दमौलीको रिङरोड क्षेत्र धुलोरहित बन्दै



तनहुँ, (नेस) ।

तनहुँको सदरमुकाम दमौलीको रिङरोड क्षेत्रका सडकहरु धुलो रहित बन्दै गएका छन् । उक्त क्षेत्रको सडकमा कालोपत्रे गर्ने तथा बिग्रिएको कालोपत्रेलाई मर्मत सम्भारको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मालपोत लाइन, उद्योग वाणिज्य संघदेखि जिल्ला प्रशासन कार्यालयबाट पूर्वाधार कार्यालयसम्मको रिङरोड क्षेत्रमा कालोपत्रे गर्ने कार्य तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कुल बजेट ८२ लाख ३० हजार नौ सय ३८ रुपियाँ रहेकोमा ६० लाख ७८ हजार नौ सय नौ रुपियाँमा ठेक्का सम्झौता भई काम भइरहेको कार्यालयकी  सुचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । देवचुली निर्माण सेवा कावासोतीले निर्माणको जिम्मा पाएको छ । कुल दुरी १.१ किलोमिटर दुरीमा कालोपत्रे गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मालपोत लाइन र जिल्ला प्रशासन लाइनमा सात मिटर र जिल्ला समन्वय समिति लाइनमा पाँच मिटर चौडाई रहेको छ । उक्त सडक प्रादेशिक सडक अन्र्तगतको ‘ख’ वर्गको सडकमा पर्दछ । केही दिन अघि देखि थालिएको कालोपत्रे कार्य एक हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गगानाले जानकारी दिनुभयो ।दमौली बजारको मुख्य क्षेत्रको सडकमा नै धुलो हुने गर्दथ्यो । उक्त क्षेत्रमा कालोपत्रे भएसँगै धुलो रहित बन्दै गएको स्थानीयको भनाई छ । लामो समयदेखि मर्मत नभएका सडकमा कालोपत्रे गरेपछि आवतजावतमा समेत सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्