इमान हराएको राजनीति



नगेन्द्रराज पौडेल

राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम् इमान हुनुपर्छ । भनिन्छ, नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरुनीतिहरु स्वतः सरल रेखामा हिँड्छन् । नीतिहरुको राज नै राजनीति हो । तर हामीकहाँ २०४६सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको राजनीति कहिल्यै पनि इमान,जमान र नीतिमा चल्न सकेन । व्यक्तिगत कुण्ठा,इष्र्या, डाह र आत्मरतिमा नै यसबीचको राजनीतिक गतिविधि केन्द्रित रह्यो । व्यक्तिपरक चाहना नै नेपालको राजनीति बन्नपुुग्यो । यसैको नवीन संस्करणको रुपमाअहिले हामीकहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते गरिएको प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको सन्दर्भ आएको छ । राजनीतिमा इमान हराएपछि जे हुनुपर्ने थियो, अहिले त्यही भएको छ,त्यही देखिएको छ।
चुनाव केका लागि ?

जनतालेगरेको लामो समयको संघर्ष, माओवादीको १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलनसमेतको उपलब्धि थियो संविधानसभाबाट संविधान निर्माण । पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभाको कार्यकालमा २०७२ सालको भूकम्पबाट सबै राजनीतिक दल एकठाउँमा उभिएकाथिए । विभिन्न मतान्तरकाबीच भारी बहुमत (९० प्रतिशतभन्दा बढी)द्वारा नेपालको संविधान २०७२ जारी गरेका थिए । उक्त संविधानका आधारमा भएको पहिलो आमचुनावको ५ बर्से अवधि नसकिँदै सत्तारुढ दल नेकपाको सचिवालय, केन्द्रीय कमिटी र संसदीय दलमा भएको आन्तरिक विवाद, कलह एवं सरकारको नेतृत्व परिवर्तन गर्ने उक्त पार्टीको चाहनालाई निमिट्यान्न पार्न संसद् नै भंग गरिएको अवस्था हो । अर्थात् भालुको रिस खनियामाथि ।२०५१ सालमा नेपाली कांग्रेसको बहुमतीय सरकार सञ्चालन गर्न नसकेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनमा गएका थिए । अवधि नपुक्दै केका लागि निर्वाचन ? भन्दैजनताले प्रश्न गर्दा ‘सदनमा एमालेलेअवरोध ग¥यो, सदन चल्न दिएन, सडकमा पनि ढुंगामुढा ग¥यो, यसकारण ताजा जनादेशका लागि चुनावमा जानुप¥यो’भनी कोइरालाले सफेद झुट बोलेका थिए । त्यसको परिणाम उनी आफैंलेभोगे।उनको दल बहुमतमा थियो। सबैभन्दा ठूलोपार्टी सानोमा खुम्चिनुप¥यो । हुँदाखाँदाको सरकारबाट हटेर एमालेको सरकार बेहोर्नुप¥यो ।

यसपछि विगतमा बहुदलका लागि जुनशक्तिसँग आजीवन संघर्ष गर्नुपरेको थियो तिनै शक्तिलाई सरकारको नेतृत्व दिएर आफू उनैको पिछलग्गु बन्दै उनैको सरकारमा सहभागी हुनुप¥यो । पालैपालो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर आफूहरु उनकै नेतृत्वमा गठित मन्त्रिमण्डलमा सहभागी हुन पुुगे । सांसद खरिद–बिक्री काण्ड, पजेरो संस्कृतिको आरम्भआदिको जग यही बहुमतीय सदन भंग रकुबेलाको मध्यावधि थियो ।त्यही गिरिजा–पथलाई नै अनुशरण गर्दै अहिले अर्को मध्यावधि रचिएको छ । पूर्ण बहुमतलाई धान्न नसक्नेहरुले खोजेको ताजा जनादेश केका लागि र कसका लागि हो ? यो प्रश्न आफैंमा अनुत्तरित छ ।कथंकदाचित २०७८कोवैसाखमा चुनाव भएछ भने नेकपाको हैसियत उतिबेलाको कांग्रेसकोभन्दा बढी नहुने कुरामा अब शंका नगर्दा हुन्छ । त्योबेला ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’भन्नुुबाहेक उक्त दलका लागि अर्को विकल्प हुनेछैन ।

