एक नम्बरको प्राथमिकतामा प-यो आलु



न्युज अफ नेपाल, हेटौंडा ।

जिल्लाका स्थानीय तहहरुबाट प्राप्त तथ्यांकका आधारमा मकवानपुरमा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरिएको छ । दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथोमा धान र पाँचौंमा अदुवा/बेसारलाई प्राथमिकीकरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो प्राथमिकीकरण गरेको हो ।

स्थानीय तहका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्यांकका आधारमा जिल्लामा खेती भइरहेका बाली तथा पशु व्यबसायको प्राथमिकीकरण गरिएको छ । उत्तरी मकवानपुरको थाहानगर (पालुङ) आलुको राजधानी नै मानिन्छ । जहा“ आलुखेती निकै फष्टाउने गर्दछ । किसानको मेहनत अनि मौसमले समेत साथ दिने भएका कारण उक्त क्षेत्रमा आलुखेती फष्टाउने गरेको हो । उक्त क्षेत्रमा हरेकका बारि र खेतमा आलुको हरियाली देख्न सकिन्छ ।

थाहानगरका विभिन्न टोल र गाउँका सबै फाँटमा आलु खेतीले पालुङलाई थप सुन्दर बनाउने गर्दछ । सुपरजोन सिफारिसपछि थाहानगरपालिका हरेक क्षेत्रमा आलुखेती गरेका किसान आलु उत्पादनमा वृद्धि हुनेमा आशावादी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् मकवानपुरमा तरकारी सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको हो । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले तरकारी जोनलाई सुपरजोनमा सिफारिस गर्ने निर्णय गरेपछि स्थानीय किसान उत्साहित भएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरेको हो । बैठकले ४ वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी जोनको कार्यक्षेत्र थाहानगर वडा–१ देखि १२ सम्म ६ सय हेक्टर र इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा ४ सय ५० हेक्टर गरी १ हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनमा सिफारिस गरेको छ ।

सुपरजोनका लागि जिल्ला समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने उहाँले बताउनुभयो ।
उत्तरी मकवानपुरको चिसो क्षेत्रका किसान आफ्नै धुनमा मस्त छन् । कृषिकर्ममा रमाइरहेका छन् उनीहरु । हाल थाहानगर क्षेत्रलगायत माथिल्लो भेगका किसानलाई आलु रोप्ने चटारो छ । उक्त क्षेत्रमा आलुखेती २०१८ सालदेखि सुरु गरिएको स्थानीयको भनाइ छ ।

थाहानगरका किसान हिजोआज आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारिमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त देखिन्छन् । उनीहरुले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो बिगार्ने र आलु खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरु बताउँछन् ।

‘नगरका १२ वटै वडाका बासिन्दा आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिका कृषि विकास अधिकृत सञ्जय तिवारीले भन्नुभयो–कसैलाई बोल्ने फुर्सद्सम्म छैन । स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । किसानले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरेज्योति जातका आलुका बीउ लगाउने गरेका छन् । उत्तरी क्षेत्रमा पर्ने थाहानगरका बासिन्दाको मुख्य आम्दानी स्रोत नै आलुखेती हो । नगरका मेयर लवशेर बिष्टले नगरपालिकाले आलुबाट मात्र वार्षिकरुपमा ५७ देखि ६० लाख रुपियाँ राजस्व संकलन गर्ने बताउनुभयो ।

त्यहाँबाट निर्यात हुने आलुलगायत तरकारीमा लामो समय अघिदेखि स्थानीय कर लगाइँदै आएको छ । २०३१ सालदेखि दामन÷पालुङमा आलुमा कर लगाउन सुरु गरिएको थियो । त्यही करबाट संकलन भएको रकम उक्त क्षेत्रको शैक्षिक विकास एवम् भौतिक पूर्वाधारका निम्ति खर्च गरिँदै आएको छ । उक्त कर हाल थाहा नपाले लगाउने गरेको छ ।

आलु लेकाली क्षेत्रको मुख्य बाली हो । तराई तथा बेंसीमा फलेको आलुभन्दा लेकमा फलेको आलु निकै स्वादिलो र पौष्टिक मानिन्छ । आलुमा प्रोटिन, कार्बोहाइडे«ड, आइरनलगायत तत्व पाइन्छ । त्यसैले आलुलाई तरकारीका रुपमा मात्र होइन, खानाको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट व्याबसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यअनुसार कार्यक्रम सञ्चालित छ । कार्यक्रमअन्तर्गत् साना व्यबसाय कृषि उत्पादन केन्द्र (पकेट), व्याबसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्याबसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपरजोन) का रुपमा वर्गीकरण गरी कृषि सम्बन्धि कार्यक्रम सञ्चालन हुने गरेका छन् । कार्यक्रममार्फत् किसानलाई प्राविधिक, साना सिचाईं, उत्पादन सामग्रीलगायतमा सहयोग गर्ने गरिए छ ।

प्रतिक्रिया दिनुहोस्