अस्पताल जान नपाएकालाई घरनजिकै स्वास्थ्य परीक्षण



Patient at the hospital.

नेपाल समाचारपत्र, ललितपुर ।

कोरोना महामारीले गर्दा अस्पताल जान नसकेका स्थानीयहरु बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका छन् ।ललितपुर महानगरपालिका–१६ ले अरनिको समाजसँग मिलेर माघ १७ गतेदेखि प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

त्यसअन्तर्गत शनिबार बालिफलस्थित अशोक हलमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो । सो शिविरबाट १ सय १४ जना लाभान्वित भएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो । तीमध्ये ८ जना बालबालिका, ४४ जनाले आँखा र ६० जनाले छाला रोगको परीक्षण गराएका थिए ।तीन जनामा मोतियाबिन्दु भएकाले शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । तिनीहरुलाई वडाको सहयोगमा कीर्तिपुर अस्पतालले सस्तो मँल्यमा शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको पनि महासचिव डा. प्रजापतिको भनाइ रहेको छ । परीक्षण गराउनेमध्ये अधिकांश कोरोना संक्रमणले गर्दा अस्पताल जान नपाएका वा नगएका ५० वर्ष नाघेका मानिसहरु रहेको पाइएको छ ।

शिविरमा औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैैरुपमा शिविर आयोजना गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ८, ९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

आउँदो शनिबार नागबहालमा स्त्री रोगसम्बन्धी शिविर, फागुन १५ गते दौबहालमा पेट तथा कलेजोसम्बन्धी शिविर, फागुन २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुका लागि नशा, युरोलोजी, मधुमेह र जनरलसम्बन्धी शिविर सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्