बेमौसमी चुनावी रहर यतिबेला नेकपालाई जागेकोछ । संसद्मा ६४ प्रतिशत बहुमतमा छभनी दाबा गर्ने प्रधानमन्त्रीले संसद् विगठन गरी के पाउनका लागि मध्यावधि रोजेका हुन्? अहिले उनको जिम्मेवारी ६४ प्रतिशतलाई सम्हाल्नुथियो, नकि भंग गरी चुनावमा जानु।चुनाव नै भएछ भने २०५१ को नेपाली कांग्रेसको नियति सत्तारुढ नेकपाले भोग्नुपर्ने निश्चित छ । सडकको भीड र वाहवाहीले मात्र भोट आउने भए राजा ज्ञानेन्द्रले गद्दी छाड्नुपर्ने थिएन । यस कुराको हेक्का उक्त दलले किन राख्न सक्दैन ?
गाली–गलौज
भनिन्छ, तर्क–विवेक र बुद्धिले काम गर्न छाडेपछि मान्छे गाली–गलौजका पछाडि उत्रिन्छ । त्यो पनि नितान्त व्यक्तिगत र न्यूनस्तरमा । अहिले हाम्रा राजनीतिक दल खासगरी सत्तारुढ नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताअसन्तुुष्ट खेमाका अर्का उही दलका अर्का अध्यक्षपुुष्पकमल दाहाल प्रचण्डका दिनहुँजसो देखिने, सुनिने भाषणहरुमा एकले अर्कोलाई व्यक्तिगत स्तरमा गएरजसरी तथानाम गाली–गलौज गरेका छन्, त्यसबाट उनीहरुको राजनीतिककद निकै तल झरेको सहजै अनुमान गर्न सकिन्छ ।राजनीतिमा नीति हुन्छ,लक्ष्य हुन्छ, कार्यक्रम हुन्छ । यहाँ त एउटै दलको व्यक्तिगत झगडालाई लिएर सडकमा जनता ओरालिएको छ । एउटाले अर्कोको छोरा–बुहारीको तीनपुस्ते उतारेको छ । अर्कोले निःसन्तान भनेको छ । एकले अर्कोलाईनङ्ग्याउनसम्म नङ्ग्याएको छ । अर्कोले उसैको नक्कल (क्यारिकेचर) उतारेर तमासा देखाएको छ ।यो हदको बेइमान राजनीतिमा कल्पनासम्म गरिँदैन ।तर हामीकहाँपुस ५ पछिको सत्तारुढ दलका दुुवै खेमाको दैनिकी नै यही बनेको छ ।असन्तुुष्ट पक्ष सडकमा जाने र सत्तामा हुनेहरुले सुशासन,न्याय, समानता दिएर जनताको मन जित्ने हो । तर हामीकहाँ विगतमा पञ्चहरुले निकाल्ने गरेको पञ्च¥यालीलाई पनि जित्ने गरी दिनहुँजसो सरकारपक्षलेसमेत आमसभा आह्वान गरिरहेको छ । सरकारले आमसभा गर्ने कि नीति बनाएर काम गर्ने ? अधिकारविहीनहरुले हो सडक तताउने, हातमा डाडु–पन्युँ हुनेहरुलेत काम गरेर देखाउने हो ।

