मिक्वाखोला गाउँपालिकामा सेञ्चुरी बैंक नहुँदा स्थानीयलाई सास्ती



नेपाल समाचारपत्र, ताप्लेजुङ ।

मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगर्दा स्थानीयलाई आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । संघीय संरचनामा नेपाल गएसँगै २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोबार गर्न बैंकले आफ्नो शाखा स्थापन गर्न नेपाल बैंकले परिपत्र जारी गरेको थियो ।

त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ । सेञ्चुरी बैंकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न ४ वर्ष अगाडि नै परिपत्र गरेको थियो । तर, अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । ‘गाउँपालिकाको आर्थिक कारोवार गर्न ताप्लेजुङ सदरमुकाम जानुपर्ने बाध्यता रहेको ‘गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । हामै्र तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।’ –मिक्मवाखोला गाउँपालिकाका लेखा अधिकत प्रशान्त भट्टराईले भन्नुभयो ।सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतारहेको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ । तर, मिक्वाखोला गाउँपालिकामा बैंक नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्तालगायतका आर्थिक कारोवारमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङको भनाइ छ ।बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पुयाइसकेको तर इन्टरनेट लाइन जोडान हुनमात्र बाँकी रहेको सेन्चुरी बैंक प्रमुख कार्यालय काठमाडौंका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले बताउनुभयो । विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसकेको उहाँको भनाइ छ । बैंक स्थापना गर्नका लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मी समेत राखिसकेको सामान्य सेवा विभाग प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्