विविध संस्कार र संस्कृति नेपालको सम्पत्ति



काठमाडौं, (नेस) ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले युनेस्को काठमाडौंको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव मनाएको छ । महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियोे ।कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मातृभाषाहरूको संरक्षण र सम्वद्र्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ‘हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्वीकार्न गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो– ‘विस्तारै विभिन्न जातजातिको मौलिक भाषा बोल्नेको संख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने संघारमा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।’

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुभाषा, बहुसंस्कृति र बहुलता मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापुर्वक लागि परेको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै विविध संस्कार र संकृति भएको धारणा व्यक्त गर्नुभयो ।यस वर्ष प्रज्ञा–प्रतिष्ठान र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) ले ‘शिक्षा र समाजमा समावेशीकरणका लागि बहुभाषिकताको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मातृभाष दिवस मनाएको हो ।कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवं मातृभाषी समुहको पहिचानसहितको भेषभँषा र सांस्कृतिक विशेषता झल्कने बाजागाजासहितको झाँकी प्रदर्शन गरिएको थियो ।

गत वर्षतिर मुलुकभरिका प्रतिनिधित्व गरी आएका झाँँकी समुहको प्रदर्शन राजधानीका घण्टाघर, बागबजार, पुत्तलीसडक, रत्नपार्क हुँदै प्रज्ञा–प्रतिष्ठान आइपुग्थे तर यस वर्ष कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणबाट मञ्चसम्म मात्रै सीमित रह्यो । मातृभाषा दिवसको अवसरमा वर्षेनी जस्तै यस वर्ष पनि प्रज्ञा–प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव मनाएको छ ।महोत्सवका लागि प्राप्त भएका ५६ भाषाका १ सय ५४ वटा कवितामध्ये ७० वटा कविता वाचनका लागि छनोट गरिएको महोत्सवका संयोजक तथा साहित्य (मातृभाषा साहित्य) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले बताउनुभयो । कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथिला महान्’ शीर्षकको कविता वाचन गरेपछि शुरू भएको प्रस्तुतिमा अवधि भाषामा राकेशकुमार यादवले ‘गरिबी’ शीर्र्षकको कविता वाचन गर्नुभयो ।

कार्यक्रममा वाम्बुले राई भाषामा ओखलढुङ्गाकी मुना वाम्बुले राईले ‘चेइकिमा है कावा बिनायो त्वाप्सि’ अर्थात् बिनायो बजाउन सिकौं है साथी भन्ने शीर्षकमा कविता वाचन गर्नुभएको थियो । सिन्धुपाल्चोककी अनिताले माझी भाषामा ‘हाईलाई पुर्खाका सराप लागे’ भन्ने शीर्षकमा माझी समुदायको दुःखकष्ट र सरकारको विकासे परियोजनालाई व्यङ्ग्य गर्नुभएको थियो । त्यस्तै दोलखाकी कुन्ती थामीले थामी समुदाय र राङराङलीलाई लिएर कविता वाचन गगर्नुभयो । त्यस्तै, काभ्रेका कविराज तामाङले ‘ङाला डम्फु’ भन्ने शीर्षकमार्फत तामाङ जाति र डम्फुको बारेमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्