स्वस्थानी व्रतोपाख्यान बोध



प्रा.डा. रुद्रप्रसाद गौतम

स्वस्थानी माताको शाब्दिक अर्थ खोज्दा आफू बसेको ठाउँकी देवी अर्थात् मानव हृदयमा रहने भगवान् भन्ने बुझिन्छ । हाम्रो हृदयमा बसेकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।स्वस्थानी हिन्दुहरूकी देवी हुन् ।विधिपूर्वक यी देवीको व्रत, पूजा, आराधना गर्नाले चिताएको कुरा पुग्छ भन्ने मान्यता छ । तर हामी ज्ञानको कमीका कारण भगवान् खोज्न मनको मन्दिर छाडेर मूर्ति भएका मन्दिरमा धाउँछौँ ।फोटा, मूर्ति, शिलामा भगवान् देख्छौँ । भगवान् खोज्न मठ–मन्दिर धाउने नाममा दुःख पाएका नागरिकलाई लक्ष्मीप्रसाद देवकोटाले धेरै अगाडि यात्री कवितामार्फत सम्झाउने प्रयास गरेका थिए । हामीले त्यो कविताको लय र छन्दलाई हेरेर रमाइलोसँग पढ्यौँ तर त्यसमा प्रयोग भएका शब्द र भावलाई बुझ्ने प्रयास गरेनौँ ।

आवश्यकताका आधारमा मानिसको जस्तै देवी–देवताको पनि स्वरूपका बारेमा चर्चा हुने गर्दछ । अठार पुराणमा सबैभन्दा ठूलो स्कन्द पुराणको केदार खण्ड माघ माहात्म्यमा उल्लेख गरिएअनुसार सुवर्णभन्दा पनि दिव्य पहेँलो वर्ण भएकी, तीन आँखा र प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, नाना अलङ्कार पहिरेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी परिकल्पना गरिएको छ । चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा (चक्र) लिएकी छन् भनी उनको रूपको वर्णन गरिएको छ ।स्वस्थानी माताका मूर्तिहरू आज विभिन्न ठाउँमा बनाइएका छन् । तीमध्ये पाटनको दरबार स्क्वायरमा १६६९ मा स्थापना भएको, राजा प्रताप मल्लले १६७४ मा काठमाडौँको मखनमा स्थापना गरेको र स्वस्थानीमा लावण्य देश भनेर चिनिएको साँखुमा लगभग २० वर्षअघि बनाइएको मूर्तिको धेरै उल्लेख गर्ने गरिएको छ । मखनमा रहेको मूर्ति दुलहीको पहिरनमा सिंहमा बसेको र शिवका साथमा रहेको छ भने साँखुमा बनाइएको मूर्ति कमलको फूलमाथि बसेको छ र अष्टमातृकाले घेरिएको छ ।

हाम्रो धार्मिक विश्वासअनुसार यो व्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरेर माघ शुक्ल पूर्णिमासम्म लिइन्छ । स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सत्ययुगमा सतीदेवीका बाबु दक्षप्रजापतिले महादेवलाई गरेको अपमान सहन नसकी महादेवकी पत्नी सतीदेवीले यज्ञकुण्डमा हामफालेर प्राण त्यागिन् । त्यसपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको विश्वास छ ।पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् ।विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाइन् । त्यसपछि साथीहरूको सहयोगमा पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले स्वस्थानी व्रत गर्ने सल्लाह दिए । पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेर महादेव पति पाएको विश्वास गरिन्छ । यस अर्थमा पहिलो स्वस्थानी व्रत पार्वतीले गरेको भन्ने बुझिन्छ । तर सोभन्दा अगाडि विष्णुले स्वस्थानी माताको आराधना गरेको सन्दर्भ पनि छ ।