भारतमा एउटा समय यस्तोथियो, जुनबेला भाजपाका नेता र कार्यकर्ताहरुले प्रधानमन्त्री इन्दिरा गान्धीलाईअपशब्द भन्ने गर्थे–‘इन्दिरा गान्धी ….. है’ आदि । पछि जब पाकिस्तानसँग युद्ध भयो, भाजपाकै नेता अटलविहारी बाजपेयीले इन्दिरालाई ‘दुर्गा मा’ भन्न थाले । तल्लो तहका कार्यकर्ता हेरेको हे¥यै भए । त्यसो हुँदा गालीको राजनीतिमा कुनै मूल्य हुँदैन । अहिले हामीकहाँभारतीय दलाल, ‘र’ का एजेन्ट, विदेशी गुप्तचर आदि के–के हो के के भनेर चरित्रहत्या गर्न थालिएको पाइन्छ । यहाँनेर पनि राजनीतिक इमान दलहरुले पालना गरेको देखिँदैन । यो वास्तवमा असभ्यता हो । यहाँसम्मकि फलानोले विगतको चुनाव बाकस साटेर, बत्ती निभाएर जितेको हो भनिदैछ । यदि यसरी नै चुनाव जित्ने परिपाटी हो भने आगतमा पनि यसो गरिँदैन भन्नेआधार के छ ? महत्वपूर्ण पदमा बसेकाहरु यति तल नझर्दा राम्रो हुने थियो।नेपालका शीर्ष भनिने नेताहरुमै यस प्रकारको चरित्र देखिनु राष्ट्रकै लागि लज्जाको विषय हो ।

गालीपछि धम्की

यतिबेला नेपालका नेताहरु गालीले मात्र नपुुगेर धम्कीको भाषासमेत बोल्न पुुगेका छन् । दुुई साताअघि राजधानीमा आयोजित एक समारोहमा नेकपाविरोधी खेमाका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको काम–कार्वाहीप्रति नेपाली जनताले नजिकबाट नियालेको र लक्षण राम्रो नदेखिएको टिप्पणी गरेका थिए। अध्यक्ष प्रचण्डले बारम्बार भन्दै आएको एउटा प्रसंग ‘प्रधानमन्त्रीले चारैतिर सेटिङमिलाएका छन् भन्ने हल्ला छ’ भन्ने थियो । तर गत साता विराटनगरमा आयोजित एक आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले ‘कुनै प्रकारको जालझेल,षड्यन्त्र,तिकडम,सेटिङ भएर देश र जनताको विपक्षमा फैसला भयो भने हाम्रो आन्दोलन अगाडि बढ्छ’ भनेका छन् ।प्रधानमन्त्री स्वयंले पनि सेटिङको प्रसंग उठाएर दाहालको आशंकालाई थप बल दिएको देखियो । तर दाहालको शंका सरकारतर्फ थियो भने ओलीको आशंका कोप्रतिलक्षित हो ? यकिन भएन । तर सेटिङको आशंकाले भने उनलाई पनि छाडेन ।यति बेला उनको भनाइ संविधानको विघटनको मुद्दाको फैसला हुनै लागेको सर्वोच्चतर्फ लक्षित हो । उनले विपक्षमा भनेको संसद् विगठन बेठीक छ भन्नुहो । यसरी प्रधानमन्त्रीजस्तो पदमा बहालवाला व्यक्तिसमेत अन्यमनष्क भई अदालतलाई प्रभाव पार्ने गरी बोल्न पाइन्छ ?सडक र यहाँको जनसागर हेरेर फैसला गर्नदुवै पक्षले सर्वोच्चलाई परोक्ष पारामा भनी नै रहेका छन् ।

विदेशमा पनि उस्तै

सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवारएडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताबिक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः चुनाव क्लिन्टनले नै जिते ।त्यस्तै सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौनलिप्साका बारेमा कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे । यी दुुईले टेलिभिजन साक्षात्कार कार्यक्रममा हातसम्म मिलाएनन् ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पञ्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरे । प्रत्युत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराको गिरोह’ भन्नुका साथै ‘इन्डियन मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा लो प्रोफाइल (चिया पसले), साम्प्रदायिक भनेर टिप्पणी गरियो । यस्तै केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए ।अहिले नेपालका नेताहरुमा यही आदत विकसित भएको देखिन्छ । यसबाट सबैभन्दा बढी हानि नेता स्वयंलाई हुनेछ । तर यो कुरा उनीहरु मान्न तयार छैनन् । त्यति बेला जनता‘भिरमा जाने गोरुलाई राम–राम’ भनेपनि काँध थाप्न भने सक्ने छैनन् । जसरी ट्रम्प गए,त्यसै गरी हाम्रा नेताहरु पनि क्रमशः जानेछन् । शायद आज जनताले खोजेको‘नो भोट’को प्रावधानले यही कुराकोआभास दिन्छ ।

प्रतिक्रिया दिनुहोस्