जाल्टनमा ३९ वर्षमा पनि युवा खेलाडीको जोश



मिलान, (एजेन्सी) ।

जाल्टन इब्राहिमोभिचले उमेर ३९ वर्षमा टेके पनि फुटबलमा शानदार खेल देखाइरहेका छन् । त्यसैले होला उनले जति उमेर ढल्कँदै गयो त्यति नै उत्कृष्ट खेल पस्किरहेको बताइरहेका छन् । उनले जारी सिजन २०२०–२१ मा १२ लिग खेलबाट १४ गोल गरिसकेका छन् ।

स्विडिस लिजेन्ड फुटबलर जाल्टन एसी मिलानबाट खेलिरहेका छन् । उनी यो इटालियन सिरी ‘ए’ टिमका लागि दोस्रो पटक खेलिरहेका हुन् । यसअघि, २०११ मा १८ औं सिरी ‘ए’ उपाधि दिलाउन उनको भुमिका महत्वपूर्ण रहेको थियो । त्यतिबेला उनले ६१ लिग खेलबाट ४२ गोल गरेका थिए । यसको अर्को वर्षमा भने टिम दोस्रो स्थानमा रहेको थियो ।८ वर्षपछि जाल्टन मिलान शहरमा फर्के पनि उनको प्रदर्शनमा कुनै कमी कमजोरी भेटिएको छैन । उनी टिममा आउँदा मिलान अंकतालिकाको ११औं स्थानमा थियो । उनले शुरूका १६ खेलबाट १० गोल गरे र टिम छैटौं स्थानमा रहेर युरोपा लिगको लागि छनोट भएको थियो ।हाल सिरी ए मा जाल्टन १४ गोलसहित गोल स्कोरर सूचीमा दोस्रो स्थानमा छन् । पहिलो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो र इन्टरमिलानका रोमेलु लुकाकु छन् । उनीहरूले समान १६ गोल गरेका छन् । उनको गोल औसत १ दशमलव १७ मा रहेको छ

घडीको मिनेटको हिसाबले हरेक ६९ मिनेटमा जाल्टनले एक गोल गरेका छन् । यो युरोपका शीर्ष पाँच लिगमा राम्रो औसत हो । जर्मनीको बुन्डेसलिगा क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इटालियन क्लब एटालान्टाका लुइस मुरिएलको राम्रो समय औसत गोल रहेका छन् । लुइसले यस सिजनमा २० लिग खेलमा केवल ७ गोल गरेका छन् ।जाल्टनले उमेर गएपछि रिटायर्ड भएर कोचिङ गर्ने वा टेलिभिजन स्टुडियोमा बस्ने कुनै मन नभएको बताएका छन् । उनलाई तन्दुरुस्त बनाउन डाइटको पनि महत्वपूर्ण भूमिका रहेको छ । एक पटक स्पेनीस फुटबल विज्ञ गुइलर्न बालगेले बीबीसी युरो लिगमा बताएका थिए—उनले फलफुल र सागपात तथा सेतो मासुको कुरा गरिरहेका छन् । उनले तेक्वान्दोमा पनि अलिअलि अभ्यास गरेका छन् । उनले जनवरीमा आउँदा नै भनेका थिए–‘यदि म पूरै वर्ष यहाँ रहेमा हामीले लिग जित्नेछौं । यसमा हरेकले ठूलो कुरा गरेको भनेर उडाए तर हेर्नुस अहिले उनीहरू कहाँ छन् ।’

जाल्टन सिरी ‘ए’ फुटबलको इतिहासमा पाँचांै पाको सेन्टर फरवार्ड हुन् । उनले इटालो रोसीको कीर्तिमान तोड्न पनि सक्नेछन् । हालसम्म रोसी सिरी ‘ए’ फुटबलमा सबैभन्दा पाको उमेरमा खेल्ने खेलाडी हुन् । उनले १९५१ मा ५२ वर्ष ११ महिना र ३ दिनको उमेरमा प्रो पाट्रियाको लागि खेलेका थिए । तर, जाल्टन आधुनिक फुटबलमा सर्जियो पेलीसीएर र फ्रान्सेसको टोटीको कीर्तिमान भंग गर्न निकट छन् । उनीहरूले सिरी ‘ए’ मा ४० वर्षको उमेरमा क्रमशः किएभो र रोमाका लागि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्