५० प्रतिशत स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण



भगवती तिमल्सिना, काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ११ करोड १८ लाख २ हजार ५ जना संक्रमित भएकामा २४ लाख ७६ हजार ३ सय ८७ जनाको मृत्यु हुन पुग्यो । यो अवधिमा नेपालमा पनि २ लाख ७३ हजार ६ सय ६६ जना कोरोना परीक्षण गरेका मध्येमा संक्रमित प्रमाणित भयो भने २ हजार ६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।यो अवधिमा विश्वका वैज्ञानिकहरुले छोटो समयमा दिनरात नभनी मेहनत गरी कोरोना भाइरसविरुद्धको विभिन्न किसिमका खोपहरु पहिचान गरी प्रयोगमा ल्याएसँगै कोरोना भाइरस पनि मन्थर भएको छ । तर यसो भन्दैमा कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रण भएको भने होइन । जोखिम अझै पनि उत्तिकै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाका झन्डै ५० प्रतिशत स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण भएको पाइएको छ ।परिषद्ले डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टिबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सीउलआईए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गरेकोमा सो तथ्य पत्ता लागेको जनाएको छ ।अध्ययनले समग्रमा उपत्यकाको कोभिड–१९ एन्टिबडीको संयोजित व्यापकता औसतमा ४५ दशमलव ३ प्रतिशत रहेको देखाएको छ । मंसिरको पहिलो दुई सातासम्म ४५ दशमलव ३ प्रतिशतलाई संक्रमण पुष्टि भइसकेको बुझाएको जानकारी गराइयो ।फरकफरक अस्पतालमा फरकफरक तथ्यांक रहेको आधारमा ३२ दशमलव २ प्रतिशतदेखि ५७ दशमलव २ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

कोभिड–१९ को एन्टिबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सीउलआईए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गरिएको परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो । सो परीक्षण त्रिवि शिक्षण अस्पताल र बायोकेमेस्ट्री विभागमा गरिएको पनि उहाँले जानकारी गराउनुभयो । परीक्षणका लागि काठमाडौं उपत्यकाका २० वटा अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना संकलन गरिएको थियो ।संकलित नमुनाका आधारमा परीक्षण गर्दा ३६ प्रतिशत नर्समा, १८ प्रतिशत डाक्टर, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको पाइएको डा. ज्ञवालीले जानकारी गराउनुभयो ।सोही अवधिमा पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका ७६ दशमलव २ प्रतिशतमा मात्रै कोभिड–१९ विरुद्धको एन्टिबडी विकसित भएको अध्ययनले देखाएको तथ्यांक सार्वजनिक गरिएको थियो ।अध्ययनका क्रममा कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका व्यक्तिहरुमा चलाएको औषधि रेम्डेसिभिर र प्लाज्मा थेरापीको संयुक्त प्रयोग नेपालमा सुरक्षित र प्रभावकारी देखिएको पनि जानकारी गराइयो ।

अध्ययन प्रतिवेदन परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्रतिवेदनमा दुवै किसिमको प्रयोग प्रभावकारी भएको उल्लेख गरिएको छ ।
रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी प्रभावकारी अध्ययन गर्नका लागि ३० अस्पतालबाट १ हजार ३ सय १५ कोरोना संक्रमित लिइएको परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।सो अध्ययनमा रेम्डेसिभिर प्रयोगले मध्यम संक्रमण भएका बिरामीहरूको निको हुने दर ९८ दशमलव ४ प्रतिशत पाइएको देखाएको छ ।‘कन्भालेसेन्ट प्लाज्मा पाएका अधिकांश बिरामीमा बढी गम्भीर र खतरापूर्ण संक्रमण भएको पाइएको थियो’, ज्ञवालीले भन्नुभयो– ‘यी बिरामीमध्ये कन्भालेसेन्ट प्लाज्मा मात्र पाएका बिरामीको निको हुने दर ३९ प्रतिशत थियो । रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै प्रयोग गरि निको हुने बिरामीको दर ५४ प्रतिशत थियो ।’अध्ययनले ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकूल असर परेको देखाएको छ । सार्वजनिक गरिएको प्रतिवेदन जुलाई २०२० देखि अक्टोबरसम्म अध्ययन गरिएको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्