दीपेश र जेशिकालाई प्रधानमन्त्री कप



नेपाल समाचारपत्र, काठमाडौं  ।

चितवनमा भएको ‘योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता’को पुरूष र महिलातर्फको उपाधि एपीएफका खेलाडीले जितेका छन् ।

महिला तथा पुरूष एकल स्पर्धाका विजेता खेलाडीहरू दीपेश धामी र जेशिका गुरूङले समान नगद १ लाख १५ हजार प्राप्त गरे । यस्तै, दोश्रो हुने प्रिन्स दाहाल र रशिला महर्जनले समान ५५ हजार हासिल गरे । पुरूषतर्फ निकै प्रतिस्पर्धी खेलमा दीपेशले प्रिन्सलाई २१–१९, २२–२० ले हराएका हुन् । धामीले हालै सिरहाको गोलबजारमा भएको १०औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मल्हम लगाएका छन् । उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाइनलमा पराजित भएका थिए ।यस्तै, चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको महिलातर्फ जेशिकाले जितको निरन्तरतालाई कायम राखेकी छन् ।

उनले फाइनलमा सेनाकी रशिलामाथि जित निकालिन् । जेशिकाले जित निकाल्ने क्रममा २१–१८, १७–२१, २१–१७ ले रशिलालाई पन्छाएकी थिइन् । हालै सिरहाको गोलबजारमा सम्पन्न १० औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि उनले रशिलालाई पराजित गर्दै उपाधि जितेकी थिइन् ।राष्ट्रिय २० वरीयताभित्रका खेलाडीहरूको बीच भएको पुरूष युगलतर्फ सेनाका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो । फाइनलमा नवीन र रत्नको जोडीले एपिएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित ग¥यो । विजयी खेलाडीहरूले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८ -८ हजार प्राप्त गरे ।

सेनाका सुरज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएको छ । महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै राष्ट्रिय २० वरियता बाहेकका खेलाडीहरूका बीच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् । विजयी खेलाडीहरूले ५० हजार, उपविजयी खेलाडीहरूले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७-७ हजार प्राप्त गरे ।यस्तै, ब्वाइज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले । गल्र्सतर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन् । उनले कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१० ले पराजित गरिन् । विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे । उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५ । ५ हजार प्राप्त गरे ।

यस्तै, ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पुर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी चुमे । चौधरी र श्रेष्ठको जोडीले बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी लाई १२–२१, २१–१५, २१–१४ ले पराजित गरे । विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५- ५ हजार प्राप्त गरे ।पुरूष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पँर्णहरि होना र सञ्जय कपालीको जोडीले विजय पाए । होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्