एकपटक विष्णु भगवान् शक्तिहीन भएर साँखुमा आउनुभयो । उहाँले स्वस्थानी माताको ३० दिन व्रत बस्नुभयो ।सो व्रतपछि उहाँको शक्ति फर्कियो । यो घटनापछि उहाँका अनुयायीहरूमा सो व्रत लिँदा मनका इच्छा पूरा हुने विश्वासले व्रतको शुरूवात भएको भनाइ छ । शिवले पार्वतीलाई उनको इच्छा पूरा गर्न विष्णुले भनेअनुसार गर्नु भन्नु र साँखुको शालीनदी किनारमा परापूर्वकालदेखि माधवनारायणको पूजा गर्ने प्रचलनले पनि सो कुरालाई विश्वास गर्नुपर्ने आधार बनाएको छ ।
यो व्रत नेपालमा धेरै श्रद्धा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रतमध्येको एक हो । हिन्दु महिलाले लिने यो सबैभन्दा लामो व्रत पनि हो ।भारतलगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यति धैरै लोकप्रिय नभए पनि नेपालका बाहुन र क्षत्री समुदायका महिलामा भने यो व्रत धेरै लोकप्रिय छ ।नेवार समुदायका केही जातिले पनि यो व्रत लिने गरेका छन् । यो व्रतमा भगवान् शिवका साथमा स्वस्थानी माताको पूजा आराधना गरिन्छ ।साथै यस व्रतको महिलाले नै लिने गरेको श्रावण महिनाको व्रत र तीजको व्रतसँग पनि नजिकको सम्बन्ध देखिन्छ ।

यो व्रत गर्ने अविवाहित महिलाले असल पति पाउने आकाङ्क्षा राखेका हुन्छन् भने विवाहित महिलाले पति र सन्तानको सुख, समृद्धि र लामो आयुको कामना (सौभाग्यवती रहने इच्छासहित) गरेका हुन्छन् । त्यसैगरी विधवाले सन्तानको सुख, समृद्धि र लामो आयुको कामनाका लागि यो व्रत गर्ने गरेका हुन्छन् । यो व्रत कतिपय ठाउँमा केही पुरुषहरूले पनि असल पत्नी पाऊँ भन्ने कामनासहित गरेको सुनिएको छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले पौराणिक धर्म ग्रन्थहरूमा चर्चा गरिएजस्तै परिवारको सुख, सुस्वास्थ्य, दीर्घायु र समृद्धि प्राप्त हुने विश्वास छ । साथै यो व्रत गर्नाले परिवारमा रोगब्याध नष्ट हुनुका साथै विछोड भएका परिवारसँग भेट हुने विश्वास गरिन्छ । यही विश्वासका कारण परम्परागतरूपमा उक्त व्रत प्रचलित हुँदैआएको देखिन्छ ।नेपालमा पनि काठमाडौँलाई स्वस्थानी व्रतको उद्गम थलो मानिन्छ । यसको उत्तरपूर्वमा पर्ने शालीनदी र साँखुमा शालीनदीका किनारमा रहेको माधवनारायण मन्दिरमा स्वस्थानी माताका भक्तहरूको घुइँचो लाग्ने गरेकाले पनि यो ठाउँ स्वस्थानीसँग परापूर्व कालदेखि महत्वपूर्ण रहँदै आएको यकिन गर्न कठिन छैन । स्वस्थानी व्रतसँग साँखुका अतिरिक्त पशुपति, चाँगुनारायण, पनौती, फर्पिङको पनि नजिकको नाता जोडिएको भनिएको छ । स्वस्थानी व्रत लिने हरेकले नियमानुसार दैनिक कथा सुन्ने÷सुनाउने प्रचलन भने सोह्रौँ शताब्दीको अन्त्यतिर शुरु भएको विश्वास गरिन्छ ।

