बायर्न म्युनिखको फराकिलो जित



लन्डन, (एजेन्सी) । 

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन सिरी ‘ए’ क्लब लाजियोलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

जियोको घरेलु मैदानमा बायर्नले ४–१ को सानदार जित निकालेका हो । खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । यो समेत गरी उनले च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या ७२ पु¥याएका छन् । योसँगै च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा उनी समग्रमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीपछि तेस्रो स्थानमा उभिएका छन् ।त्यस्तै, खेलको २४औं मिनेटमा लिओन गोरेट्जकाको पासलाई सदुपयोग गर्दै जमाल मुसियालाले बायर्नको अग्रता दोब्बर पारे । १७ वर्षीय इंग्लिस मिडफिल्डरले उक्त गोल गरेसँगै यस प्रतियोगितामा गोल गर्ने बायर्न तथा इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् ।

त्यसैगरी, लेरोय सानेले पहिलो हाफ सकिन ३ मिनेट बाँकि हुँदा अर्को गोल थपे । कोमानको प्रहारलाई गोलरक्षक रेइनाले बचाएपछि रिबाउन्डमा सानेले गोललाई जालीभित्र छिराएका थिए । त्यस्तै, दोस्रो हाफको ४७औं मिनेटमा सानेकै प्रहार डिफेन्डर फ्रान्सेस्को अचेरबीलाई लाग्दै आत्मघाती गोल हुँदा बायर्न ४–० ले अघि बढ्यो । एन्जल कोर्रियाले ४९औं मिनेटमा एक गोल फर्काए पनि लाजियोको हार टार्न भने पर्याप्त भएन । यी दुईबीच अब दोस्रो लेगको खेल १७ मार्चमा हुनेछ ।मंगलबार राति नै भएको अर्को खेलमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलको मद्दतमा चेल्सीले पनि राउन्ड अफ १६ को पहिलो लेगमा जित दर्ता गराएको छ । चेल्सीले स्पेनिस क्लब एट्लेटिको मेड्रिडलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

जिरुडले खेलको ६८औं मिनेटमा ओभरहेड किकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । रेफ्रीले शुरुआतमा उक्त गोललाई अफसाइड माने पनि पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा गोलको मान्यता दिएका थिए । यस जितले चेल्सीका नवनियुक्त प्रशिक्षक थोमस टुचेलको अपराजित म्याच संख्या ८ पुगेको छ । कोरोना संक्रमणका कारण स्पेनबाट रोमानियामा सारिएको यस खेलमा चेल्सीले राम्रो शुरुआत गरेको छ । अवे गोल गरेका कारण चेल्सीलाई अब घरेलु मैदानमा हुने दोस्रो लेगमा बराबरी मात्र गरे पनि अर्का चरण पुग्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्