ग्यास्टिकको समस्याबाट जोगिन यसो गर्नुहोस्



समयमा खाना नखानु, धूमपान, मद्यपान, कोल्ड ड्रिङ्स, चिया, कफीको सेवन, अनिद्रालगायतका कारण अधिकांश नेपालीमा ग्यास्टिकको समस्या छ । ग्यास्टिकका कारण धेरै मानिसको पेटभित्र गम्भीर किसिमको घाउ भइसकेको पनि हुन्छ । तर धरैजना यसबारे अनभिज्ञ छन् । केही जानेबुझेका व्यक्तिहरु पनि चेकअपविना नै मेडिकलबाट किनेर ग्यास्टिकको दुखाइ कम गर्ने नाममा ‘ट्याब्लोइड’ खान्छन् । यस्ता औषधिले पीडाबाट छुट्कारा त दिन्छ तर शारीरिक प्रणालीलाई भने असर पारिरहेको हुन्छ ।

गाउँघरतिर यसलाई ‘ग्यास’ वा ‘गानो’ पनि भनिन्छ । ग्यास्टिकको अर्थ पेटको भित्री भाग सुन्निनु हो । पेटमा ग्यास भरिएर ग्यास्ट्राइटिस हुन्छ भन्नु गलत हो । यो त ग्यास्ट्राइटिसको एउटा लक्षण मात्र हो । ग्यास्ट्राइटिस भएमा फुलेको, पेटमा हावा भरिएको अनुभव हुने, राम्रोसँग खाना नपच्ने, लामो समय खाना नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायतका समस्या हुने गर्छ ।यसले पाचन प्रकियामा पनि बाधा उत्पन्न गर्छ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमको कमी हुनेदेखि बिस्तारै अल्सर र क्यान्सरसम्म समस्या निम्त्याउने गर्छ । त्यसैले ग्यास्ट्राइटिसको समयमै उपचार गर्न जरुरी हुन्छ । खानाबाटै पनि यसलाई निको पार्न सकिन्छ ।ग्यास्टिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो । सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नुहुँदैन । तर धेरै तातो खानेकुरा भने खानुहुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

प्रोटिनयुक्त खानाको प्रयोगले मात्र ग्यास्ट्राइटिसको समस्या समाधान हुँदैन । हर्मोन र एन्टिबायोटिक बढी प्रयोग गरिएको मासुबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिँदैन । यस्ता प्रोटिनले ग्यास्ट्राइटिसको असरलाई झन् बढाउने काम गर्छ । घाँस खुवाइएको पशु, खुला पालिएका कुखुराको मासु, खोरबाहिरको अण्डा, गेडागुडी, स्पाइरुलिना आदिबाट स्वस्थकर प्रोटिन प्राप्त गर्न सकिन्छ ।ग्यास्टिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो । सुन्तला, कागती, भोगटेलगायतका फलफूल खानुहुँदैन । डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नुहुँदैन । खालि पेटमा चिया–कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खालि पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ ।पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ । एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वेदिक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् ।

तर आहारविहारलाई ठीक नगरीकन औषधिले मात्र एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन ।त्यसैले एसिडिटीबाट मुक्ति हुन पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ । शुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् । जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ । खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु रस १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ । बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा ग्यास्टिकको समस्यामा फाइदा गर्छ ।

एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एकपटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ । सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि ग्यास्टिकको समस्या न्यून गर्न सकिन्छ ।एसिडिटीबाट मुक्ति हुन प्राकृतिक चिकित्सा तथा योगासनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले एसिडिटी हुनेका लागि कुञ्जल क्रिया उत्तम मानिन्छ । कुञ्जल क्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फ्याँक्न सहयोग गर्छ । यसै गरी कपालभाँती प्राणायाम तथा वज्रासन, पवनमुक्तासन तथा भुजंगासनजस्ता आसनहरु एसिडिटीलगायत पेटका अन्य रोगहरुमा निकै लाभकारी मानिन्छन् ।त्यसैले कुञ्जल क्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारविहार गर्ने हो भने ग्यास्टिकको समस्याबाट मुक्ति मिल्न सक्छ । यी सबै किसिमका उपचार गर्दा पनि अधिकांश मानिस एसिडिटीबाट पूर्णरुपमा छुट्कारा प्राप्त गर्न सकिरहेका हुँदैनन् । औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै । यसको मूल कारण ग्यास्टिकको मनोवैज्ञानिक पक्षलाई बेवास्ता गर्नु हो । किनभने ग्यास्टिकको समस्या मस्तिष्कसँग पनि सम्बन्धित छ । किनकि एसिडिटी मानसिक चिन्ता वा तनावले पनि पैदा हुन्छ ।

ठीक समयमा पथ्य भोजन नगर्ने र व्यायाम गर्न अल्छी गर्नेहरु एसिडिटीको समस्यामा पर्न सक्छन् । यी कुराहरु मनमस्तिष्कसँग सम्बन्धित हुन्छन् । त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरीकन एसिडिटीबाट छुट्कारा प्राप्त गर्न सकिँदैन ।मनोविज्ञबाट काउन्सिलिङ पनि गर्नुपर्ने हुन सक्छ । बेसन तथा मैदाका परिकार, कचौडी–पकौडी, जेरी–पुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चिया–कफी, कोल्डड्रिंक, मासको दाल, चना, मुसुरोको दाल, बैगुन, अमिलो–पिरो, चिल्लो, अचार, मसालेदार परिकार, दही आदि पदार्थ नखानु नै बेस हुन्छ । धूमपान, मद्यपान, निकै तातो, बासी पदार्थ, बढी खाना, बेसमयको खाना, हतारमा राम्रोसँग नचपाई खाएको खानाले पनि एसिडिटी बढाउँछ । त्यसैले यसमा परहेज गर्नुपर्छ ।
– सिमरन कोइराला, सूर्यविनायक, भक्तपुर

प्रतिक्रिया दिनुहोस्