नालासहित सडक विस्तारमा ठेकेदारको ढिलासुस्ती, स्थानीय आक्रोशित



उत्तम नेपाल, भद्रपुर ।

सरकारले लगानी गरेपनि ठेकेदारले सम्झौता अनुसारको काम समयमा सम्पन्न नगर्दा स्थानीय आक्रोशित बनेका छन् । सरकारको सघन सहरी विकास कार्यक्रममा अन्तरगत झापाको सदरमुकाम भद्रपुरको नालासहित सडक विस्तारका लागि दुई अर्ब लगानी गरेको छ ।

अधिकांश सडकको काम ढिलासुस्ती भइरहेको पाइएको छ । त्यसको प्रत्यक्ष असर स्थानीयले भोग्नु परेको छ । घर अगाडी नाला बनाएर छाडेर निर्माण कम्पनीका ठेकेदार र प्रतिनिधि बेपत्ता भइदिँदा धुलाम्मे सडकका कारण उनीहरू थप मारमा परेका हुन् ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले दुई वटा प्याकेजमा नालासहित सडकको ठेक्का लगाएको छ । लुम्बिनी, गजुरमुखी र एपेक्स काठमाडौँले भ्याटबाहेक ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयाँमा एउटा प्याकेजको ठेक्का लिएको छ, भने श्रेष्ठ, रसुवा र एपेक्स जेभी काठमाडौँले भ्याट बाहेक ८३ करोड ८० लाख ९० हजार २३१ रुपैयाँमा अर्को प्याकेजको ठेक्का लिएको जनाइएको छ । त्यसमध्ये श्रेष्ठ, रसुवा र एपेक्स जेभी अन्तरगत नगरमा सञ्चालित अधिकांश सडकको काम ढिलासुस्ती भइरहेको पाइएको छ । श्रेष्ठ, रसुवा र एपेक्स जेभीले भद्रपुरको जनता चोकदेखि घोडामारा हुँदै हडीया पुलसम्मको ४ किलोमिटर कालोपत्रे सडक अलपत्र छ । निर्माण कम्पनीले २०७४ मङ्सिर १ गते ठेक्का सम्झौता गरेको सो सडक अहिलेसम्म बन्न सकेको छैन ।

सडक आसपासका स्थानीयले धुलो र हिलो कारण पटक – पटक सडक अवरोध गर्दै आए पनि कालोपत्रे सडक निर्माणले अझै गति लिन नसकेको स्थानीयले सागर घिमिरेले गुनासो गर्नुभयो । सडक धुलोको कारण स्थानीय आक्रान्त बनिसकेको उहाँको भनाइ छ ।

केही दिन काम गरे जस्तो गर्ने र फेरि अधुरो छाडेर बेपत्ता हुने स्थानीय सञ्जय ढकालले बताउँनुभयो । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण स्थानीय आजित बनेको उहाँको भनाइ छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण वडावासी सास्ती झेल्नु परेको भद्रपुर नगरपालिका ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताउँुभयो । वडा कार्यालयले पनि सम्बन्धित निकायलाई मौखिक र लिखित रुपमा पटक – पटक ध्यानाकर्षण गराइसकेको उहाँको भनाइ छ । श्रेष्ठ, रसुवा र एपेक्स जेभी काठमाडौँ अन्तरगत नगरमा सञ्चालित नालासहित सडक विस्तार कामको ६५ प्रतिशत मात्र सम्पन्न गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले बताउँनुभयो । थप भएको म्याद अवधिमा पनि श्रेष्ठ, रसुवा र एपेक्स जेभी जेभीले काम सम्पन्न गराउन कुनै चासो नदेखाए कालो सूचीमा राख्ने चेतावनी दिइसकेको प्रमुख खतिवडाले बताउँनुभयो ।

२०७७ माघ १० गते आयोजनाले पत्रिकामै सूचना निकालेर यस्तो चेतावनी दिइसकेको उहाँको भनाई छ । आयोजनाले कालोसूचीमा राख्ने सूचना जारी गरेसँगै श्रेष्ठ, रसुवा र एपेक्स जेभी र आयोजनाबिच सहमति भएको उहाँको भनाइ छ । थप ६ महिनाको समय अवधिभित्र प्याकेजमा परेका सबै काम सम्पन्न गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । अन्तिम पटक २०७७ मङ्सिर १० गते सम्म म्याद थप भएको मिति समेत समाप्त भएको हुँदा छिटो कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले मङ्सिर १८ गतेदेखि योजना स्थलमा आवश्यक पर्ने जनशक्ति, निर्माण सामग्रीहरू र मेशीनरी उपकरणहरूको व्यवस्थापन गरी बाँकी कार्य सम्पन्न गर्ने स्पष्ट कार्य योजना पेस गरी तत्कालै बाँकी कार्य सम्पन्न गर्नुपर्ने अन्यथा यसै माइन्युटलाई आधार मानी ठेक्का सम्झौता अनुसार आवश्यक प्रक्रिया अघि बढाउन सहमतिसहित निर्णय भएको आयोजना प्रमुख खतिवडाले बताउँनुभयो ।

बैठकमा आयोजना प्रमुख खतिवडा, लेखा अधिकृत दयाराम काफ्ले, इन्जिनियर अर्जुन महतो कुशवाह, श्रेष्ठ, रसुवा र एपेक्स जेभीका अध्यक्ष सुवास श्रेष्ठ, निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष मिलन बस्नेत, नायव सुब्बा प्रदीप दाहाल, प्रोजेक्ट मेनेजर विवेक कार्की, निर्माण कम्पनीका इन्जिनियर विवेक दाहालले सो निर्णयमा हस्ताक्षर गरेका छन् ।

अहिले निर्माण कम्पनीले भ्याट बाहेक ७४ करोड ८७ लाख ९० हजार रुपैयाँ लगिसकेको छ । कोभिडका कारण थप गरिएको ६ महिनाको समय अवधिमा निर्माण कम्पनीले सबै काम सक्नु पर्ने आयोजना प्रमुख खतिवडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्