म असर पारेको हुन्छ । यसमा पनि आँखाको बनावट र सुन्दरतामा तुरुन्तै फरक ल्याइदिने भनेको थाइराइड आई डिजिजले हो । यसका कारण आँखा अस्वाभाविक किसिमले ठूलो हुने, आँखाको डिलहरु सुन्निने, टेढो हुने र आँखाको डल्लो बाहिर निस्किँदै जाने हुन्छ । साथै आँखा रातो भइरहने, बिजाउने, दृष्टिमा ह्रास आउने हुन्छ । त्यसकारण बिरामीका लागि थाइराइड आई डिजिज ठूलो समस्याको रुपमा रहेको छ ।’

यसको उपचार गरेर आँखा सुन्दर बनाउने सम्बन्धमा डा. सैँजु भन्नुहुन्छ, ‘यस्तो समस्यामा ‘आँखाको सुन्दरता वृद्धि गर्न सर्वप्रथम थाइराइडलाई नर्मल गरेपछि आँखाको विशेष उपचार गरिन्छ । बाहिर निस्केको आँखाको डल्लोलाई भित्र पठाउन आँखा बस्ने अर्बिट वा हड्डीको खोपिल्टो ठूलो बनाउने, आँखाको पछाडिको बोसो निकाल्ने गरिन्छ । आँखाको डल्लो बस्ने ठाउँ ठूलो भएपछि आँखा अलि भित्र जान्छ । कसैको आँखा सुन्निएर माथि तानिएको छ भने त्यसलाई तल मिलाउनुपर्ने हुन्छ । डेढो भएको आँखालाई केही हदसम्म सीधा गरेर सुन्दर बनाउन सकिन्छ ।

यस्तै गरी डायबिटिजले अनुहारमा उमेरभन्दा चाँडो बुढ्यौली देखिने हुन्छ । आँखाको डिल चाँडै झोलिने हुन्छ । आँखामा मोतिविन्दु चाँडै देखिने र दृष्टिमा ह्रास आउने हुन्छ । अनियन्त्रित डायबिटिज लामो समयसम्म भयो भने आँखाको रगतका नसाहरु फुटेर रगत जम्ने र दृष्टिमा उल्लेख्य ह्रास आउने हुन्छ । यसमा सर्वप्रथम डायबिटिज नियन्त्रण गर्नुपर्छ । त्यसपछि सर्जरी (ब्लेफारोप्लास्टी) गरेर झोलिएको छाला तन्काउने र बोसो निकाल्ने काम गरी आँखाको स्वाभाविक र सुन्दर स्वरुप बनाउने प्रयास गरिन्छ । उमेरको कारण आँखावरिपरिका छाला तथा डिल झोलिने समस्यालाई पनि यसै विधिबाट समाधान गरिन्छ ।’

‘सौन्दर्य प्रसाधनको हिसाबले अकुलोफेसियल प्लास्टिक सर्जनले बढी गर्ने अपरेसन भनेको ब्लेफारोप्लास्टी सर्जरी नै हो । यो आँखाको डिललाई तन्काउने, आँखाको झोलिएको छाला र बोसो हटाउने, सुन्दर र आकर्षक आँखाको पुनप्र्राप्ति गर्ने अपरेसन हो । संसारमै धेरै गरिने आँखाको सौन्दर्यसम्बन्धी अपरेसनमा यो पर्छ । नेपालमा पनि आँखाको डिलसम्बन्धी समस्या धेरै छ । हामीले पनि यो अपरेसन दशकौँदेखि निरन्तर गरिरहेका छौँ । यो समस्या कतिपयको जन्मजातै हुन्छ भने कतिपयको पछि आएर हुन्छ । आँखाको डिलको ढकनी तल झर्दै गएर आँखा खोल्न नसक्ने हुँदै जान्छ । आँखाको डिललाई स्थिर राख्ने मांसपेशी कमजोर भएर पनि आँखाको डिल तल झर्ने हुन्छ । आँखाको शल्यक्रिया गरेर उपचार गरिन्छ ।’

हाल शहरीकरणको वृद्धिसँगै दुर्घटनाको कारण आँखाको वरिपरिको चोटपटक, आँखाको क्यान्सर पनि बढी देखिन थालेको छ । यसको उपचार गरेर आँखाको दृष्टि र सुन्दरता वृद्धि गर्नेलगायत सामान्य आँखाको सौन्दर्य बढाउने कस्मेटिक सर्जरी पनि आफूहरुले धेरै वर्षदेखि गरिरहेको डा. सैंँजु बताउनुहुन्छ । वंशाणुगत गुणका कारणले जन्मदेखि नै भएको आँखा कसैलाई सुन्दर लागेन भने त्यसलाई प्लास्टिक सर्जरीमार्फत मोडिफिकेसन गरेर ठूलोलाई सानो र सानोलाई ठूलो बनाउन सकिन्छ ।

