सरस्वती पूजाको महिमा



श्रीपञ्चमी अर्थात् माघशुक्ल पञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । श्रीपञ्चमीको यस महान् पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको धुमधामसँग पूजा गरिन्छ । कुनै शुभकार्यको थालनी गर्दा श्रीपञ्चमीको दिनमा गरिने भएका हुनाले आजको दिनलाई साइत हेराउन नपर्ने कथन रहेको छ । विद्याकी अधिष्ठात्री देवीको रुपमा मानिएको सरस्वतीको स्वरुप पनि विद्या र बुद्धिसँग सम्बन्धित हुन्छ ।

त्यसैले आमाबुबाले आफ्ना बालबालिकालाई श्रीपञ्चमीको दिन वाणीकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिरमा लगेर पूजा–आराधाना गराई विद्याको शुभारम्भ गराउने चलन रहिआएको छ । आजको दिन आमाबुबाले आफ्ना बालबालिकालाई हात समातेर मन्दिरका भित्तामा खरीका टुक्रा वा सिसाकलमले ‘नमोः बागीश्वराय’ लेखाई विद्या आरम्भ गराउने परम्परा पनि छ ।पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार विद्याकी देवी सरस्वती मातालाई भारती, हंसवाहिनी, शारदा, सरस्वती, जगन्माता, कौमारी, बागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, भुवनेश्वरी र चन्द्रघण्टा यी १२ वटा नामले पुकारिन्छ । हाम्रो हिन्दू संस्कारमा प्रायः पाठ गर्ने गरिएका ग्रन्थहरुमा दुर्गा सप्तशती पनि पर्छ । हिन्दू शास्त्रमा उल्लेख भएअनुसार हाँसलाई नीर (पानी) र क्षीर (दूध) को विवेकी मानिएको कारणले गर्दा हाँसले दूध र पानी सजिलैसित छुट्याउन सक्छ भन्ने जनविश्वास पनि रहिआएको छ ।

ऋतुहरुका पनि राजा वसन्त ऋतुको आगमनसँगै आउने वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमी छिमेकी मित्रराष्ट्र चीन, भारतलगायत विभिन्न देशमा रहेका सरस्वतीका अनुयायीहरुले मनाउने गर्छन् । श्रीपञ्चमीको अघिल्लो दिन महामञ्जुश्री ल्हासाको बाटो भई स्वयम्भूको महारश्मिको दर्शन गर्न चीनबाट आफ्नी शक्ति वादा र मोक्षदाका साथ काठमाडौं आएको कथन पनि रहेको छ । त्यसैले उनको थकाइ मेटाउन बालबालिका र महिलाले सरस्वतीको मूर्तिमा तेल घसिदिने प्रचलन नेपालमा चलिआएको देखिन्छ । नेपाली लोककथनअनुसार ‘श्री’ शब्दको अर्थलाई सम्मानका साथ उच्च विन्दुमा राखिएको छ । ‘श्री’ शुरु श्रीगणेशाय नमः । यसले नेपाली मौलिक संस्कृतिलाई पनि अंगालेको पाइन्छ ।

त्यसकारण श्रीपञ्चमी पर्वका दिन देवी सरस्वतीको मन्दिरमा भक्तजनहरुको ठूलो घुँइचो लाग्ने गर्दछ । यस दिन नेपाल अधिराज्यभरका सरस्वतीको मन्दिरमा मेला लाग्ने भएकाले श्रीपञ्चमीको अवसरमा हनुमानढोकास्थित वसन्तपुरमा राष्ट्रप्रमुख उपस्थित भएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । खासगरी यस अवसरमा स्वयम्भूको मञ्जुश्री मन्दिर, टोखा, क्षेत्रपाटी, चोभार, धर्मस्थली, लाजिम्पाटस्थित नील सरस्वती मन्दिरलगायत ललितपुर लेलेस्थित सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

स्वयम्भूको मञ्जुश्री मन्दिरभित्र मञ्जुश्रीको मूर्तिसामुन्ने यन्त्राकारको मण्डलमाथि मञ्जुश्रीका दुई पाउ (चरण) र ती दुवै पाउमा एउटा अाँखा चित्र अंकित रहेको छ । इतिहासमा वर्णन गरेअनुसार दुई पाउ गुरु मञ्जुश्री र त्यसमाथि रहेको दुई आँखा उनका चेला धर्मश्री र मित्रका हुन् । त्यसैले बौद्ध धर्मावलम्बीहरुले सरस्वतीलाई मञ्जुश्रीको बोधिसत्वका रुपमा पूजा गर्ने गर्छन् ।
– श्यामकृष्ण डंगोल ‘प्रतीक्षा’

प्रतिक्रिया दिनुहोस्