औषधि व्यवसायीले खोप नपाउँदा सरकारप्रति गुनासो



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाईरस बिरुद्धको खोप वितरणमा बन्चित गराएको भन्दै नेपाल औषधि व्यवसायी संघले सोमबार विज्ञप्ती नै जारी गर्दै नेपाल सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । कोरोना संक्रमण लगायत विभिन्न महामारीका समयमा पनि विश्राम नलिई औषधि उत्पादन र विक्री वितरणमा अनवरत रुपमा खटिदै आएको नेपाल औषधि व्यवसायी संघलाई कोरोना बिरुद्धको निःशुल्क खोप लगाउनबाट बन्चित गरेको बिषयमा व्यवसायीहरुले सरकारको व्यवाहर प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेपालमा २१ हजार भन्दा बढी औषधि व्यवसायीहरु औषधि व्यवस्था विभागमा दर्ता भएर मुलुकभर छरिएर सेवा प्रवाह गरिरहेका छन् । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्ृदयश त्रिपाठी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल समक्ष माघ २६ गते र २९ गते फरक फरक समयमा भेट गरि औषधि व्यवसायी तथा पसल संचालकका साथ कर्मचारीहरुलाई कोभिड १९ को जोखिममा रहेको जानकारी गराउँनुका साथै खोप कार्यक्रममा प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

सोही अवसरमा व्यवसायीहरुलाई प्राथमिकतामा राखी यथासिघ्र निःशुल्क खोप लगाउने कार्य गर्नका लागि सरकारको ध्यानाकर्ष गराउँदै ज्ञापन पत्र समेत बुझाएको संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी गराउनुभयो । मुलुकभर छरिएर रहेका औषधि व्यवसायीहरुको साझा संगठन औषधि व्यवसायी संघको २०३० सालमा स्थापना भएको हो । यसले नेपालका ४८ जिल्लामा शाखाहरु गठन गरि एकरुपताका साथ औषधि सहज र सरल रुपमा जनमानसमा पुर्याउँदै आएको अध्यक्ष श्रेष्ठको दाबी छ ।

विगतमा पनि देशमा आईपरेका असहज परिस्थिति महाभुकम्प, भारतले गरेको अघोषित नाकाबन्दी लगायतका ठूला ठूला संकटकालिन अवस्थाहरुमा पनि मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधि जस्तो अति सम्बेदनशील व्यवसाय गर्ने औषधि व्यवसायीहरुले देशैभरि अति आवश्यक पर्ने गुणस्तरि औषधिहरु अभाव हुन दिएको थिएन । साथै मूल्यमा समेत एकरुपता कायम राख्दै औषधिको सहज उपलब्धतालाई व्यवस्थित बनाई व्यवसाय संचालन गर्दै आईरेको बिषयलाई समेत सरकारको ध्यानाकर्ष गराउँदै संघका अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्