नेपाल भाषामा पहिलो स्वस्थानी व्रत कथा जयन्तदेवबाट नेपाल संवत् ६९३ अर्थात् वि.सं. १६२९ तिर लेखिएको थियो । यसपछिका विभिन्न संस्करणहरूमा समय–समयमा फरकपना आएको पनि बताइएको छ । यो व्रत कथा नेपाली भाषामा उन्नाइसौँ शताब्दीको शुरुमा लेखिएको भनिन्छ । भाषा, विषयवस्तुर संस्करण जे–जस्तो भए पनि सबैले हिन्दु धर्म र पुरुषप्रधान समाजको चित्रण गर्न सफल देखिन्छन् । मानवजीवनमा स्वस्थानीको शुरुवात भएको ठाउँ मानिएको साँखुमा नेपाल भाषामा लेखिएको हस्तलिखित स्वस्थानी व्रत कथा छ भनिन्छ ।शिव, सती र पार्वतीका वरिपरि घुमेको भनिएको यो व्रतकथा पहिले शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमारबाट अगस्त्य मुनिलाई बताइएको थियो भनिएको छ ।सो कथा हरेक दिन एक–एक अध्याय सुन्ने÷सुनाउने हिसाबले ३१ अध्यायमा विभाजन गरिएको छ ।नेपालको प्राचीन सभ्यतामा विकास भएको सो कथा तिनै कुमार (स्कन्ध) का नामबाट नामाकरण गरिएको स्कन्द पुराणको केदार खण्डमा आधारित छ ।परम्परागतरूपमा पौष शुक्ल पूर्णिमाका दिन स्नान गरी शुद्ध वस्त्र पहिरिएर मध्याह्नकालमा महादेवका साथमा श्री स्वस्थानी माताको स्वरूपलाई सम्झेर मैले आजसम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख–सम्पत्ति र अर्को लोकमा शिवलोक प्राप्तहोस् भन्ने कामनासहित एक महिनासम्म श्रीस्वस्थानी माताको नियमानुसार व्रत बस्नेछु भनी संकल्प गरी व्रतको शुरुवात गरिन्छ ।

दैनिक मध्याह्न कालमा पूजा गरी स्वस्थानी व्रत कथा सुन्ने÷सुनाउने नियम छ । त्यसै दिनदेखि एक महिनासम्म हविष्य खानु, कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु, क्रोध नगर्नु, कसैप्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्मचर्यको पालन गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु, सामान्य बिछ्यौनामा भुइँमा सुत्नु व्रतका नियमहरू हुन् ।हरेक दिन नियमानुसार पूजा गर्ने र साङ्गे (पारायण) अर्थात् माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष विधिपूर्वक शिव र स्वस्थानी माताको सँगै पूजा गरिन्छ ।यो पूजामा १०८ का दरले सेलरोटी-मालपुवा, कुड्कासुपारी, पान, जनै, अक्षता, बत्ती, बेलीको फूल, भेटी, जौ, तिल आदि चढाउनुपर्दछ । अन्य अप्राप्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ । यसरी सबै वस्तु १०८ चढाउने पनि जपमालामा १०८ दाना हुने, २७नक्षत्रलाई तिनका चार चरणले गुणन गर्दा १०८ हुने, उपनिषद्को सङ्ख्या १०८ भएको, १२ राशी र ९ ग्रहको गुणन १०८ हुने, समुद्र मथनमा ५४ देवता र ५४ दानवले भाग लिएका आदि वैज्ञानिक कारणसँग जोडिएको छ ।पूजापछि १०८ पटक पूजा मण्डपको परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्दछ ।

पूजाको समाप्तिपछि ‘हे स्वस्थानी माता! हजुरका कृपाले मेरो व्रत पूराभयो’ भनी अर्घ दिनुपर्छ ।त्यसपछि १०८ प्रसादहरूमध्ये ८–८ वटा झिकेर आफ्ना श्रीमान्लाई दिइन्छ ।श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई, मितछोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सय रोटीसहितका वस्तुहरू आफूले फलाहार गर्नु भन्ने नियम छ । प्रतिष्ठाको रात्रिमा जाग्राम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ।यस अवधिमा काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, किरातेश्वर, गुहेश्वरी, गौरीघाटलगायत सतिदेवीका अङ्ग पतन भएका उपत्यकाबाहिरका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ ।

आजसमाज भौतिकतातर्फ अग्रसर भइरहेकाले हाम्रा संस्कृति, रीतिरिवाज र परम्परा सबै नाशिँदै गएका छन् ।पाश्चात्य संस्कृतिको व्यापक प्रभाव परेको छ । यस्तो अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट आफ्नो संस्कृति जोगाइराख्ने प्रयास गर्नुपर्दछ । आफ्ना सन्ततिहरूलाई समयको गतिलाई ख्याल गर्दै हाम्रा रीतिरिवाज, धर्म, संस्कार, संस्कृति, परम्परा, अनुशासन र कर्तव्यको बोध गराउनुपर्दछ ।
(लेखकप्रा.डा. गौतम, रुद्राञ्जु प्रतिष्ठान, कीर्तिपुरका संरक्षकसमेत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्