बजेट अभावमा नाग्म–गमगढी सडक स्तरोन्नति प्रभावित



मुगु, (नेस)

बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । संघीय सरकारले सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख रुपियाँ विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड रुपियाँ छुट्याएको थियो । रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको छ । ‘लागत अनुमानअनुसार काम भएको छैन’, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारी भन्नुहुन्छ– ’बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।’बजेट अभावले ठेकेदारलाई १२ करोड रुपियाँ भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । यस सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि २० करोड रुपियाँ आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयबासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको स्थानीयबासी पदम महतले बताउनुभयो ।

चालू आवमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको प्रमुख भण्डारीले बताउनुभयो । मुगुको गमगढीबाट कालीकोटको नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ र थोकेर, हीरा र नमिता खड्का, कृष्ण र गाल्वा बानियाँ तथा शङ्कर निर्माण सेवाले लिएका छन् । चालू आवभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

चालू आवमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङ्लासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो ।यसका लागि ८० करोड रुपियाँ आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । यो सडक कालोपत्र गर्न संघीय सरकारसँग ३ अर्ब रुपियाँ बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न शुरु भएको नाग्मा–गमगढी सडक नौ वर्षपछि सरकारले स्तरोन्नतिको काम शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्