महिला स्वयंसेविका सम्मानित



ओखलढुंगा, (नेस) ।

सुनकोसी गाउँपालिकाले पालिकामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ । पालिकाले फाल्गुन ७ गतेदेखि १० गतेसम्म पालिकाका सबै वडाको स्वास्थ्य कार्यलयमा कार्यक्रम गरी स्वयंसेविकाहरूलाई सम्मान गरेको हो ।

पालिकामा रहेका ७१ वटा आमा समूहका ७१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको सुनकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्र कटवालले बताउनुभयो । नेपाल सरकारले प्रदान गर्ने पोशाकभत्ता १० हजार र यातायात खर्चबापतको ३ हजार गरी १३ हजार र सुनकोसी गाउँपालिकाले सम्मानस्वारूप १५ हजार थप गरी एक जना स्वयंसेविका बराबर एकमुस्ट २८ हजार रुपियाँ प्रदान गरी सम्मान गरेको छ ।

सम्मानित हुने स्वयंसेविकालाई नगदसँगै प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो । स्वास्थ्य स्वयंसेविकाले गरेका कामको उच्च मूल्याङ्कन गरेर सम्मान गरेकोमा स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल उच्च हुनुका साथै सम्पूर्ण पालिकाभर रहेका महिलाहरुको उच्च सम्मान भएको पालिकास्तरीय आमा समूह सञ्जाल सुनकोसीका अध्यक्ष सरस्वती अधिकारी बताउनुहुन्छ ।
स्वयंसेविकाको योगदानको कदर गरेर सम्मान गरेकाले थप काम गर्नका लागि हौसला मिलेको सुनकोसी गाउँपालिका–८ का स्वास्थ्य स्वयंसेविका बुधकुमारी धमलाले बताउनुभयो ।

निःस्वार्थरूपमा खटिएका स्वयंसेविकाहरुलाई राज्यको तर्फबाट कुनै सम्बोधन नभएकाले सम्मानस्वरूप गाउँपालिकाले विगत तीन वर्षदेखि स्वयंसेविकाहरुलाई सम्मा गर्दै आएकोे सुनकोसी गाउँपालिका अध्यक्ष रुद्र अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्