संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल गर्दै: शिक्षामन्त्री



नेपाल समाचारपत्र, ललितपुर ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । उहाँले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभएको छ । लुःनिभा बाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गर्नुभएको छ ।

कोभिड–१९ का कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि उहाँले जानकारी गराउनुभयो । ‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङ्गो लगाएका छौं । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं । एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौं’– उहाँले भन्नुभयो । समग्र सुदुरपश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधिमन्त्रीसँग आयोजना गरेको अन्तक्र्रियामा उहाँले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदुरपश्चिमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो –तपाईहरू राजधानीको शिक्षा, शिक्षण पद्धतिको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाँको कुरा सिकेर आफ्नो क्षेत्रमा लालु गराउनुस् ।’अन्तक्र्रिया गर्न सुदुरपश्चिमका डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए । चालु शिक्षा प्रणालीबाट मुलुकले सोचेजस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसका लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपुर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले सरकार द्वन्द्वपीडित, राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागिपरेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताउनुभयो ।सुदुरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित ३२ वटा विद्यालयका प्रतिनिधिलाई काठमाडौंको नमुना विद्यालयहरूको भ्रमण गर्न राजधानी आएका थिए ।कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीले ५ देखि ६ घण्टासम्मको यात्रा गर्नुपर्ने समस्या मन्त्री श्रेष्ठसमक्ष व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लुःनिभा वाल सरोकार समुहका सल्लाहकार स्वयंम्भुराज डंगोलले, कार्यकारी निर्देशक नरेन्द्र डंगोल, कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणपछि टोलीले काठमाडौं शिक्षा घोषणापत्र जारी गरी नयाँ योजना तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्