कुख्यात ड्रग्स माफिया ‘एल च्यापो’की पत्नी अमेरिकामा पक्राउ



वासिङ्टन, (एजेन्सी) ।

हाल कारवास सजाय भोगिरहेका मेक्सिकोका कुख्यात लागुऔषध तस्कर जोआक्विन ‘एल च्यापो’ गुज्मानकी पत्नीलाई संयुक्त राज्य अमेरिकामा लागुऔषध ओसार–प्रसार गरेको आशंकामा गिरफ्तार गरिएको अमेरिकी सरकारी निकायले मंगलबार पुष्टि गरेको छ । ३१ वर्षीया एम्मा कारोनेल आइसपुरोलाई वासिङ्टन डीसी नजिकको डल्लेस अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध कोकिन, मिथाम्फेटामाइन, हेरोइन र गाजा बिक्री वितरणमा सक्रिय रूपमा संलग्न रहेको अभियोग लगाइएको छ । लागुऔषध ओसार–प्रसार र मुद्रा अपचलनको अभियोगमा गुज्मान अहिले अमेरिकाकै न्युयोर्कमा आजीवन कारावास संजाय भोगिरहेका छन् । ६३ वर्षीय गुज्मान मेक्सिकोको अत्यन्तै खतरनाक, शक्तिशाली तथा कुख्यात लागुऔषध तस्कर समूह सिनालोआ कार्टेलका पूर्वनाइके हुन् ।सन् २०१९ मा उनीविरूद्ध मुद्दा चलाइने क्रममा उनको जिवनका डरलाग्दा पक्षहरू उजागर भएको थियो । उनले कम उमेरका अर्थात् १३ वर्ष उमेर सम्मका बालिकाहरूलाई लागुऔषध सेवन गराएर बलात्कार तथा सिनालोआ कार्टेलका र विपक्षी समूहका सदस्यहरूको हत्या गर्ने गरेको तथ्य बाहिर आएको थियो ।

अमेरिकी न्याय विभागले वासिङ्टन डीसीस्थित अदालतमा भिडियो कन्फ्रेन्समार्फत उपस्थित गराई कोरोनेल आइसपुरोविरूद्ध मुद्दा चलाइने जनाएको छ । लागुऔषधको कारोबारलगायत उनीविरूद्ध सन् २०१५ मा मेक्सिकोको कारागारबाट आफ्नो लोग्नेलाई भगाउन षड्यन्त्र रचेको पनि अभियोग लगाइएको छ । अत्यन्तै कडा सुरक्षा प्रबन्ध रहेको मेक्सिको एल्टिपाना कारगारबाट निकै रोचक ढंगले तानावाना बुनेर गुज्मान फरार हुन सफल भएका थिए ।उनका छोराहरूले कारगारनजिक घर किनेपछि कारगारभित्र जिपिएस घडी पु¥याइएको थियो । त्यसपछि उनलाई राखिएको निश्चित स्थान पहिल्याएर सुरुङ खनिएको थियो । सोही सुरुङबाट सानो र विशेष खालको मोटरसाइकलमा बसेर गुज्मान बाहिर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्