एमिकस क्युरीको राय दिने क्रम जारी

प्रणाली बचाउन पनि प्रतिनिधिसभा विघटनको कार्य बदर हुनुपर्छ



नेपाल समाचारपत्र, काठमाडौं ।

वर्तमान प्रणाली बचाउनका लागि प्रतिनिधिसभा विघटन गरिएको कार्य बदर गर्नुपर्ने एमिकस क्युरीका रुपमा रहेको वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलको राय रहेको छ ।बुधबार सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा आफ्नो राय राख्दै वरिष्ठ अधिवक्ता खरेलले वर्तमान प्रणाली बचाउनका लागि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताउनुभएको हो । हालको संविधानले अझै पनि कार्य गर्न सक्छ भन्ने लाग्छ भने प्रतिनिधिसभालाई पुनस्र्थापना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘साहित्यकार भवानी घिमिरेले लेखेको यो घर त भित्रभित्रै चर्केको छ, यसले सानोतिनो भुइँचालो पर्खेको छ भन्ने कविता पढेको जस्तो प्रणाली ध्वस्त हुन लागेको छ । हामीले सानो कम्पन दिउँ जस्तो लाग्छ भने विघटन प्रधानमन्त्रीको अधिकार भनेर सदर गरे हुन्छ ।’यसअघि अर्का एमिकस क्युरी बद्रीबहादुर कार्कीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुने उल्लेख गर्दै तर पार्टीको कलहका कारण विघटन गरिएको कार्यमा बदनियत भएको दाबी गर्नुभएको थियो । एमिकस क्युरी खरेलले भने बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार संविधानले नदिएको बताउनुभएको छ ।खरेलले संसदीय व्यवस्थाको जननी बेलायत भएको उल्लेख गर्दै त्यहाँ प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए तापनि नेपालमा त्यस्तो व्यवस्था नभएको तर्क पेस गर्नुभयो । बेलायतमा संसदीय सर्वोच्चता रहेको बताउँदै उहाँले नेपालमा भने संवैधानिक सर्वोच्चता कायम भएको जनाउनुभयो ।
‘एउटा प्रधानमन्त्री संसद्ले निर्वाचित गर्छ, अर्को कुरा संसद्प्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ ।

संसदीय व्यवस्था भनेपछि बेलायतमा जस्तै हुनुपर्छ, बेलायतमा विघटन गर्न पाउने हुनाले यहाँ पनि पाउनुपर्छ भन्नु राजा वीरेन्द्रलाई चन्द्रशमशेर भनेर दर्शन गरे जस्तै हो।’ –वरिष्ठ अधिवक्ता खरेलको तर्क छ ।धारा ८५ र धारा ७५(७) एक अर्कामा सम्बन्धित भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न संविधानले कुनै विशेषाधिकार नदिएको उल्लेख गर्नुभयो । एमिकस क्युरीका रुपमा अब वरिष्ठ अधिवक्ताहरु विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता संग्रौला पाठकले आफ्नो भनाइ राख्न बाँकी रहेको छ । एमिकस क्युरीले आफ्नो भनाइ राख्ने कार्य बिहीबार पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्