डा. सैँजु भन्नुहुन्छ, ‘नेपालमा हाल कम उमेरमा मंगोलियन साना आँखालाई ठूलो बनाउने धेरै छन् भने ६० वर्ष काटेका मानिसहरुमा चाहिँ आँखाको माथिको छाला र बोसोको लोती झरेर आँखा नै ढाकिने गरी तल आएको हुन्छ, तिनलाई काट्ने र तन्काउने काम गरिन्छ । युवा अवस्थामा ठूलो देखिने आँखा उमेर बढ्दै गएपछि सानो र चिम्सो हुँदै आउँछ । आँखाभित्रको बोसो र हड्डीहरु पनि उमेर बढ्दै गएपछि खुम्चिने हुन्छ । यसले गर्दा आँखाको डल्लो भित्र धकेलिने र सानो देखिने हुन्छ । हामी यसको पनि उपचार गर्छौं ।’

आँखाले दिने प्रभावबाट नै मानिस कसैसँग मनको भावना मिल्ने वा नमिल्ने, नजिकिने वा टाढिने आंकलन गर्छ । तर जे होस्, जुन आँखामा दृष्टि छैन त्यो आँखा जति राम्रो भए पनि सुन्दर मानिदैन । अर्थात् दृष्टि भएको आँखा नै उच्च स्तरको सुन्दर आँखा हो ।

– प्रा.डा. रोहित सैंजु

आँसु बगिरहने महिला धेरै

आँखा चिकित्सकहरुका अनुसार नेपालमा आँसुको नलीसम्बन्धी समस्या धेरै छन् । ४० कटेका मानिसहरु त्यसमा पनि विशेष गरी महिलाहरुमा एकनासले आँसु आइरहने, पुछिरहनुपर्ने र उपचार नहुँदा फोहोर पनि आउने समस्या धेरै छ । आँखाबाट आँसु बगिरहने, कचेरालगायतका फोहोर आइरहने हुँदा आँखामा अप्ठ्यारो भइरहने र दृष्टिमा पनि समस्या हुने गर्छ । साथै आँखाको सौन्दर्य पनि बिग्रिन्छ । आँसुको नली बन्द भएर हुने यस किसिमको समस्याको उपचार अकुलोफेसियल प्लास्टिक सर्जरीअन्तर्गत नेपालमै हुन्छ । तर यससम्बन्धी उपचारबारे जानकारीको अभावमा धेरै बिरामीहरु जीवनभर पीडा भोगिरहन्छन् ।

यससम्बन्धी विशेषज्ञ डा. रोहित सैँजु भन्नुहुन्छ, ‘नेपालमा आँसुको नली बन्द हुने समस्या एकदमै धेरै छ । ४० वर्ष नाघेका र आँसुको नली बन्द भएका बिरामीको दैनिक तीन–चारवटा अपरेसन हाल तिलगंगा अस्पतालमा हामीले गर्ने गरेका छौँ । अरु आँखा अस्पतालमा पनि यस्तै अनुपातमा हुन्छ ।’ उहाँका अनुसार सामान्यरुपमा आँसु आँखाबाट नलीमार्फत घाँटीतिर बगेर जाने एक प्रणाली छ । यो नली कुनै कारणले साँघुरो भयो वा बन्द भयो भने आँखाबाट आँसु बाहिर पोखिन्छ र नाकको छेउबाट झरिरहन्छ । जसले गर्दा आँखामा अप्ठ्यारो हुने, आँखा धमिलो हुने भइरहन्छ । महिलाहरुको आँखाको बनौट पुरुषको तुलनामा अलि फरक अर्थात् अलि घुमाउरो र साँघुरो भएकोले महिलाहरुमा यो समस्या बढी देखिएको छ । आँसुनली बन्द भएर हुने यो समस्या अपरेसनबाट करिब पूर्णरुपमा नै ठीक हुन्छ । बगिरहेको आँसु लिएर आएका ९५ प्रशित बिरामी हाँसो लिएर जान्छन् र पाँच प्रतिशत जतिको दोहो¥याएर अपरेसन गर्नुपर्ने हुन सक्छ तर प्रायः सबैलाई नै ठीक हुन्छ ।

उपचार कि काउन्सिलिङ ?

सौन्दर्य प्रसाधनको सन्दर्भमा मानिसहरुले वास्तविकताभन्दा निकै बढी महत्वाकांक्षा राखेर क्लिनिकमा आउने गरेको गुनासो डा. सैंजुको छ । डा. सैँजु भन्नुहुन्छ, ‘इन्टरनेट वा अरु कुनै माध्यमबाट मेरो बारेमा थाहा पाएर आउनेमध्ये धेरै मानिसको अपेक्षा अति नै उच्च हुने गरेको छ । उनीहरु यो डाक्टरले जे पनि गर्न सक्छ भन्ने भावना लिएर आउँछन् र फलानो हिरो वा हिरोइनको जस्तो आँखा बनाइदिनुपर्‍यो भनेर कर गर्छन् । उनीहरुको अपेक्षा एकदमै उच्च हुन्छ । वास्तवमा जतिसुकै गरे पनि एउटा मानिसलाई अर्को मानिसजस्तो दुरुस्त बनाउन संसारमा कतै पनि सकिन्न । ऊसँग भएकै आँखालाई आकर्षक बनाउने कार्य हामीबाट हुन्छ । तर अर्कोको जस्तै आँखा बनाउने अपेक्षा गरेर आएकोलाई उपचारभन्दा पनि काउन्सिलिङकै जरुरत हो भन्ने हाम्रो निष्कर्ष रहन्छ ।’

