रियलद्वारा एट्लान्टा पराजित



लन्डन, (एजेन्सी) ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिडद्वारा एट्लान्टा १–० गोलअन्तरले पराजित भएको छ ।इटालियन सिरी ‘ए क्लब एट्लान्टाको खेल मैदानमा करिम बेन्जेमाबिना उत्रिएको रियलका तर्फबाट फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो ।

उनले लुका मोड्रिचको पासमा उक्त गोेल गरेका थिए । त्यसअघि खेलको १७औं मिनेटमा मेन्डीलाई नै गोल गर्ने अवसरमा अघि बढ्दा लडाएपछि एट्लान्टाका रेने फ्रुएलरले रातो कार्ड पाएका थिए ।दस खेलाडीमा सीमित भएपछि एट्लान्टा खेल अवधिभर दबाबमा रहेको थियो । खेलको अन्तिम समयतिर गोल बेहोरेपछि अब एट्लान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । रियलले अब दोस्रो लेगमा बराबरी मात्र खेले पनि क्वार्टरफाइनलको यात्रा तय गर्नेछ ।

बुधबार राति नै भएको अर्को खेलमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले पनि च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।सिटीले जर्मन क्लब बोरूसिया मन्छेनग्लाडबाखलाई २–० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक–एक गोल गरे । जर्मन क्लबविरूद्ध खेलको २९औं मिनेटमा सिल्भाको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ६५औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । जितसागै सिटीले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । मन्छेनग्लाडबाखलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नुपर्ने भएको छ । सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल सिटीको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्