फलेवासको नयाँ कार्यक्रम : मजदुरका लागि कल्याणकारी कोष र पेन्सन व्यवस्था



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको फलेवास नगरपालिकाले दैनिक ज्याला मजदुरीको भरमा दैनिकी गुजार्दै आएका असंगठित करिब १२ सय जना मजदुरका लागि श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ। नियमित तलब आउने जागिर र पेसा नभएका कारण दैनिक मजदुरी गरी परिवार धान्दै आएका श्रमिक तथा आर्थिक रुपमा विपन्न रहेका परिवारलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरेको हो ।

केही समय पहिले नै यो योजना कार्यान्वयनको लागि काम गरिरहेको नगरपालिकाले शुक्रवार नागरिक लगानी कोषसँग यसको सम्झौता (मेमोरेन्डम अफ अन्डरस्ट्यांगिङ(एमओयू) गरेको छ । ‘असंगठित श्रमिकहरुको अवस्था हामीले देखेका नै छौँ, बल छउन्जेल त उनीहरुले काम गर्न सक्छन्, तर उमेर ढल्केपछि परिवार र निजी जीवन व्यवस्थापन गर्न सकस पर्छ,’ नगरप्रमुख पदमपाणी शर्माले भन्नुभयो ‘पछि त्यस्तो समस्या भोग्न नपरोस् भनी श्रमिकहरुका लागि कल्याणकारी कोष बनाएर पेन्सन समेत दिने निर्णय गरिएको हो।’

नगरपालिकाले चालू आर्थिक वर्षभित्रमा करिब १२ सय मजदुरहरुलाई यो कार्यक्रममा संलग्न गराउने लक्ष्य राखेको छ भने हालसम्म ६ सय भन्दा बढी मजदुरहरु यो कार्यक्रममा संलग्न भइसकेका छन्। नागरिक पेन्सन योजनामा समावेश हुन चाहने श्रमिक २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ।

श्रमिकले कल्याणकारी कोषमा प्रतिमहिना ५ सय रुपैयाँका दरले पैसा जम्मा गर्नेछ। त्यसमा नगरपालिकाले पाँच सय रुपैयाँ र नागरिक लगानी कोषले एक सय रुपैयाँ थप गर्नेछन्। यो कोषमा आबद्ध भएका श्रमिकले पैसा जम्मा गर्न थालेको दुई वर्षपछि आवश्यकता अनुसार रकम समेत निकाल्न पाउने छन् भने ६० वर्ष उमेर पुगेपछि कोषबाट पेन्सन दिइने छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले यो योजनाको लागि चालू आर्थिक वर्षमा नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको र आवश्यकता अनुसार बढाउँदै लैजाने बताए। कोषमा जम्मा भएको रकम निकाल्न र पेन्सन पाउनको लागि श्रमिकले कार्यविधि अनुसार गर्दा आउने हिसाब अनुसार रकम भुक्तानी पाउने उनको भनाई छ।

‘महिनाको ११ सय रुपैयाँका दरले दुई वर्षमा २६ हजार ४ सय रुपैयाँ हुन्छ। दुई वर्षपछि कोषबाट रकम पनि निकाल्न मिल्छ। मजदुर ६० वर्ष पुगेपछि स्वतः पेन्सन शुरु हुन्छ,’ उहाँले भन्नुभयो ‘मजदुरको कोषमा बचत भएको रकमको आधारमा उसले कति पेन्सन पाउँछ भन्ने तय हुन्छ।’ यो कार्यक्रमले मजदुरहरुको भविष्यलाई केही हदसम्म भएपनि आर्थिक रुपमा सुरक्षित गर्ने र बुढेसकालमा काम गर्न नसकेको बेलामा औषधिसमेत खान नसक्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको अपेक्षा छ।

अब नगरपालिकाका ११ वटै वडाबाट यसमा संलग्न भइसकेकाहरुलाई परिचयपत्र वितरण गर्ने र संलग्न हुन चाहनेहरुलाई सूचीकृत गर्दै जाने काम हुने नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए। पर्वतमा जलजला गाउँपालिकाले पनि यस्तै कार्यक्रम अघि बढाइरहेको छ। फलेबास नगरपालिकाले पूर्वाधार विकास, सडक विस्तार, कालीगण्डकी जलाशययुक्त परियोजना लगायतका चर्चित कार्यक्रम अघि बढाउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्