संगठनात्मक संरचनालाई पूर्णता दिन मापदण्ड

प्रचण्ड–नेपाल समूहमा सहमति



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित बन्न पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय गरेको छ । पार्टी विभाजित भएसँगै रिक्त रहेको संगठनमा पुनर्गठनका लागि मापदण्ड तय गरेको हो ।

पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा रहेका बेला प्रचण्ड–नेपाल समूहले सबै संगठन कमिटीको पुनर्गठनको काम अगाडि बढाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले केन्द्रदेखि वडा तहसम्म नै पार्टीको संगठनात्मक संरचनाको पुनर्गठनको काम अगाडि बढाउने बताएको छ ।पार्टीको शीर्ष तहमा भएको संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । सहमतिमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी कमिटी एवं जनवर्गीय संगठनको एकीकरणका लागि मापदण्डमा हस्ताक्षर गर्नुभएको छ । मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुवै पक्षको ५०–५० प्रतिशत हुने भएको छ ।संगठनात्मक संरचना पुनर्गठन गर्ने मापदण्ड तय भएसँगै पार्टीको महासचिवको पनि टुंगो लाग्ने भएको छ । पार्टीको महासचिवमा प्रचण्ड पक्ष र नेपाल पक्षकै नेताहरुको दाबी रहँदै आएको छ । प्रचण्ड–नेपाल समूहभित्र महासचिव चयन थप पेचिलो बन्दै गएको छ । पार्टीभित्र धेरै नेताहरु आकांक्षी बनेपछि अध्यक्षद्वय प्रचण्ड र नेपाललाई महासचिवको चयन टाउको दुखाइको विषय बन्न पुगेको एक नेताले बताए ।

मापदण्डअनुसार प्रदेश र जिल्ला इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा ६०÷४० को अनुपातमा भागवण्डामा सहमति भएको थियो । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने मापदण्ड बनाउँदै प्रचण्ड–नेपाल समूहले प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई जिम्मेवारी दिइने भएको छ ।मापदण्डअनुसार पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने भएको छ ।

यसैबीच, नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको हो ।त्यसै गरी, यसअघि विदेश विभाग उपप्रमुख रहनुभएका विष्णु रिजाललाई संगठनको सहइन्चार्जको जिम्मेवारी दिएको छ । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज रहनुभएको थियो ।त्यसै गरी, प्रेस संगठनको पदाधिकारीको समेत टुंगो लगाएको महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी, विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्