अब चीनमा पारपाचुके गर्न गाह्रो हुने



बेइजिङ, (एजेन्सी) ।

चीनमा अबदेखि पारपाचुकेका लागि निवेदन दिनुअघि दम्पतीहरूले ३० दिने ‘पुन मिल्न सक्ने’ सुखद अवधि पार गर्नुपर्ने नयाँ कानुनी प्रावधान तयार भएको छ । समीक्षकहरूले यो कानुनको उद्देश्य पारपाचुकेलाई निरुत्साहित गर्नु रहेको बताएका छन् ।

चीनमा केही दम्पती पारपाचुके छिटो होस् भन्ने अर्थले वकिल भेटाउन लाइनसमेत मिच्ने गरेका छन् । यो नयाँ कानुन कार्यान्वयन हुनुअघि नै छोडपत्रको प्रक्रिया सकाउने विचारले अहिले चिनियाँ दम्पतीहरू छोडपत्रका लागि आवेदन दर्ता गर्न दौडादौड गरिरहेका छन् । गत वर्षका मे महिनामा नै पारित भएको कानुन अहिले भर्खर कार्यान्वयनको तरखरमा रहेको छ ।यदि, उक्त ३० दिने अवधिभित्र दम्पतीमध्ये कसैले पारपाचुके रोक्ने चाहेको खण्डमा तिनीहरूले पारपाचुकेका लागि पुनः आवेदन दर्ता गर्नुपर्ने तथा पुनः ३० दिने अवधि शुरू हुने बताइएको छ । ‘द स्कुल अफ सिन्गुआ युनिभर्सिटी’का उपाध्यक्ष तथा प्राध्यापक चेंग सिआओले बाध्यकारी छोडपत्रको स्थिति नियन्त्रण गर्नका लागि यो कानुन ल्याइएको बताएका छन् ।

पारपाचुकेसम्बन्धी कानुन केही खुकुलो बनाइएयता विगत १५ वर्षदेखि चीनमा पारपाचुके गर्नेको संख्यामा निकै वृद्धि भएको छ । ब्लुमवर्गका अनुसार सन् २००३ मा करिब १३ लाख दम्पतीले वैवाहिक सम्बन्ध विच्छेद गरेका थिए भने सन् २०१८ मा आएर यो संख्या ४५ लाख पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्