आफ्नो बच्चालाई केही पनि भएको छैन भन्ने लागे पनि पहिलो वर्ष आँखा जँचाउनुपर्छ । डाक्टरले मिसिनमार्फत जाँचेर मात्र आँखाको दृष्टि, आँखाको बनावट स्थिति के छ भन्ने कुरा धेरै हदसम्म ठम्याउन सकिन्छ र त्यसैअनुसार उपचारको योजना गर्न सकिन्छ ।

दृष्टि नभए पनि सुन्दर

भनिन्छ, ‘आँखाको जीवन भनेकै दृष्टि हो ।’ त्यसैले पनि आँखा चिकित्सकहरुले दृष्टिलाई पहिलो प्राथमिकता दिएका हुन्छन् । तर दृष्टि क्षमता नभएका आँखाहरुको पनि सौन्दर्य मूल्य भने उच्चस्तरको हुन्छ । दृष्टि क्षमता आउन नसक्ने अवस्थामा पनि आँखालाई दुरुस्त अवस्थामा राख्नु महत्वपूर्ण हुन्छ । त्यसैले चिकित्सकहरुले आँखामा दृष्टि नभए पनि स्पष्ट आँखाको स्वरुप बनाइदिने गर्छन्, जुन अरुले सामान्यतया थाहा पाउँदैनन् ।

डा. सैँजु भन्नुहुन्छ, ‘एउटा आँखा नहुँदा हीनताबोध भएर धेरै मानिस हामीकहाँ आउँछन् । यस्ता मानिसलाई दृष्टि प्रदान गर्न त सक्तैनौँ तर हामीले हेर्दा तुलनात्मकरुपमा उस्तै खालको आँखा बनाउने कोशिशचाहिँ गर्छौं । सर्जरी गरेर आँखाको पुनस्र्थापना गर्न सकिन्छ । कृत्रिम आँखालाई चलायमान हुने गरी ठाउँ बनाइएर राखिएको हुन्छ, जुन अलि–अलि चल्छ । आँखा खुल्ने, बन्द हुने हुन्छ र हेर्दा पनि राम्रो देखिन्छ । कृत्रिम आँखा भन्ने कुरा अरुले सहजै थाहा पाउन सक्तैनन् । यसो गरिदिँदा बिरामीभित्रको आत्मविश्वास बढेको अनुभव गरेका छौँ ।’

आँखाको दृष्टि तथा सुन्दरता बचाउनका लागि बाल्यकालदेखि नै आमाबाबुले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । डा. सैँजु भन्नुहुन्छ, ‘बच्चा जन्मिएको पहिलो वर्षमा एकपटक आँखा जँचाउनुपर्ने हुन्छ । यस बेला बच्चाले रुनेबाहेक आफ्नो कुनै कुरा बताउन सक्तैन । आफ्नो बच्चालाई केही पनि भएको छैन भन्ने लागे पनि पहिलो वर्ष आँखा जँचाउनुपर्छ । डाक्टरले मिसिनमार्फत जाँचेर मात्र आँखाको दृष्टि, आँखाको बनावट स्थिति के छ भन्ने कुरा धेरै हदसम्म ठम्याउन सकिन्छ र त्यसैअनुसार उपचारको योजना गर्न सकिन्छ । साथै आँखामा चोटपटक वा कुनै रोग लाग्दा तुरुन्तै उपचार गरेमा धेरै हदसम्म आँखाको दृष्टि र सुन्दरता बचाउन सकिन्छ । हाम्रो प्रमुख उद्देश्य भनेको आँखाको दृष्टि नै हो, त्यसपछि सौन्दर्यको कुरा हुन्छ । हामी दृष्टि पुनस्र्थापना गरेर मानिसले जीवन नै परिवर्तन भएको अनुभूति गराउन चाहन्छौँ ।’

आममानिसले धेरै महत्व नदिए पनि आँखाको महत्व दृष्टि र सौन्दर्य दुवैमा छ । आँखाले आफ्नो लागि हेर्ने मात्र नभई आफूभित्रको भाव प्रकट गर्ने र सञ्चार गर्ने गर्दछ । एकजना विचारक विलियम हेनरीले भनेका छन्, ‘कुनै कुरा ओठले भन्न डरायो भने आँखाहरु चिच्याउँछन् ।’ अर्का एक विचारक भन्छन्, ‘महिलाको सुन्दरता उनको आँखाबाट देखिन्छ, किनकि उनका आँखा नै मुटुको प्रवेशद्वार हुन् ।’

यी तथ्य तथा भनाइहरुले आँखाको दृष्टि र सौन्दर्य मूल्यलाई धेरै हदसम्म बुझाउँछ । जे भए पनि सबैभन्दा सुन्दर आँखा त्यही हो, जसले अरुलाई सुन्दर देख्छ ।

प्रतिक्रिया दिनुहोस्