नेपाल भारत सम्बन्ध सुदृढ बनाउनु जरुरी : कोश्यारी



राम धामी, डडेल्धुरा ।

भारतको महाराष्ट्र र गोवा राज्यका राज्यपाल बरिष्ठ राजनीतिज्ञ भगतसिँह कोश्यारीले सदियौंदेखि असल छिमेकीका रुपमा रहेका नेपाल र भारतबीचको प्रगाढ सम्बन्धलाई अझै सुदृढ बनाएर लैजानु आबश्यक भएको बताउनु भएको छ । नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको नेतृत्वमा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पुष्कर उप्रेती, हाल अमेरिकाको न्युओर्क निवासी समाजिक अभियन्ता सुर्य सिम्खडा र हिन्दु अभियन्ता माधव न्यौपाने सम्मलित प्रतिनिधी मण्डलसँग बिहीबार भारतको मुम्बईस्थित राजभवन महाराष्ट्रमा भेटघाटगर्दै नेपाल भारत सम्बन्धका विज्ञ मानिने राज्यपाल कोश्यारीले छिमेकी राष्ट्रका साझा समस्या र सवालहरुको सम्बोधनगर्दै द्वीपक्षीय हितका लागि सहकार्य गर्न भारत सरकार सदैव तयार रहेको बताउनु भयो ।


पञ्चेश्वर बहुउदेश्यीय परियोजना कार्यान्वयनमा ढिलाई भईरहेको सन्दर्भमा भारत सरकार सम्बेदनसिल रहेको र परियोजनाका निर्धारित लक्ष्य र उदेश्यहरु चाडो हासिल गर्नका लागि नेपाल र भारत दुबै देशले गम्भीरताका साथ काम सुचारु गर्न आवश्यक देखिएको राज्यपाल कोश्यारीले प्रतिनिधी मण्डलसँगको भेटवार्तामा बताउनु भयो ।

दुबै देशबीचको प्रगाढ मित्रतालाई सुदृढ बनाउदै विकासमा साझेदारी आवश्यक भएको राज्यपाल कोश्यारीलाई उद्धृतगर्दै साँसद मल्लले बताउनु भयो । नेपालमा विकसित राजनीतिक घटनाक्रम, नेपाल भारतबीचको परष्पर सम्बन्ध र सहकार्य, दुई देशबीचको सामाजिक सदभाव, सांस्कृति र परम्परा लगायतका विषयमा राज्यपाल कोश्यारीसँग लामो कुराकानी भएको साँसद मल्लले बताउनु भयो ।

उहाँले नेपालमा हिन्दुत्वको संरक्षण सम्वद्र्धनका सन्दर्भमा पनि कुराकानी भएको र विश्वमा कुनै समय हिन्दु राष्ट्रका रुपमा चिनिएको नेपाल बढ्दो इसाईकरणको मारमा परिरहेको सन्दर्भमा राज्यपाल कोश्यारीले चिन्ता ब्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खडकाले नेपाललाई हिन्दु राष्ट्र बनाउने मुद्दा उठाएर शुरु गर्नुभएको अभियानमा अग्रमोर्चा देखिएका साँसद मल्लले २०७५ सालमा काठमाण्डौंमा सम्पन्न नेपाली काँग्रेसको महासमिती बैठकबाट आफ्नै नेतृत्वमा पार्टीभित्र हिन्दु राष्ट्रको सवालमा वहस चलाई राख्नु भएको छ ।

साँसद मल्ल नेपाली काँग्रेसमा आफ्नो पुस्ताका युवा नेताहरु मध्ये भारतको बर्तमान संस्थापनका उच्चस्तरीय नेताहरुसँग बलियो सम्बन्ध भएका युवा नेताका रुपमा चिनिन्छन् । भारतका कट्ठरपन्थी हिन्दुवादी नेताहरुको रोजाईमा साँसद मल्ल पर्नुहुन्छ । युवा राजनीतिकर्मीहरुले नेपालको आर्थिक विकास र समृद्धीका लागि योजनावद्ध किसिमले काम गर्नुपर्ने र आफ्नो सांस्कृतिक तथा ऐतिहासिक विरासत कायम राख्न भूमिका निर्वाह गर्नुपर्ने राज्यपाल कोश्यारीले सुझाव दिनुभयो ।

नेपालको बर्तमान राजनीति, हिन्दु राष्ट्र नेपालको सवाल र नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको पुर्वसन्ध्यामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लाका पार्टी सभापति तथा हिन्दुवादी नेता साँसद मल्लको भारत भ्रमणलाई राजनीतिक वृतमा महत्वका साथ हेरिएको छ ।

भारतीय जनता पार्टीका उच्चस्तरीय नेताहरुसँग प्रगाढ सम्बन्ध बनाउन सफल साँसद मल्लसहितको प्रतिनिधी मण्डल राज्यपाल कोश्यारीको अनौपचारिक आमन्त्रणमा बुधबारदेखि भारत भ्रमण गरिरहेको छ । अझै केहि दिन भारतमा बसेर उच्च स्तरीय राजनीतिक भेटभाट गरिने प्रतिनिधी मण्डलका सदस्यहरु बताउछन् ।

फोटो सौजन्य :  सुरेन्द्र माली/काँग्रेस डडेल्धुरा सदस्य

प्रतिक्रिया दिनुहोस्